काठमाडौं । एभरेष्ट इन्सुरेन्सका निलम्वित प्रमुख कार्यकारी अधिकृत केवलकृष्ण श्रेष्ठलाई बिहिवार नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले पक्राउ गरेको छ । उनीमाथि अनधिकृत र अनियमित ढंगले दुई करोड ५० लाख ८९ हजार ५८१ रुपैयाँ खर्च हिनामिना गरेको आरोप व्युरोले लगाएको छ ।
उनलाई बिहिवारै ललितपुर सातदोबाटोस्थित ढोलाहिटीबाट पक्राउ गरिएको पनि प्रहरीले जानकारी दिएको छ ।

उनले विभिन्न् शीर्षकमा खर्च गरी कम्पनीबाट खर्चको भुक्तानीसमेत आफूले बुझि खर्च देखाई बीमित तथा लगानीकर्ता समेतलाई प्रत्यक्ष असर पारी ठगी गरेको अभियोग सिआईबीले लगाएको छ ।
इन्सुरेन्स कम्पनीमा भएको घोटलामा पक्राउ पर्ने श्रेष्ठ पहिलो व्याक्ति हुन् । उनीमाथि छानविनका लागि बीमा समितिले फाइल सिआईबीमा पठाएको थियो । श्रेष्ठले कम्पनीबाट आफै भौचर उठाउने, आफै भुक्तानी लिने गरेको बीमा समितिको प्रारम्भिक अनुसन्धानमा देखिएको थियो ।
बीमा समितिले उनलाई संस्थागत सुशासन पालना नगरेको भन्दै दश हजार रुपैयाँ जरिवना गरेको थियो । बीमा समितिले एभरेष्ट इन्सुरेन्स निरीक्षणका क्रममा संस्थागत सुशासन पालना नगरेका १८ वटा गल्ती फेला पारेको थियो । हरेक गल्तीका लागि श्रेष्ठलाई दश हजार रुपैयाँ जरिवाना गराइएको थियो।
श्रेष्ठमाथि यो लगायत मायोज चाउचाउलाई प्रक्रिया नपुर्याई बीमा रकम भुक्तानी गरेको आरोप समेत लागेको थियो । यिनै मुद्दामा बीमा समितिले श्रेष्ठलाई निलम्वन गर्न एभरेष्ट इन्सुरेन्सको बोर्डलाई दवाव दिएको थियो । उनलाई बोर्डले सिईओबाट निलम्वन गरे पनि कम्पनी सचिवको हैसियतमा एभरेष्टमै काम लगाएको थियो ।
केही समय सिईओको निलम्वनपछि फेरी प्रमुख कार्यकारीमा फर्किएका श्रेष्ठका विषयमा थप छानविन गर्न बीमाले सिआईबीलाई पत्राचार गरेको थियो भने उनलाई निलम्वन गर्ने निर्णय गरेको थियो ।
एभरेष्टको व्यवस्थापनले बीमा समितिको निर्णय पालना नगरेपछि यो महिना बीमा समितिले एभरेष्ट इन्सुरेन्सको व्यवस्थापन जिम्मा लिएको छ । बीमा समितिबाट आएको तीन सदस्यीय टोलीले एभरेष्ट इन्सुरेन्सको जिम्मा लिएपछि कम्पनीमाथि लागेको अग्नी बीमाको रोक पनि फुकुवा भएको छ ।
बीमा समितिले आफ्नो निर्देशन पालना नगरेको भन्दै कम्पनीका मुख्य सेयरधनी र पूर्व अध्यक्ष राजेन्द्र खेतानमाथि कम्तिमा पनि पाँच वर्ष बीमा कम्पनीको सञ्चालक बन्न रोक लगाएको छ । त्यसैगरी उनको सम्पत्ती पनि रोक लगाउने निर्णय बीमा समितिले गरेको छ ।











