चिलिमेका कारण रसुवाका छ हजार परिवार तीन वर्षमा यसरी बने लखपती, लखपती बन्दाको पूरै रामकहानी

बिजमाण्डू
२०७० पुष १४ गते ००:०० | Dec 29, 2013
चिलिमेका कारण रसुवाका छ हजार परिवार तीन वर्षमा यसरी बने लखपती, लखपती बन्दाको पूरै रामकहानी
ओमबहादुर थापा/बिजमाण्डू
काठमाण्डौं । एउटा जलविद्युत आयोजनाले एउटा जिल्लालाई कति फरक पार्छ ? टाढा जानु पर्दैन्, सय/दुई सय मेगावाटको परियोजना पनि खोज्नुपर्दैन् । काठमाडौंबाट उत्तर लागेपछि तीन घण्टामा पुगिने रसुवा जिल्ला गए पुग्छ, त्यहाँको चिलिमे जलविद्युत आयोजना हेरे पुग्छ । २२ मेगावाटको यो आयोजनाले रसुवावासीलाई तीन वर्ष अघि दश प्रतिशत सेयर वितरण गरेको थियो ।
रसुवाका ३० हजार स्थानीयसँग चिलिमेको सेयर छ । कम्पनीले तीन वर्ष अघि सेयर वितरण गर्दा औषतमा
एक जनाले ७० कित्ता सेयर पाएका थिए, चिलिमेका प्रवन्ध निर्देशक कुलमान घिसिङ्गले भने । रसुवामा एउटा परिवारमा औषतमा पाँच सदस्य छन्, पाँच जनाले साढे तीन सय कित्ता सेयर पाएका थिए । त्यसका लागि उनीहरुले ३५ हजार रुपैयाँ खर्च गरे । अहिले एउट परिवारसँग औषतमा ८२८ कित्ता सेयर छ । 
रसुवावासीको सेयरमा कम्पनीले लगाएको लकिङ्ग पिरियड माघ १० गते सकिंदैछ्, अहिलेको बजार मूल्यमा कम्पनीले दिएको बोनस सेयरलाई समेत जोडेर विक्री गर्दा एउटा परिवारको हातमा साढे १३ लाख रुपैयाँ हुनेछ । यो अवधिमा एउटा परिवारले चिलिमेबाट नगद मात्रै २६ हजार रुपैयाँ लाभांस पाइसकेका छन् । यसको अर्थ तीन वर्षमा ३० हजार स्थानीयवासिन्दासँग २२ लाख ७१ हजार कित्ता सेयर छ । यसको अहिलेको बजार मूल्य तीन अर्ब ६२ करोड रुपैयाँ पुग्छ ।
कम्पनीले स्थानिय बासिन्दाको लागि जारी गरेको नौं लाख ६० हजार कित्ता सेयरको लकिङ पिरियड माघ १० गते सकिदैछ । त्यसपछि, उनीहरुले आफ्नो नाममा भएको सेयर बेच्न पाउने छन । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०६५ ले स्थानीय बासिन्दामा जारी भएको सेयर तीन बर्षसम्म बिक्री गर्न नपाउने गरि लकिङ पिरियड तोकेको छ । 
चिलिमेको सेयर बिक्री प्रबन्धक तथा रजिष्ट्रार नागरिक लगानी कोषका वित्त विश्लेषक नारायण घिमिरेका अनुसार त्यतिखेर जिल्लाका झण्डै ३० हजार आवेदकले करीब ४० देखि ८० कित्तासम्म सेयर पाएका थिए । चिलिमेले प्रभावित क्षेत्र चिलिमे, स्याफ्रु र गोल्याङ गाविसका बासिन्दाका लागि एक सय अंकित मूल्यको आधारमा एक लाख ८० कित्ता सेयर र प्रिमियम मूल्यसहित तीन सय २४ रुपैयाँमा एक लाख ५६ हजार कित्ता सेयर बाँडेको थियो । अन्य १५ गाविसका बासिन्दालाई पनि छ लाख २४ हजार कित्ता सेयर पाएका थिए ।
सन् २००३ मा स्थापना भएको चिलिमेले सन् २०१० अन्त्यमा स्थानीयका लागि सेयर जारी गरेको हो । सेयर किन्न नसक्ने विपन्न समुदायलाई मेगा र जनता बैंकमार्फत् लगानी गर्न कर्जा समेत उपलब्ध गराइएको थियो । यदी त्यतिखेर कुनै स्थानियले एक सय रुपैयाँमा ८० कित्ता सेयर पाएको थियो भने उसले त्यो सेयरको लागि (अंकित मूल्य एक सय रहेको सेयर) आठ हजार लगानी गर्छ । पहिलो बर्ष कम्पनीले ४० प्रतिशत बोनस सेयर दिएको थियो । 
अब त्यो ८० कित्ता हुने व्यक्तिसंग अब एक सय १२ कित्ता सेयर पुग्नेछ । त्यस्तै, दोस्रो बर्ष कम्पनीले ३० प्रतिशत बोनस सेयर दियो । यो बोनस सेयर समेत गर्दा उसको एक सय ४५ कित्ता सेयर हुन पुग्छ । तेस्रो बर्ष पनि कम्पनीले ३० प्रतिशत बोनस सेयर दियो यो समेत जोड्दा सुरुमा ८० कित्ता सेयर हुनेको हातमा अहिले एक सय ८९ कित्ता सेयर छ । 
गत बिहीवार सेयर बजारमा कम्पनीको सेयर मूल्य एक हजार पाँच सय ९५ रुपैयाँ थियो । यो मूल्यलाई आधार लिने हो भने स्थानियसंग रहने एक सय ८९ कित्ता सेयरको मूल्य तीन लाख एक हजार रुपैयाँभन्दा बढि हुन्छ । कम्पनीले यो तीन बर्षमा पहिलो बर्ष ३० प्रतिशत, दोस्रो बर्ष २० प्रतिशत र तेस्रो बर्ष १० प्रतिशत नगद लाभांश समेत दिएको छ । उदारणमा भनेझै त्यो ८० कित्ता सेयर पाउनेले तीन बर्षको अवधिमा छ हजार ९६ रुपैयाँ नगद लाभांश समेत पाइसकेको छ । 
जलविद्युत् कम्पनी स्थापना भएपछि स्थनीयले पाएको लाभ यतिमा मात्र सकिदैन । चिलिमेले स्थानीयस्तरमा बास्केट फण्ड बनाएर बिकास निर्माण लगायतमा बार्षिक २५ लाख रुपैयाँको सहयोग गरिरहेको छ । कम्पनीले आर्थिक बर्ष २०६५/६६ मा यस्तो फण्ड मार्फत् बार्षिक १५ लाख रुपैयाँ सहयोग गर्दै आएको थियो ।
यो रकम चिलिमे जलविद्युत् सरोकार समिति मार्फत् बिद्युत्, खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगारी, सडक निर्माण लगायतका बिविध क्षेत्रमा खर्च हुँदै आएको छ । आफ्ना जलविद्युत् आयोजना निर्माणको क्रममा कम्पनीले आयोजनास्थलसम्म बाटो, पुल निर्माण लगायतका बिकासे काम पनि गरेको छ, यसले स्थानिय स्तरमा पुर्वाधार निर्माण पनि भैरहेका छन् । त्यसैगरी यी आयोजनामा रोजगारी समेत सिर्जना भएको छ । 
रसुवा जिल्लामा नै सञ्चालनमा ल्याउने गरि चिलिमेले सहायक कम्पनीमार्फत् तीन आयोजना निर्माण अगाडी बढाएको छ । आफ्नो सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेड मार्फत् ४२.५ मेगावाट क्षमताको साञ्जेन हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट र १४.८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट निर्माणको तयारी गरिरहेको छ । सन् २०१५ सम्ममा सक्ने उद्देश्य लिइएको यी योजनामा समेत प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत सेयर दिइनेछ । 
त्यस्तै, रसुवामा नै एक सय ११ मेघावाट क्षमताको रसुवागढि हाइड्रोइलेक्ट्रिक प्रोजेक्टको निर्माणको समेत चिलिमेको तयारी छ । सन् २०१६ सम्ममा सक्ने उद्देश्य लिइएको यो योजनामा समेत प्रभावित क्षेत्रका बासिन्दाको लागि १० प्रतिशत सेयर दिइने भएको छ । चिलिमेले सिन्धुपाल्चोक जिल्लामा मध्य भोटेकोशी जलबिद्युत् आयोजना समेत निर्माण सुरु गरिसकेको छ । त्यहाँ सिन्धुपाल्चोकका स्थानीय प्रभावित बासिन्दाले पनि आयोजनाको १० प्रतिशत सेयर पाउने छन । 
तर बिगतमा जलविद्युत् कम्पनीहरुले स्थानिय बासिन्दाको लागि सेयर छुट्याउने चलन थिएन । जलस्रोत जानकार रत्नसंसार श्रेष्ठ भन्छन, ‘अहिले पनि कतिपय साहु मानसिकताका ठुला लगानीकर्ता स्थानीयलाई १० प्रतिशत पनि सेयर दिन हुदैन भन्ने ठान्छन ।’ चिलिमे जलविद्युत्मा भने स्थानियलाई छुट्याइएको सेयर बिक्री हुन्छ हुँदैन भन्ने डर त्यतिखेर रहेको उनी बताउँछन । श्रेष्ठ त्यतिवेला चिलिमेको प्यारेन्ट कम्पनी नेपाल बिद्युत् प्राधिकरणको सञ्चालक थिए । चिलिमेमा प्राधिकरणको ५१ प्रतिशत सेयर स्वामित्व छ ।
तर सेयर वितरणका अन्तिम दिनतिर भीड यसरी उर्लियो, स्थानीयवासिन्दालाई थेग्न समेत गाह«ो भयो, चिलिमेका प्रवन्ध निर्देशक घिसिङ्ग भन्छन्, तीन वटा केन्द्र बनाएर सेयर वितरण गरियो, कतिपय अभिभावकले भर्खर भर्खर जन्मेका चिचिलाका नाममा समेत सेयर लिन आवेदन गरे । चिलिमेमा स्थानीयवासिन्दाका ३१ हजार आवेदन आएका थिए । केन्द्रिय तथ्यांक विभागको जनगणनासम्वन्धी पछिल्लो प्रतिवेदनअनुसार रसुवाका १८ गाविसमा ४३ हजार जनसंख्या छ । यसको अर्थ चिलिमेको सेयरका कारण त्यहाँको ६८ प्रतिशत जनसंख्या तीन वर्षमै लखपती बनेको छ ।  
अहिले हाइड्रोपावर प्रोमसन एण्ड पब्लिक कन्सर्न कमिटिले स्थानियका लागि कम्तिमा २० प्रतिशत सेयर छुट्याउन निर्देशन दिन सरकारलाई आग्रह गर्दै आएको छ । चिलिमेलाई पछ्याउँदै अहिले स्थानियलाई सेयर दिने क्रम जलविद्युत् कम्पनीमा बढेर गएको छ । केही महिना अघि मात्र रिडि हाइड्रोपावर र सानिमा माई हाइड्रोपावर कम्पनीले स्थानीयवासिन्दालाई सेयर जारी गरिसकेका छन् ।  नेपाल धितोपत्र बोर्डमा अहिले माथिल्लो तामाकोशी र बरुण हाइड्रोपावर कम्पनी स्थानीयवासिन्दाका लागि सेयर निष्कासन अनुमतिको प्रक्रियामा छन् । तर सबै जलविद्युत् कम्पनी चिलिमे जस्तै हुन सक्छन् भन्ने हुँदैन् । यसको उदाहरण नेशनल हाइड्रेपावर कम्पनीलाई लिन सकिन्छ । 
 

Tata
GBIME
Nepal Life