आगामी बजेटमा युवराज खतिवडाको कार्यक्रम: विदेशबाट फर्केका युवालाई उद्यमी बनाइने

बिजमाण्डू
२०७५ जेठ ६ गते १२:४३ | May 20, 2018
आगामी बजेटमा युवराज खतिवडाको कार्यक्रम: विदेशबाट फर्केका युवालाई उद्यमी बनाइने


काठमाडौं। आगामी आर्थिक बर्षको बजेट पूर्व संसदमा प्रस्तुत गर्न लागिएको सरकारको नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिन थालिएको छ। भोली राष्ट्रपतिले संसदमा सरकारको नीति तथा कार्यक्रम पढ्ने कार्यक्रम छ।


 
एकदमै सानो समूहले निर्माण गरिरहेको नीति तथा कार्यक्रममा बामगठबन्धको चुनावी घोषणापत्रका कार्यक्रमका सथै चौधौं त्रिबर्षीय कार्यक्रमका लक्ष्यहरुलाई समेत समेटिएको स्रोतले बतायो। नीति तथा कार्यक्रममा प्रत्यैक प्रदेशमा औद्योगिक क्षेत्र, औद्योगिक करिडोर तथा विशेष आर्थिक क्षेत्र निर्माण गर्ने बिषयलाई समेटिएको छ। 
 
उच्च ब्यापार घाटाका कारण देशको शोधनान्तर अवस्था ऋणात्मक बन्दै गएपछि चिन्तित देखिएका अर्थमन्त्रीले श्रममूलक, निर्यातजन्य र आयात प्रतिस्थापन हुने लगानीलाई आकर्षित गर्ने कार्यक्रमलाई नीति तथा कार्यक्रममा समेटेका छन्।
 
यसका लागि वैदेशिक पूँजी तथा प्रविधिलाई आकर्षित गर्न आवश्यक कानुनी र अन्य ब्यवस्था गर्ने आगामी बजेटको कार्यक्रम राष्ट्रपतिले संसदमा पढ्ने छिन्। सरकारले सातवटै प्रदेशमा सार्वजनिक निजी सहकारीको साझेदारीबाट कम्तिमा एक/एक वटा उद्योग स्थापना गर्ने कार्यक्रम पनि घोषणा गरिने छ।
 
वैदेशिक रोजगारीबाट फर्केका ब्यक्तिलाई उद्यमी बन्न प्रेरित गर्ने गरी ऋण, अनुदान र सीपको ब्यवस्था गर्ने कार्यक्रम पनि सरकारले समेटेको स्रोतको दावी छ।

Tata
GBIME
Nepal Life