सदस्यतामा कडाइ गरेपछि उद्योग संगठनमा आधा सदस्य कम, चुनाबमा प्रोक्सी बन्द

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७५ जेठ ८ गते १५:५१ | May 22, 2018
सदस्यतामा कडाइ गरेपछि उद्योग संगठनमा आधा सदस्य कम, चुनाबमा प्रोक्सी बन्द

विराटनगर । मतदान प्रक्रियालाई मर्यादित र स्वस्थ बनाउन उद्योग सङ्गठन मोरङले सदस्यता प्राप्ति र नवीकरणमा कडाइ गरेपछि सदस्यको संख्या आधाभन्दा बढीले कमी आएको छ ।

Tata
GBIME
Nepal Life

केवल निर्वाचन जित्ने उद्देश्यले सदस्यताका लागि आवेदन दिने प्रवृत्तिका कारण संगठनमा आर्थिक वर्ष २०७२÷७३ मा ४ सय १० सदस्य पुगेका थिए । चालु आर्थिक वर्षमा आधाभन्दा बढी घटेर १ सय ९९ भएका छन् । यही जेठ महिना भित्रमा संगठनले ४६ औँ साधारण सभा र असारमा नेतृत्वको निर्वाचन गर्ने हुँदा नयाँ सदस्यता र नवीकरणको आवेदनलाई बन्द गरिएको महानिर्देशक नवराज कोइरालाले बताए ।

संगठनमा २०७०÷७१ सम्म कुल सदस्य १ सय ८२ थिए । यही वर्षदेखि संगठनको नेतृत्वका लागि अस्वस्थ प्रतिस्पर्धा सुरु भयो । प्रतिस्पर्धासँगै नयाँ–नयाँ उद्योग दर्ता गरेर सदस्यता प्राप्तिका लागि आवेदनहरू आउन थाले । फलतः आर्थिक वर्ष २०७१/७२ मा कुल सदस्यको संख्या ३ सय ९५ पुग्यो ।
नेतृत्वका लागि सदस्य थप्ने होडबाजी अझै रोकिएन । आर्थिक वर्ष २०७२/७३ मा आइपुग्दा सदस्यको संख्या ४ सय १० भयो ।

यसपछि भने संगठनका पूर्व अध्यक्षहरू गम्भीर भए । उनीहरूले विधान संशोधनमा सदस्यता प्राप्ति र नवीकरणका लागि केही बाध्यकारी नियमहरू थपे । अब दर्तामात्र भएको र केवल प्रमाणपत्रधारी उद्योगले कागजात र अभिलेखका आधारमा सदस्यता पाउने र नवीकरण गर्न सक्ने प्रावधान बन्द गरियो । विधानमा संशोधन गर्न पूर्व अध्यक्ष सुशील धनावतले अडान लिए ।

बिजुलीको बिलले रोक्यो जथाभावी सदस्य
नयाँ प्रावधानअनुसार सदस्यताको दर्ता वा नवीकरणका लागि सम्बन्धित उद्योगका नाममा रहेको विद्युत् प्राधिकरणको विद्युत् महसुलको चालु महिनाको बिल बुझाउनु पर्ने छ ।

साथै स्थायी लेखा नम्बर, भ्याट र कम्पनी रजिस्ट्रार कार्यालय वा उद्योग विभागमा दर्ता भएको प्रमाणपत्र पनि संलग्न गर्नुपर्ने छ ।नयाँ सदस्यता र नवीकरणमा यसप्रकार कडाइ गरेपछि गत आर्थिक वर्ष २०७३/७४ मा सदस्यको संख्या ह्वात्तै घटेर १ सय ८५ पुग्यो । चालु आवमा १ सय ९९ पुगेका छन् ।संगठनको नयाँ सदस्यका लागि २५ र नवीकरणका लागि ११ हजार बुझाउनु पर्ने प्रावधान छ ।

मतदानमा प्रोक्सी बन्द, सञ्चालक आफैँ आउनु पर्ने
संगठनको सदस्यतामा मात्र कडाइ गरेन मतदान प्रक्रियामा हुने प्रोक्सीको खेललाई बन्द गर्न पनि नयाँ व्यवस्था गरेको छ ।जसअनुसार संगठन निर्वाचन प्रक्रियामा भाग लिन सदस्य उद्योग÷प्रतिष्ठानको प्रोप्राइटर, सञ्चालक वा साझेदार शारीरिक रूपमा स्वयं उपस्थित हुनुपर्ने छ । तर वैदेशिक लगानीका सदस्य उद्योगले भने कम्तीमा महाप्रबन्धक स्तरमा कार्यरत व्यक्ति उद्योगको अख्तियारीसहित उपस्थित हुनुपर्ने छ ।

त्यस्तै एक उद्योगमा एकभन्दा बढी साझेदार रहेछन् भने एक साझेदारका नाममा मात्र मतदाता परिचय पत्र बनाउन पाइनेछ । यस्तो परिचय पत्रधारीलाई मात्र मतदानको अधिकार हुनेछ । कसैले मतदाता परिचयपत्र परिवर्तन गर्न चाहेमा निर्वाचन अगावै निर्धारित मितिमा निवेदन दिएर परिवर्तन गर्न सक्नेछन् ।

संगठनका अध्यक्ष मुकेश उपाध्यायले नयाँ नियमले संगठनको नेतृत्व निर्वाचन र मतदान प्रक्रिया मर्यादित हुने विश्वास व्यक्त गर्दै संगठन सुद्धीकरणको थालनी भएको प्रतिक्रिया दिए ।

नयाँ अध्यक्ष घिमिरे, वरिष्ठ सुयश
वर्तमान वरिष्ठ उपाध्यक्ष भीम घिमिरे संगठनको भावी अध्यक्ष हुने निश्चित देखिएको छ । हाल उपाध्यक्षको वरीयता क्रममा एक नम्बरमा रहेका सुयश प्याकुरेल वरिष्ठ उपाध्यक्ष हुने छन् । अन्य दुई उपाध्यक्ष प्रदीप मुरारका र राजकुमार गोल्छा सोही पदमा रहने छन् ।

प्याकुरेल वरिष्ठ उपाध्यक्ष भएपछि खालि हुने एक उपाध्यक्षका पदमा नन्दकिशोर राठी, नबलकिशोर काबरा र राकेश सुरानाले दाबी गरिरहेका छन् ।
विराटनगरका प्रतिष्ठित उद्योगी स्वर्गीय जुद्धबहादुर श्रेष्ठले २०२४ सालमा उद्योग संगठनको स्थापना गरेको गरेका थिए । संगठन अब निर्वाचित हुने अध्यक्ष १४ औँ हुनेछन् ।