सेञ्चुरी बैंकको आइपिओ धितोपत्र बोर्डबाट स्वीकृत, ९२ लाख कित्ता सेयर पुस तेस्रो साताबाट विक्री

बिजमाण्डू
२०७० पुष ११ गते ००:०० | Dec 26, 2013
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेञ्चुरी कमर्सियल बैंकलाई ९२ करोड रुपैयाँको आइपिओ जारी गर्न स्वीकृती दिएको छ । बैंकले आइपिओ स्वीकृती माग्दै गत जेठमा धितोपत्र बोर्डमा आवेदन दिएको थियो । धितोपत्र बोर्ड स्रोतले सेञ्चुरी कमर्सियल बैंकलाई बिहिवार आईपिओको स्वीकृती दिइएको जानकारी दियो ।
सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशकुमार श्रेष्ठले भने स्वीकृतीका विषयमा आफूलाई जानकारी प्राप्त भइ नसकेको बताए । उनले स्वीकृती प्राप्त भए पुस तेस्रो साता आइपिओ जारी गर्ने जानकारी दिए । बैंकले अर्को साता विवरणपत्र प्रकाशन गर्ने तयारी गरिरहेको छ, पुस २२ वा २३ गतेबाट विक्री सुरु हुने सेञ्चुरी बैंक स्रोतले बतायो । बैंकको सेयर कम्तिमा चार दिन विक्री खुला हुनेछ । बैंकले दोस्रो त्रैमास नसकिंदै आफ्नो पुँजी दुई अर्ब पुर्याउनका लागि प्रयास गरिरहेको थियो ।
दुई साता अघि भएको तेस्रो साधारणसभामा पनि बैंकको तत्काल आइपिओ जारी गर्ने जानकारी अध्यक्ष प्रफुल्लकुमार काफ्लेले दिएका थिए । सेञ्चुरी बैंकको आइपिओ देशका ३१ बैंकमध्ये अन्तिम हो । ३१ बाणिज्य बैंकमध्ये पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकबाहेक अन्य सबैले आफ्नो सेयर स्वामित्व सर्वसाधरणमा बाँडेका छन् ।
दुई अर्ब चुक्ता पुँजी भएको बैंकमा आईपिओबाटै ९२ करोड रुपैयाँ (४६ प्रतिशत) जुटाउने सेञ्चुरी बैंक भने पहिलो हुनेछ । यसअघिका अधिकांश बैंकले सर्वसाधरणबाट ३० प्रतिशत मात्रै रकम उठाउँदै आएका थिए । अहिले भएका बाणिज्य बैंकमध्ये बैंक अफ काठमाण्डूको ५१ प्रतिशत सेयर स्वामित्व सर्वसाधरण सेयरधनीसँग छ ।
सेञ्चुरीको दमली बैंकका रुपमा रहेका जनता, मेगा, कमर्ज एण्ड ट्रष्ट र सिभिल बैंकले भने आइपिओबाट पुँजी जुटाइसकेका छन् । यी चारमध्ये तीन बैंकले यस वर्ष लगानीकर्तालाई प्रतिफल दिने घोषणा समेत गरेका छन् । बैंकले चालु वर्षको पहिलो त्रैमासमा १२ अर्व ९३ करोड रुपैयाँ निक्षेप, नौ अर्व ९२ करोड रुपैयाँ कर्जा र साढे तीन करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले यो अवधिमा छ करोड ७३ लाख रुपैयाँ व्याज आम्दानी गरेको थियो ।   बैंकको हाल एक अर्ब आठ करोड चुक्ता पूँजी रहेको छ । बैंकले सर्वसाधारणमा सेयर जारी गरेपछि चुक्तापूँजी दुई अर्ब पुग्ने छ ।  बैंकले गत आर्थिक वर्षसम्म ११ अर्व ४० करोड रुपैयाँ निक्षेप, नौ अर्ब आठ करोड रुपैयाँ कर्जा र १० करोड १६ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 
काठमाडौंको पुतलीसडकस्थित प्रधान कार्यालयसहित ३१ शाखा, २० एटिएम र पाँच शाखारहित बैंकिङ्गबाट ग्राहकसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले कतार, यूएई, साउदी अरेविया, कुवेत, वहराईनबाट विप्रेषण भित्र्याउने कार्य गरेको छ । बैंकले सुन–चाँदी आयात गरी बिक्री समेत गरिरहेको छ भने कृषक, व्यापारी तथा उद्यमीलाई विभिन्न किसिमका लघु, साना, मझौला तथा ठूला कर्जा उपलब्ध गराउँदै आएको छ । बैंकमा ४१ हजारभन्दा बढी ग्राहकको निक्षेप खाता खोली सेवा लिइरहेको पनि बैंकले जानकारी दिएको छ ।
बैंकले आइपिओमा जानुअघि क्रेडिट रेटिङ्ग गराएको थियो । रेटिङ्गमा बैंकले उत्कृष्ट ग्रेडिङ्ग भने पाएको छैन् । सेञ्चुरी कमर्सियल बैंकको आइपीओले क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालबाट फोर प्लस रेटिङ पाएको छ । यसले आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको देखाउँछ । अंकित मूल्य एक सयका दरले ९२ लाख कित्ता सेयर निष्कासनको तयारीमा बैंक छ ।
बैंकको अम्दानीको स्रोतमा विविधिकरण नहुनु, कम निक्षेप, मुनाफा दर कम भएका कारण औसतभन्दा अधारभुत पक्ष कमजोर देखिएको इक्रा नेपालको रिपोर्टकार्डमा उल्लेख छ । लगानीमा राम्रो वृद्धि गर्न सकेको भए पनि बैंकको लगानीको आकार मध्यम रहेको इक्रा नेपालले उल्लेख गरेको छ । इक्राले व्यावसाय र प्रतिस्पर्धाको अवस्था, नयाँ योजना तीनको जोखिम र अवधारणा, वित्तीय अवस्था लगायतको आधारमा रेटिङ गर्नेगर्छ । यस्तो रेटिङ एकदेखी चारसम्मको स्तर निर्धारण गरिएको हुन्छ । इक्रा नेपालले आफुले गर्ने रेटिङ कम्पनीको सेयर मूल्य निर्धारण गर्न, सेयर किन्न वा बेच्न नसुझाउने उल्लेख गर्दै आएको छ ।
 

Tata
GBIME
Nepal Life