गाडी बिक्री झण्डै आधाले घट्यो, बैंकको ब्याजले गाडी ब्यापारमा तनाव, ‘क्यास कस्टमर’ बढे

बसन्तराज उप्रेती/बिजमाण्डू
२०७५ जेठ ८ गते १७:१० | May 22, 2018
गाडी बिक्री झण्डै आधाले घट्यो, बैंकको ब्याजले गाडी ब्यापारमा तनाव, ‘क्यास कस्टमर’ बढे
काठमाडौं। बैंकहरुमा ऋण दिने पैसा अभाव र महँगो ब्याज दरका कारण गाडीको बिक्री स्वाट्टै घटेको छ। 
 
'यो वर्ष बजार ४० प्रतिशतले डाउन नै छ। तर हामीलाई केही नयाँ प्रोडक्टले साथ दिएको छ। नेक्सन, टियागो लगायत नयाँ सेग्मेन्टका गाडीले व्यापार बढाइदिएको छ।' -टाटा मोटर्सको अधिकृत विक्रेता सिप्रेदी ट्रेडीङका बजार प्रमुख अर्जुन कार्कीले भने। 


 
बैंकको ब्याजदर बढेको कारण ग्राहक दुविधामा परेको कार्कीले बताए। गाडी खरिदमा क्यास कस्टमर बढेको जानकारी दिँदै उनले भने,'हातहातै पैसा तिरेर गाडी किन्ने बढेका छन्।’ 
 
पोहोरसम्म १० देखि १५ प्रतिशत ग्राहकले मात्र क्यास कारोबार गर्ने गरेकोमा यस वर्ष २५ प्रतिशत भन्दा बढी क्यास कस्टमर आएको सिप्रदीका कार्कीले जानकारी दिए। 
 
बैंकको महंगो ब्याजदरका कारण सिधै पैसा तिरेर गाडी किन्ने ग्राहक बढेको उनको तर्क छ। उनका अनुसार गत वर्ष सातदेखि आठ प्रतिशत ब्याजदरमा गाडी खरिद गर्न सकिन्थ्यो भने हाल बैंकको ब्याजदर १४ प्रतिशतसम्म रहेको छ। 
 
सिप्रदीले यो आर्थिक वर्ष 'नेक्सन' धेरै विक्री गरेको कम्पनीले जनाएको छ। 'छोटो अवधिमै आएपनि नेपाली बजारमा टाटा नेक्सनको क्रेज ह्वात्तै बढ्यो। 
 
गाडी नआउँदै हामीले गाडी बुकिङ सुरु गरिसकेका थियौँ। सुरुमै एक सय ७० वटा गाडी बुकिङ गरिसकेका थियौँ। हामीले उपत्यका भित्र र बाहिरका विभिन्न क्षेत्रमा कार मेला आयोजना गरिरहेका छौँ।'
 
कम्पनीले हालसम्म चार सयभन्दा बढी नेक्सन गाडी बिक्री गरिसकेको जनाएको छ। कार्कीका अनुसार उपत्यकाभित्र भन्दा बाहिर नेक्सनको माग बढ्दै गएको छ। उपत्यका भित्र एक सय ८० र उपत्यकाबाहिर दुई सय २० भन्दा बढी नेक्सन गुडिरहेको उनले बताए।
 
नेक्सनको पर्फर्मेन्स, लक्जरी, स्मुथ सस्पेन्सन भएको कारण नेक्सन अन रोड र अफरोड दुवैका लागि माग बढेको कार्कीले जानकारी दिए। नेक्सन पछि सिप्रदीले साढे तीन सय टाटा टियागो बेचेको कम्पनीले जनाएको छ।  
 
महिन्द्रा गाडीको अधिकृत विक्रेता अग्नी ग्रुपले चालु आर्थिक वर्ष स्कोर्पियो गाडी बढी बिक्री गरेको बजार प्रमुख सिजन न्यौपानेले जानकारी दिए। उनका अनुसार महिन्द्राको स्कोर्पियो, केयुभी र पिकअपले गत वर्ष राम्रो बजार लिएको छ। उनले भने,'बैंकको ब्याजदर बढेका कारण अहिले गाडी खरिद गर्ने ग्राहक घटेका छन्।' 
 
अग्नि ग्रुप अन्तर्गत अग्नि इनर्जीले बिक्री गर्दै आएको इभि(इलेक्ट्रीक भेहिकल)ले चालु आर्थिक वर्षमा बजार बढेको कम्पनीका कार्यकारी प्रवन्धक प्रमोद भण्डारीले बिजमाण्डूलाई जानकारी दिए। 'बैंकको ब्याजदर बढेका कारण अहिले गाडी खरिदकर्ता अन्योलमा परेका छन्। गाडी किन्ने इच्छा त छ तर ब्याजदर बढेका कारण गाडी किन्न सकिरहेका छैनन्। ग्राहकले इच्छा मार्नुपरेको पाएका छौं।– भण्डारीले बताए। '
 
भण्डारीका अनुसार यस वर्ष इटुओप्लस खरिद गर्ने ग्राहक सय नाघेका छन्। हालसम्म देशभर पाँच सय भन्दा बढी इटुओप्लस विक्री भइसकेको कम्पनीले जनाएको  छ। 
 
रेनल्टको अधिकृत विक्रेता एडभान्स अटोमोवाइल्सको विक्री वितरण राम्रो रहेको कम्पनीका बजार प्रवन्धक सन्दीप क्षेत्रीले बताएका छन्। चालु आर्थिक वर्ष रेनल्टको डस्टर र क्विडले राम्रो बजार लिएको उनले जानकारी दिए।  हाल सम्म दुई हजारभन्दा बढी डस्टर बिक्री भइसकेको छ भने एक हजार भन्दा बढी क्विड १.० विक्री भएको कम्पनीले जनाएको छ। 
 
बजार प्रबन्धक क्षेत्रीले भने ,'यो वर्ष व्यवसाय अघिल्लो वर्षको तुलनामा सन्तोषजनक छैन। तरपनि बजारमा राम्रै रेस्पोन्स आएको छ। काठमाडौंमा राम्रै सेल्स बढेको छ।'
कम्पनीले रेनल्टको हरेक आउटलेटमा राम्रो प्रतिक्रिया पाएको जनाएको छ। देशभर रेनल्टको १२ वटा आउटलेट रहेका छन्। 
 
हुण्डाइको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले गत वैशाखदेखि व्यापारमा कमी आएको जनाएको छ। 'गत वर्ष नाडाअटो सो देखि गाडी ब्यापारमा केहि सुधार देखिएपनि पुस माघबाट बैंकको लिक्विडीटी क्राइसिसका कारण हाम्रो मार्केट पनि खस्कियो।'- कम्पनीका नायब महाप्रवन्धक रुपेश शर्मा भट्टले भने।
 
अहिलेसम्म हुण्डाइको क्रेटाले राम्रो मार्केट लिएको शर्माले जानकारी दिए। 'लन्चिङ गरेदेखि नै क्रेटाले राम्रो मार्केट लिएको छ। पहिले राम्रो बजार बनाएको ग्र्याण्ड आइ १० लाई क्रेटाले उछिनेको कम्पनीले जनाएको छ। क्रेटा ग्राहकको पहिलो प्राथमिकतामा रहेको शर्माले दावी गरे। ‘ह्याचब्याक सेगमेन्टमा नम्बर वन भने ग्र्याण्ड आइ १० नै रहेको छ।'- उनले भने।
 
सुजुकीको अधिकृत विक्रेता सिजी मोटोकर्पले २०७४ साल अवधिभर सेलेरियो, भिटारा ब्रेजा र बलेनो अधिक मात्रामा विक्री गरेको जनाएको छ। गाडीको ब्यापार गत वर्षको तुलनामा कम भएपनि नाडा शोपछिको समयमा भने ब्यापारमा राम्रै चाप देखिएको कम्पनीका बजार प्रवन्धक करुण शाक्यले बताए। बजार बढेपनि ब्यापार भने सोचे अनुसार गर्न नसकेको शाक्यको भनाई छ। 

Tata
GBIME
Nepal Life