तीन महिनामै भित्रियो ३८ अर्ब विदेशी लगानी, चिनबाट मात्रै ३६ अर्ब २३ करोड

बिजमाण्डू
२०७५ जेठ ३ गते १५:१२ | May 17, 2018
तीन महिनामै भित्रियो ३८ अर्ब विदेशी लगानी, चिनबाट मात्रै ३६ अर्ब २३ करोड
काठमाडौं। पछिल्लो तीन महिनामा ३८ अर्ब ६७ करोड रुपैयाँ विदेशी लगानी स्विकृत हुँदा चिनियाँ लगानी मात्रै ३६ अर्ब २३ करोड रुपैयाँ स्विकृत भएको छ। 
 
तथ्यांकले नेपालमा कुल प्रत्यक्ष बैदेशिक लगानी (एफडिआइ) मा प्रत्यक्ष चीनियाँ लगानी (सिडिआइ) को हिस्सा ९३.७० प्रतिशत रहेको देखाउँछ।


 
उद्योग विभागका अनुसार फागुन, चैत्र र बैशाखमा गरि ३८ अर्ब ६७ करोड रुपैयाँ विदेशी लगानी स्विकृत भएको छ। चालु आर्थिक बर्षको १० महिनामा ४६ अर्ब रुपैयाँ विदेशी लगानी स्विकृत भएको उद्योग विभाग वैदेशिक लगानी शाखाका निर्देशक खगेन्द्र बस्नेतले बिजमाण्डूलाई बताए।
 
'चालु आर्थिक वर्षको १० महिनामा आएको विदेशी लगानी गत वर्षको कुल लगानीको तीन गुणा बढी हो,' बस्नेतले भने,  'गत वर्ष १५ अर्ब रुपैयाँ मात्रै विदेशी लगानी स्विकृत भएको थियो। यो वर्ष १० महिनामै ४६ अर्ब बढी लगानी स्विकृत भैसकेको छ।'
 

नयाँ सरकार बनेपछि अरुभन्दा निक्कै चिनियाँ लगानी आकर्षित हुनुको कारण के होला?

Tata
GBIME
Nepal Life
यो बर्ष पनि विगत ७ महिनासम्म ७ अर्ब रुपैयाँ मात्रै विदेशी लगानी स्विकृत भएको थियो। पछिल्लो तीन महिनामा ३८ अर्ब बढी विदेशी लगानी स्विकृत भइसकेको छ। 
 
कम्युनिस्ट सरकारप्रति चिनियाँ आशावादी
चिनियाँ लगानीकर्ताहरु बामगठबन्धनको नेतृत्वमा सरकार बनेपछि अरुभन्दा बढी आकर्षित भएका छन्। फागुनमा २१ अर्ब १७ करोड विदेशी लगानी स्विकृत भएकोमा चीनबाट मात्रै २० अर्ब ९० करोड रुपैयाँ चीनबाट मात्रै स्विकृत भएको थियो।
 
चैत्रमा ६८ करोड रुपैयाँ मात्र विदेशी लगानी स्विकृत हुँदा चिनियाँ लगानी ६३ करोड रुपैयाँ स्विकृत भएको थियो। अहिले नयाँ वर्ष २०७५ लागेपछि १५ अर्ब ९१ करोड रुपैयाँ विदेशी लगानी स्विकृत भएकोमा, १५ अर्ब ७० करोड रुपैयाँ चिनियाँ लगानी मात्रै स्विकृत भएको छ।  
 
तीन महिनामा १८ मुलुकबाट ३८ अर्ब ६७ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको हो। चीनपछि धेरै लगानी भित्र्याउने मुलुकमा भारत दोस्रो स्थानमा रहेको छ। तर भारतबाट तीन महिनामा १ अर्ब रुपैयाँ पनि विदेशी लगानी भित्रिन सकेको छैन। भारतबाट ३ महिनामा जम्मा २९ करोड २१ लाख रुपैयाँ मात्रै विदेशी लगानी स्विकृत भएको छ।
 
तेस्रो धेरै विदेशी लगानी ल्याउने मुलुकमा दक्षिण कोरिया छ। दक्षिण कोरियाबाट तीन महिनामा १३ करोड ३० लाख रुपैयाँ विदेशी लगानी स्वकृत गरिएको छ।
 
चौथो धेरै लगानी ल्याउने विदेशी मुलुकमा बंगलादेश ४ करोड ८० लाख रुपैयाँ, फ्रान्स र जापान ४/४ करोड रुपैयाँ, अमेरिका र बेलायत ३/३ करोड रुपैयाँ र टर्कि र जर्मनीबाट पनि समान २ करोड ५० लाख रुपैयाँ विदेशी लगानी स्विकृत भएको छ।
 
कम्बोडियाबाट १ करोड ५० लाख रुपैयाँ, बेल्जियम बाट १ करोड २५ लाख रुपैयाँ, अजर बैजनबाट १ करोड रुपैयाँ, इजरायल र अष्ट्रेलियाबाट समान ७० लाख रुपैयाँ र पराग्वे र स्विडेनबाट पनि समान ५०/५० लाख रुपैयाँ विदेशी लगानी स्विकृत भएको उद्योग विभागले जनाएको छ।
 
६७ अर्बको रेकर्ड
विगत ५ वर्षको तथ्याङ्कमा आर्थिक वर्ष २०७१/७२ मा मात्र ६७ अर्ब ४६ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको थियो। त्यो नै अहिले सम्म एक आर्थिक वर्षमा आएको सबैभन्दा धेरै विदेशी लगानी हो।
 
आर्थिक वर्ष २०६९/७० मा १९ अर्ब ८२ करोड रुपैयाँ, २०७०/७१ मा २० अर्ब १३ करोड रुपैयाँ र २०७१/७२ मा ६७ अर्ब ४६ करोड रुपैयाँ विदेशी लगानी स्विकृत भएको तथ्याङ्क छ।
 
आर्थिक वर्ष २०७२/७३ मा १५ अर्ब २५ करोड रुपैयाँ, २०७३/७४ मा १५ अर्ब ६ करोड रुपैयाँ र चालु आर्थिक वर्षको १० महिनामा ४६ अर्ब रुपैयाँ विदेशी लगानी स्विकृत भएको उद्योग विभागको तथ्याङ्क छ।
 
आगामी दुई महिनामा पनि अहिलेकै अनुपातमा विदेशी लगानी स्विकृत भए २०७१/७२ को ६७ अर्बको रेकर्ड पनि तोडिन सक्ने विभागको अनुमान छ।