नीति तथा कार्यक्रम आउँदै गर्दा किन रातो भयो शेयर बजार, लगानीकर्ता पर्ख र हेरको अवस्थामा

बिजमाण्डू
२०७५ जेठ ७ गते १५:३१ | May 21, 2018

काठमाडौं। सरकारले नीति तथा कार्यक्रम घोषणा गर्दैगर्दा सोमबार शेयर बजारमा २ अंकको गिरावटका साथ बन्द भएको छ। हरेक वर्ष सरकारको नीति तथा कार्यक्रम र बजेटको पूर्वसन्धामा शेयर बजार हरियो देखिन्थ्यो। तर यसवर्ष भने शेयर बजारमा नीति तथा कार्यक्रम र बजेटको उत्साह देखिएको छैन।

Tata
GBIME
Nepal Life

आज सार्वजनिक हुने नीति तथा कार्यक्रमलगत्तै आगामी जेठ १५ गते अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट ल्याउने तयारी गरिरहेका छन्।
यहि अवस्थामा विगतका वर्षमा शेयर बजार उकालो लाग्ने गरेको थियो। विगतका अर्थमन्त्री राजनीतिक पृष्ठभूमीबाट आउने हुँदा नीति तथा कार्यक्रम उनीहरुकै कार्यकर्ता मार्फत बाहिर आउने र यसको असर बजारमा पर्ने हुँदा बजार बढ्ने अनुभव लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालको छ।

आम लगानीकर्ता अर्थमन्त्री डा. युवराज खतिवडा प्रति आशंका रहेको र उनले शेयर बजारको सुधार गर्न चाहे नचाहेको पनि यहि बेला पुष्टि हुने अर्यात बताउँछन्। उनी भन्छन्- “अर्थमन्त्रीले आफु प्रतिको गलत धारणालार्इ मेटाउने यो राम्रो अवसर पनि हो।”

बजार विश्लेषक सुरज अधिकारीका अनुसार गएका वर्षमा नीति तथा कार्यक्रम आउँदा फरक राजनीतिक संस्कार थियो। त्यतिबेलाका सरकारमा कसरी सकारात्मक बजेट प्रस्तुत गर्ने भन्ने अभ्यास थियो। जसले गर्दा कति हदसम्म सकारात्मक आउँछन् भनेर कुरिन्थ्यो। उनले भने- यस वर्ष ५ वर्षे स्थिर सरकार छ त्यसैले सरकारलाई ‘पपुलर’ बजेट ल्याउनु छैन। सबै क्षेत्रलार्इ टाइट गरेर अगाडी बढ्ने मनस्थिति यस अगाडि नै देखिसकेका छौं।  

नीति तथा कार्यक्रम वृहत रुपमा आउँछ भने बजेटले छुट्टा छुट्टै क्षेत्रलार्इ समेट्ने हुँदा लगानीकर्ता बजेटकै पर्खाइमा रहेको अधिकारी बताउँछन्। अहिलेको सरकारले टाइट बजेट ल्याउने उनको विश्लेषण छ।

आजको नीति तथा कार्यक्रमले तरलताको समस्यालार्इ समाधान गर्न कस्तो कार्यक्रम ल्याउँछ त्यसका आधारमा पनि बजारमा असर पर्नेछ। साथै अर्थमन्त्रीले यस अगाडि नै श्वेतपत्र सार्वजनिक गर्दै लगभग आफ्ना धारणा प्रस्तुत गरेको हुँदा पनि आम लगानीकर्ताले हौसिएर लगानी गर्ने अवस्था नरहेको अधिकारीले बताए।