नेपाल चेम्बर अफ कमर्सको शाखा विराटनगरमा, किन गए उद्योग सङ्गठन छाडेर सुरेन्द्र गोल्छा ?

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७५ जेठ ९ गते २१:१३ | May 23, 2018
विराटनगर।केही समययता नेपाल उद्योग वाणिज्य महासङ्घलाई समानान्तर रूपमा चुनौती दिन थालेको नेपाल चेम्बर अफ कमर्सले मोरङमा शाखा खोलेको छ ।
 

विराटनगरका पुराना मदिरा व्यवसायी सुरेशमान श्रेष्ठका अध्यक्षतामा चेम्बरको १५ सदस्यीय शाखा खोलिएको हो ।चेम्बरको विधानअनुसार शाखा कार्यालयले आफ्नो छुट्टै नाम राख्न पाउने हुँदा शाखाको नाम मोरङ चेम्बर अफ कमर्स राखिएको अध्यक्ष श्रेष्ठले बताए ।विराटनगरमा भेला भएका स्थानीय उद्यमी–व्यवसायीको निर्णयअनुसार कार्यसमितिको चयन गरिएको उनको भनाइ थियो ।
 
चेम्बरका तीन उपाध्यक्षमध्ये एकमा सुरेन्द्र गोल्छा छन् । गोल्छा अर्गनाइजेसनका सञ्चालकसमेत उनी उद्योग सङ्गठन मोरङका कार्यकारी सदस्यसमेत हुन् ।महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा सुरेन्द्रका भाइ हुन् ।गोल्छा परिवारको लिगेसी कायम रहेको उद्योग सङ्गठन छाडेर सुरेन्द्र चेम्बरमा किन आए भन्ने आश्चर्य विराटनगरको व्यावसायिक वृत्तमा व्याप्त छ ।
 
सुरेन्द्रले एक उद्यमी कुनै व्यावसायिक सङ्गठनको नेतृत्वमा आउनु सामान्य विषय भएको उल्लेख गर्दै चेम्बरजस्तो गरिमामय संस्थामा बस्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिए ।अन्य दुई उपाध्यक्षमा यादवप्रसाद पोखरेल र शिवप्रसाद रिजाल छन् । पोखरेल र रिजाल दुबै विराट व्यापार सङ्घका पूर्व अध्यक्ष हुन् । विराटनगरमा खुद्रा पसलेको सङ्गठनका रूपमा विराट व्यापार सङ्घ कार्यरत छ ।
 
चेम्बरको महासचिव, सचिव, कोषाध्यक्ष र सह–कोषाध्यक्षमा क्रमशः कृष्णप्रसाद दाहाल, हरिबहादुर श्रेष्ठ, मनोजकुमार मिश्र, र प्रकाशनारायण चौधरी, छन् ।सदस्यमा अञ्जलीदेवी श्रेष्ठ, रमेश गिरी, डा. सन्देशदास श्रेष्ठ र सञ्जीव श्रेष्ठ छन् । बाँकी तीन सदस्य मनोनीत गर्न बाँकी रहेको अध्यक्ष सुरेशले बताए । 
 
 
 
 
 
 

Tata
GBIME
Nepal Life