चौधरी समूहका तीन कम्पनीले लिए ५९ करोडको दावी, चौधरीकै युनाइटेड इन्सुरेन्सले दियो भुक्तानी

बिजमाण्डू
२०७० असोज ८ गते ००:०० | Sep 24, 2013
चौधरी समूहका तीन कम्पनीले लिए ५९ करोडको दावी, चौधरीकै युनाइटेड इन्सुरेन्सले दियो भुक्तानी

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले चौधरी समूहलाई ५९ करोड रुपैयाँको  बीमा दावी भुक्तानी गरेको छ । बीमा दावी गर्ने सिजी इम्पेक्स, इओएल र सिजि इलेक्ट्रोनिक्स विनोद चौधरीले नेतृत्व गर्ने चौधरी समुहको पूर्ण स्वामित्वको कम्पनी हो भने दावी भुक्तानी गर्ने युनाईटेड इन्सुरेन्स चौधरीको २६ प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएको कम्पनी हो ।
युनाईडेट इन्सुरेन्समा चौधरी समूहको १५.९६ प्रतिशत सेयर स्वामित्व छ भने सिजि फुड्सको नाममा १०.७५ प्रतिशत सेयर स्वामित्व छ । युनाइटेड इन्सुरेन्समा चौधरी र रविभक्त श्रेष्ठ दुई ठूला सेयरधनी हुन् । रविभक्तको कम्पनी एनई समूहको १४.३३ प्रतिशत, रविभक्त श्रेष्ठको १०.६३ प्रतिशत, रविन्द्रभक्त श्रेष्ठको २.०७ प्रतिशत सेयर स्वामित्व छ ।

युनाईटेड इन्सुरेन्सले मंगलवार चौधरी समूहका तीन कम्पनीलाई दिएको बीमा दावी हालसम्मकै ठूलो भएको बताएको छ । कम्पनीले नेपालको इतिहासमै सबै भन्दा ठुलो दावी ५८ करोड ९७ लाख ७० हजार ६ सय ३२ रुपैयाँको चेक बिमित सिजी इम्पेक्स प्रा.लि., इओएल प्रा..लि. र सिजी इलेक्ट्रोनिक्स कम्पनीका तर्फबाट प्रतिनिधि नरोत्तमकुमार मेहतालाई प्रदान गरेको हो ।
एकै घरानाका दुई कम्पनीवीच बीमा दावी र भुक्तानी गर्दा पनि युनाईटेड इन्सुरेन्सले विदेशी सर्भेयरको प्रयोग गरेको छैन् । कम्पनीले मंगलवार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, प्राय ठूला दाबीहरुमा नेपाली तथा विदेशी सर्भेयरहरुबाट संयुक्त रुपमा सर्भे गर्दै आएता पनि यो दावीमा नेपाली सर्भेयरहरुबाट मात्र सर्भे गरिएको यो पहिलो घटना हो । नेपाली सर्भे कम्पनी टिसा इन्जिनियरिङ्ग कन्सल्टेन्सीका सुर्यप्रसाद जोशी र नेपाल क्लेम्स ब्युरोका राजन थापाले संयुक्त रुपमा सर्भे गरेको पनि विज्ञप्तिमा छ ।
दावी भुक्तानीको चेक यूनाइटेड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीरबिक्रम रायमाझीले प्रदान गरेका थिए । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरबाट रिटायर्ड भएपछि रायमाझी युनाईटेड इन्सुरेन्समा सिईओको जिम्मेवारी सम्हालिरहेका छन् । दावी भुक्तानी कम्पनीको थापाथलीस्थित केन्द्रीय कार्यालयमा भएको कम्पनीले मंगलवार जारी प्रेस विज्ञप्तिमा छ ।
गतवर्ष असोज २८ गते सतुङ्गल काठमाण्डौमा रहेका सिजी इम्पेक्स, इओएल प्रा..लि. र सिजी इलेक्ट्रोनिक्समा विद्यूतिय सर्ट सर्किट भई भएको आगोलागीमा ७० करोड १५ लाख रुपैयाँको नोक्सानी भएको दावी चौधरी समुहले गर्दै आएको छ । एकै परिवारको एउटा कम्पनीले दावी माग्ने र अर्कोले भुक्तानी दिने भएपछि यो विषय लामो समयसम्म बीमा समितिमा पेन्डिङमा परेको थियो । यस्तै अर्को एउटा मुद्दामा एभरेष्ट र प्राइम इन्सुरेन्सबाट राजेन्द्र खेतानले अध्यक्ष छाड्नु परेको थियो ।
खेतानको कम्पनी मायोजमा आगलागी भएको, खेतानकै अर्को कम्पनी एभरेष्ट इन्सुरेन्सले अग्नी बीमा चार करोडभन्दा बढीको दावी भुक्तानी गरेको थियो । सर्भेयरको प्रतिवेदन नआई दावी भुक्तानी गरेपछि बीमा समितिले एभरेष्टलाई अहिलेसम्म अग्नी बीमा कारोवारमा रोक लगाएको छ । खेतान र चौधरीको अग्नी बीमासम्वन्धि यही विवादका बीमा समितिले एकै घरानाका दुई कम्पनीवीच बीमा गर्न प्रतिवन्ध समेत लगाएको छ ।  निर्जीवन बीमा कारोवार गर्न २०५० सालमा स्थापित युनाइटेड इन्स्योरेन्स कम्पनीले नेपालको इतिहासमै यति ठूलो बीमा दावी भुक्तानी गरेको हो, कम्पनीले जारी प्रेस विज्ञप्तिमा दावी गरिएको छ ।

Tata
GBIME
Nepal Life