मर्जपछि कमर्ज एण्ड ट्रस्टका लगानीकर्ताले कति लाभ पाउलान ?, अनि ग्लोबलकाले



बिजमाण्डू
२०७० मंसिर ९ गते ००:०० | Nov 24, 2013
मर्जपछि कमर्ज एण्ड ट्रस्टका लगानीकर्ताले कति लाभ पाउलान ?, अनि ग्लोबलकाले
विजयराज खनाल/बिजमाण्डू
काठमाडौं । ग्लोबल आईएमई बैंक र कमर्ज एण्ड ट्रस्ट बैंकको मर्जर प्रक्रिया कात्तिकको अन्तिम साता औपचारिक रुपमा अगाडी बढ्यो । यो प्रक्रिया सुरु भएको करीब छ महिनामा एउटै बैंक बनेर सेयर कारोबारमा आउँदा कमर्ज एण्ड ट्रस्टका लगानीकर्ताले प्रतिकित्ता सेयरमा १८५ रुपैयाँ देखि २६९ रुपैयाँसम्म फाइदा पाउन सक्ने देखिन्छ । त्यस्तै, कारोबार खुलेपछि ग्लोबल आईएमईका लगानीकर्ताले पनि ८७ रुपैयाँ देखि १७० रुपैयाँसम्म फाइदा पाउन सक्छन् । 
पहिलो आधार
नेप्सेमा अहिले राम्रो वृद्धि देखिएको छ । गत बिहीवार नै नेप्से ३३.८८ अंकले बढेर ६३४ पुगेको छ । नेप्सेले चाँडै नै सात सय बिन्दु भेट्ने अनुमान गरिरहँदा आगामी छ महिनामा नेप्से आठ सयको हाराहारीमा रहने विश्लेषण धेरैको छ । ग्लोबल आईएमई पनि बजारको वृद्धिसँगै मूल्य बढ्ने प्रकृतिको कम्पनी भएको लगानीकर्ता तथा विश्लेषकहरु बताउँछन् ।
ग्लोबलको कारेबार बन्द हुँदा ५८० मा रहेको नेप्से परिसूचक छ महिनामा आठ सयमा रहने हो भने त्यसमा ३७ दशमलव ४२ प्रतिशतको वृद्धि देखिन्छ । यस आधारमा ग्लोबलको सेयर मूल्यमा पनि कम्तीमा २० देखि २७ प्रतिशतको वृद्धि हुनसक्छ । त्यसैले मर्जरको कारण ४३० रुपैयाँमा कारोबार बन्द भएको ग्लोबलको २० प्रतिशतले मूल्य बढ्दा लगानीकर्ताले ८६ रुपैयाँ र २७ प्रतिशतले बढ्दा ११६ रुपैयाँ पाउन सक्ने अवस्था रहन्छ । 
मर्जरपछि अन्य कम्पनीलाई गाभ्नेकै बजार मूल्य कायम राखेर कारोबार खोलिने नेपाल स्टक एक्सचेन्जले बताएको छ । यसो हुँदा ग्लोबलको हालको सेयर मूल्य नै कारोबार खुल्दा कायम हुनेछ । यदि ग्लोबलको सेयर मूल्य बढेन र प्रतिकित्ता ४३० मै कामय रह्यो भने पनि कमर्जका लगानीकर्ताले प्रतिकित्ता सेयरमा करिब एक सय रुपैयाँसम्म फाइदा पाउने देखिन्छ । 
अहिले ग्लोबलको एक सय कित्ता सेयर बराबर कमर्जको ६५ कित्ता सेयर हुने गरि स्वाप रेसियो बनाउने अनौपचारिक समझदारी भएको छ । यसले कमर्जको एक सय कित्ता सेयरको मान्यता ६५ कित्तामा सिमित हुनपुग्छ । कमर्जको हालको सेयर मूल्य प्रतिकित्ता २१५ को आधारमा लगानीकर्ताले सय कित्ता सेयरको लागि २१ हजार पाँच सय मूल्य तिरेका छन् । 
कर्मजको सय कित्ता सेयर घटेर ६५ मा सिमित हुँदा लगानीकर्ताको प्रतिकित्ता सेयरको लागत भने अब २१५ रुपैयाँबाट बढेर ३३० रुपैयाँसम्म पर्न जान्छ । ग्लोबलको हालको सेयर मूल्य ४३० बाट अहिले कमर्जका लगानीकर्ताको प्रतिकित्ता सेयरमा परेको लागत ३३० घटाउँदा पनि उनीहरुलाई एक सय रुपैयँको नाफा नै देखिन्छ । यस अघिको उदाहरणमा भने जस्तै यदि बजारसँगै ग्लोबलको सेयर मूल्य २० देखि २७ प्रतिशतले बढ्यो भने कमर्जका लगानीकर्ताले प्रतिसेयर एक सय ८५ रुपैयाँ देखि दुई सय १५ रुपैयाँसम्म फाइदा पाउन सक्छन् । 

दोस्रो आधार
नेप्सेमा अहिले सूचीकृत समकक्षी बैंकहरु बैंक अफ काठमाडौं (बीओके) र एनआइसी एसिया बैंककै दाँजोमा ग्लोबल आईएमईको स्थान हुने लगानीकर्ताहरु मान्छन् । यस अधारमा ती बैंकहरुको मूल्य सरह वा केही घटबढ सहितको मूल्य ग्लोबलको पनि हुने उनीहरुको तर्क छ । हाल बीओकेको प्रतिकित्ता सेयरको मूल्य ५६१ रुपैयाँ र एनआइसीको ६९५ छ । यदि यी मूल्य बीचमा ग्लोबलको मूल्य रहने मानेर छ सय रुपैयाँलाई आधारको रुपमा लियौं भने पनि ग्लोबलका लगानीकर्ताले १७० रुपैयाँ र कमर्जका लगानीकर्ताले २६९ रुपैयाँसम्म फाइदा पाउँछन् । त्यसैगरी, नेप्से बढेर आठ सय बिन्दु पुग्दा बीओके र एनआइसी एसियाको पनि मूल्य बढ्ने मान्न सकिन्छ । यसो भएमा ग्लोबल र कमर्जका लगानीकर्ताले अझै फाइदा पाउन सक्छन् । 

तेस्रो आधार
यसअघिका आधारहरु बजारमा लागू नभए पनि ग्लोबलको सेयर खुला भएपछि करिब एकदुई सातामा २० प्रतिशतसम्म मूल्य बढ्न सक्ने लगानीकर्ता अनुमान गर्छन । लगानीकर्ताहरुले भनेजस्तै भयो भने ग्लोबलमा लगानी गरेकाले त्यो समय प्रतिसेयरमा अहिलेको भन्दा ८६ रुपैयाँ बढि मूल्य पाउने छन  । यस आधारमा त्यो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता करिब ५१६ पुग्ने छ । त्यसैगरी, कम्पनीको सेयर मूल्य ५१६ पुग्दा मर्जर प्रक्रिया सुरु हुनु अगाडी कमर्जमा लगानी गरेकाले एक सय ८५ रुपैयाँसम्म फाइदा पाउन सक्छन । 
यसअघि ग्लोबलले आईएमई फाइनान्स र लर्डबुद्ध फाइनान्सलाई मर्ज गरेपछि पहिलो दिनको कारोबारमा पनि सेयर मूल्य करिब ९.३७ प्रतिशतले बढेर खुलेको थियो । १६० रुपैयाँ रहेको ग्लोबलको सेयर ९.३७ प्रतिशतले बढेर १७५ रुपैयाँमा खुलेको थियो पछि २६० रुपैयाँसम्म पुगेको थियो । सोही मर्जरपछि २०६९ साल भदौंको अन्तिम साता कारोबार खुलेको बैंकको छ महिना मै (२०६९ फागुन २८ गते) २२७ प्रतिशत वा साढे तीन गुणाले सेयर मूल्य बढेर ५२४ पुगेको थियो ।
 

Tata
GBIME
Nepal Life