सरकार-शेयर लगानीकर्ताबीच पहिलो चरणको वार्ता सकियो, राजश्व सचिवसँग सुनुवाइका लागि छलफल

बिजमाण्डू
२०७५ जेठ २० गते १३:१७ | Jun 3, 2018

काठमाडौं। हकप्रद र बोनस शेयरको आधार मूल्यमै पूँजिगत लाभकर लगाउने निर्णयपछि आन्दोलनमा उत्रिएका शेयर लगानीकर्तासँग सरकारले पहिलो चरणको वार्ता गरेको छ। सोमबार विहानैबाट आन्दोलनमा उत्रिएका लगानीकर्तालाई अर्थमन्त्रालयले वार्ताका लागि बोलाएको थियो।

Tata
GBIME
Nepal Life

वार्तामा अर्थमन्त्रालयका तर्फबाट सहसचिव उत्तरकुमार खत्री थिए। लगानीकर्ताको तर्फबाट इन्भेष्टर फोरमका अध्यक्ष अम्विका पौडेल, लगानीकर्ता संघका उपाध्यक्ष तारा फुलेल, ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मी, सिडिएससीका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्तालगायत उपस्थित थिए।

पहिलो चरणमा सरकारी पक्षले लगानीकर्ताको गुनासो सुनेका थिए। अब सचिवस्तरमा सुनुवाइका लागि वार्ता हुने गरी पहिलो चरणको छलफल टुङ्गिएको फुलेलले बताए। यता शेयर बजारको नियामक नेपाल धितोपत्र वोर्डलाई वार्तामा बोलाइएको छैन।

सरकारको बोनस र हकप्रद शेयरको आधार मूल्यमै कर लगाउने निर्णयले शेयर बजारलाई दूरगामी असर पार्छ?सरकारले आइतबारबाट कर लगाउने निर्णय गरेको थियो। निर्णय लगत्तै शेयर बजार घट्न थालेको थियो। आइतबार बजार करिव ३४ अंकले घटेको थियो। सोमबार पनि बजार लगातार घटेपनि पछि केही सुधार देखिन थालेको छ। 

दोस्रो चरणको वार्तामा राजश्व सचिव शिशिर ढुङ्गाना सहभागी हुने छन्।

'पहिलो चरणको वार्ता गुनासो सुन्नका लागि मात्र थियो' फुलेलले भने, 'दोस्रो चरणको वार्तामा केही सुनुवाइ हुने अपेक्षा गरेका छौं।' वार्ता आजै हुने संभावना छ।

यता वार्ता चलिरहँदा लगानीकर्ता संघ/संस्थाका प्रतिनिधि तथा अन्य लगानीकर्ताहरुले आन्दोलन गरिरहेका थिए। उनीहरुले नेपाल स्टक एक्सचेञ्जको कार्यालय घेराउ गर्दै नारावाजी गरेका थिए। वार्तामार्फत माग संवोधन नभएसम्म आन्दोलन जारी राख्ने उनीको भनाइ छ।