बजेट आउने अघिल्लो दिन शेयर बजारमा ३५ अंकको उछाल, यस्ता हल्लाले बढायो बजार

बिजमाण्डू
२०७५ जेठ १४ गते १५:२९ | May 28, 2018

काठमाडौं।आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुने अघिल्लो दिन शेयर बजार दोहोरो अंकले बढेको छ। लगातार पाँच कारोवार दिन घटेको बजार छैठौ दिन सोमबार बढेको हो।

Tata
GBIME
Nepal Life

सोमबार शेयर बजार मापक सूचक ३५.९८ अंकले बढेर १३३६.३९ अंकमा उक्लिएको छ। क वर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.३७ अंकले बढेर २८१.४८ अंकमा उक्लिएको छ।

आगामी बजेटमा शेयर बजारमा लाग्ने भनिएको मुल्य अभिवृद्धि कर (भ्याट)नलाग्ने बजारमा चर्चा चलेको कारण बजार बढेको लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए।

"शेयर कारोबारलाई वित्तीय सेवा अन्तर्गत राखिने र प्यान नम्बरको विषयलाई समेत यस वर्षको बजेटमा समावेश नगरिने चर्चा बजारमा चलेको छ" अर्यालले भने।

सोमबार १६८ कम्पनीका १३ लाख ५९ हजार कित्ता शेयर ४७ करोड रुपैयाँमा कारोबार भयो। सबैभन्दा बढी सिटिजन बैंकको संस्थापक शेयर पाँच करोड रुपैयाँ बराबरको कारोबार भयो।

सोमबार कारोबारमा आएका सबै उपसूचक बढेका छन्। बैक २५.४६, ट्रेडिङ् २.५३, होटल १०१.११, विकास बैंक ४८.२८, जलविद्युत ४७.३६, फाइनान्स १०.३५, बीमा २७२.४४, उत्पादन मुलक ४७.४५, अन्य १७.५२ र लघुवित्त ५९.०६ अंकले बढेका छन्।

सोमबार सबैभन्दा बढी शिखर इन्स्योरेन्स कम्पनीका शेयरधनीले १० प्रतिशत कमाएका छन्। सबैभन्दा बढी मेगा बैंकका शेयरधनीले १० प्रतिशत गुमाएका छन्।