‘ग्लोबल आइएमइ–कमर्ज मर्जर हल्ला मात्र’, ठूला लगानीकर्ताले क्षणिक फाइदाका लागि चलाए हल्ला



बिजमाण्डू
२०७० असोज ३ गते ००:०० | Sep 19, 2013
काठमाडौं । ग्लोबल आइएमइ बैंक र कमर्ज एन्ड ट्रस्ट बैंक नेपाल गाभिने हल्लाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुवै बैंकको सेयर मूल्य प्रभावित हुन थालेको छ । पछिल्लो एक महिनायता ग्लोबल आइएमइको घट्ने र कमर्जको बढ्ने प्रबृत्ति देखिएको छ ।
मर्जरको हल्लाका विषयमा बिजमाण्डूले दुबै बैंकका सञ्चालकहरुलाई सोध्दा– दुई पक्षबीच कुनै पनि किसिमको छलफल भएको छैन । ग्लोबल सञ्चालक समितिका एक प्रभावकारी सदस्यले भने– हल्लाले मूल्य प्रभावित भइरहेको साँचो हो, तर हामी बीच मर्ज गर्ने बारेमा कुनै पनि किसिमको छलफल तथा अन्तकृया भएको छैन ।
एक महिनाअघि प्रति कित्ता चार सय ४३ रुपैयाँ रहेको ग्लोबलको सेयर अहिले घटेर ३९८ रुपैयाँमा झरेको छ । बैंकको सेयर महिनाभरीमा १९ दिन कारोबार भएको थियो । पछिल्लो १० दिन बैंकको सेयर घट्दो प्रबृत्तिमा कारोबार भइरहेको छ ।
कमर्जको सेयर मूल्य पनि एक महिनाअघि प्रति कित्ता एक सय ४५ रुपैयाँ थियो । अहिले बढेर एक सय ६३ रुपैयाँ पुगेको छ । बैंकको सेयर महिनाभरीमा १९ दिन कारोबार भएको छ । पछिल्लो १० दिन बैंकको सेयर नियमित बढिरहेको छ ।

कमर्जका एक सञ्चालकले पनि अन्य बैंकहरुसँग छलफल चलेपनि ग्लोबलसँग भने कुनै किसिमको छलफल नभएको बताए । ग्लोबलले दुई बर्षयता तीन वित्तीय संस्थालाई आफूसँग गाभिसकेको छ । ग्लोबलसँग आइएमइ फाइनान्सियल इन्ष्टिच्युसन, सोसियल डेभलपमेन्ट बैंक र गुल्मी विकास बैंक गाभिइसकेका छन् ।
कमर्जले भने मर्जरका लागि अर्को दरिलो पार्टनर खोजिरहेको छ । कमर्ज र ग्लोबल मर्जरको हल्ला चलाएर ठूला लगानीकर्ताहरुले सानालाई डुवाउन खोजिरहेको एक सेयर ब्रोकरले जानकारी दिएका छन् । उनका अनुसार, पछिल्लो एक महिनायता दुवै कम्पनीको सेयर मूल्य प्रभावित बनिरहेको छ ।
 

Tata
GBIME
Nepal Life