काठमाडौं । ग्लोबल आइएमइ बैंक लिमिटेडले १५ प्रतिशत वोनस सेयर दिने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिले गत बर्षको नाफाबाट वोनस सेयर दिने निर्णय गरेको हो । प्रस्तावित वोनस सेयर राष्ट्र बैंकले स्वीकृत गरेपछि बार्षिक साधारणसभाले अनुमोदन गर्नु पर्छ, त्यसपछि लगानीकर्ताले लाभांस पाउने छन् ।बैंकले गत बर्ष नाफा दोब्बर बढाएर ५५ करोड २४ लाख रुपैयाँ पुर्याएको थियो । बैंकको यसअघि २६ करोड ५३ लाख रुपैयाँ नाफा थियो । बैंकले गत बर्ष तीन प्रतिशत वोनस सेयर र १० प्रतिशत नगद लाभांस दिएको थियो । बैंकको चुक्ता पुँजी दुई अर्ब ४१ करोड रुपैयाँ छ । वोनस सेयर वितरणपछि पुँजी दुई अर्ब ७७ करोड नाघ्ने छ ।
बैंकले डुबेको ऋणमध्ये १४ करोड ३३ लाख रुपैयाँ राइट ब्याक गरेको थियो । बैंकले नोक्सानी व्यवस्थामा ३३ करोड १८ लाख रुपैयाँ छुट्याएको थियो । बैंकले विदेशी मुद्रा किनबेच र कमिसनमा आधारित आम्दानी पनि बढाएको थियो । विदेशी मुद्रा किनबेचबाट बैंकले ७ करोड ३१ लाख र कमिसनमा आधारित भएर १७ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी ११५ प्रतिशतले बढेर १ अर्ब ३७ करोड ८४ लाख रुपैयाँ पुगेको थियो । बैंकको ऋण ३० प्रतिशतले वढेर २६ अर्ब ९९ करोड र निक्षेप २७ प्रतिशतले बढेर ३४ अर्ब ११ करोड रुपैयाँ पुगेको थियो । बैंकको जगेडा कोषमा ९३ करोड रुपैयाँ छ ।
यसैगरी टुरिजम डेभलपमेन्ट बैंकले ११ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिले गरेको यो प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको बार्षिक साधारण सभाले पारित गर्न बाँकी छ । गत बर्ष भने बैंकले ६.५० प्रतिशत नगद लाभांश दिएको थियो । बैंकले गत आवमा नौं करोड ३२ लाख नाफा गरेको थियो ।










