काठमाडौं । सेयर मुल्यका आधारमा पहिलो स्थानमा रहेको नबिल बैंकलाई एभरेष्ट बैंक लिमिटेडले उछिनेको छ । विहीबार भएको सेयर कारोबारको अन्तिम मुल्य अनुसार एभरेष्ट नबिल भन्दा माथि पुग्यो । नेपाल स्टक एक्सचेन्जमा अन्तिम मुल्य अनुसार एभरेष्टको सेयर मुल्य नबिलको भन्दा प्रतिकित्ता पाँच रुपैयाँ धेरैमा रोकियो ।
विहीबारको अन्तिम मुल्य एभरेष्टको प्रतिकित्ता दुई हजार दुई सय ७५ रुपैयाँ र नबिलको दुई हजार दुई सय ७० रुपैयाँ कायम रह्यो । एभरेष्टको मुल्य प्रतिकित्ता पाँच रुपैयाँ बढीमा कारोबार भएको हो । गत आर्थिक वर्षसम्म विवरण अनुसार नबिल सर्बाधिक बढी नाफा आर्जन गर्ने निजीक्षेत्रको बाणिज्य बैंक हो । गत फागुन अन्तिम साता देखि नबिल बैंकले स्टाण्डर्ड चार्टर्ड बैंकलाई सेयर मुल्यमा पछि पारेको थियो । नविलको अग्रस्थान साढे नौ महिना कायम रह्यो । अहिले स्ट्याण्डर्ड चार्टर्ड बैंक तेस्रो स्थानमा छ । यो बैंकको सेयर मुल्य प्रतिकित्ता दुई हजार एक सय दुई रुपैयाँ छ । यी तीन वटा बैंकको सेयर मुल्यमा एक सय ७३ रुपैयाँको मात्रै अन्तर छ । यस वर्ष बैंकहरुको तुलनामा इन्स्योरेन्स र जलविद्युत समूहको सेयर मुल्य बढी छ ।
अन्य बैंक तथा वित्तीय सस्थाका तुलनामा यी तीन वटा बैंकको लाभांस उच्च छ । गत आर्थिक वर्षको नाफाबाट नबिलले सबैभन्दा धेरै ६५ प्रतिसत ( २५ प्रतिसत बोनस सेयर र ४० प्रतिसत नगद लाभांस) दिने प्रस्ताव गरेको छ भने एभरेष्टले १० प्रतिसत बोनस सेयर र ५०.५३ प्रतिसत नगद लाभांस दिइसकेको छ । त्यस्तै स्ट्याण्डर्ड चार्टर्डले पनि १० प्रतिसत बोनस सेयर र ४० प्रतिसत नगद दिएको छ । एभरेष्टको चुक्ता पुजी थोरै रहेकोले चालु आर्थिक वर्षको नाफाबाट पनि बोनस पाउने आशामा लगानीकर्ता यो बैंक प्रति आकर्षित हुदा सेयर मुल्य बढेको हो । आइतबारको कारोबारमा एभरेष्टको सेयर मुल्य प्रतिकित्ता २५ रुपैयाँ र नबिलको १२ रुपैयाँका दरले बढ्यो ।










