आयो वाणिज्य बैंकमध्येको अन्तिम आइपीओ, सेञ्चुरीले ९२ लाख कित्ता सेयर जारी गर्दै, पुस २५ बाट

बिजमाण्डू
२०७० पुष १८ गते ००:०० | Jan 2, 2014
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले पुस २५ गतेबाट ९२ लाख कित्ता सेयर जारी गर्दैछ । सञ्चालनमा रहेका ३१ वणिज्य बैंकमध्ये सेञ्चुरी आइपिओ (प्राथमिक सेयर निष्कासन) जारी गर्न बाँकी रहेको एक मात्र बैंक हो । कृषि बिकास बैंकपछि वाणिज्य बैंकहरुबाट हालसम्मकै ठुलो परिमाणमा आइपिओ जारी हुन लागेको हो । अब पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बाणिज्य बैंक मात्रै आईपिओमा जान बाँकी छ । 
छिटोमा पुस २९ गते र ढिलोमा माघ ९ गतेसम्म खुल्ने बैंकको प्राथमिक निष्कासनमा न्युनतम ५० कित्तादेखि अधिकत्तम १० लाख कित्तासम्मको लागि आवेदन दिन सकिन्छ । जारी गर्न लागेको कुल सेयरमध्ये चार लाख ६० हजार कित्ता सेयर सामूहिक लगानी कोष र चार लाख ६० हजार कित्ता बैंकले आफ्ना कर्मचारीलाई छुट्याइएको छ । 
सामूहिक लगानी कोषलाई छुट्याइएको सेयर नागरिक एकांक योजना, नबिल ब्यालेन्स फण्ड १ र सिद्धार्थ लगानी वृद्धि योजना १ लाई बाँडफाँड गरिसकिएको छ । अब सर्वसाधारण लगानीकर्तामा भने आठ लाख २४ हजार कित्ता सेयर निष्कासन हुनेछ ।  
बैंकको सेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ भने सह निष्कासकमा नबिल इनभेष्टमेन्ट बैंकिङ्ग, सिभिल क्यापिटल, ग्रामोर मर्चेन्ट, एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेड छन् । बैंकले बिभिन्न जिल्लामा रहेको आफ्नो ३१ वटा शाखा र बिक्री प्रबन्धक लगायत अन्य १३ कम्पनीहरुबाट सेयर बिक्रीको प्रबन्ध मिलाएको छ । 
बैंकको सेयर निष्कासनपछि चुक्तापूँजी दुई अर्ब रुपैयाँ पुग्ने छ । तर बैंकमा लगानी गर्नेले आर्थिक बर्ष २०७२/७३ सम्ममा बोनस तथा हकप्रद सेयर पाउने सम्भावना देखिदैन । बैंकको आवहान पत्रमा दिएको वित्तीय विवरणमा यो अवधिसम्म चुक्तापूँजीमा कुनै फेरबदल नहुने उल्लेख छ । बैंकको आव २०६९/७० मा चुक्तापूँजी एक अर्ब आठ करोड छ भने सञ्चित कोषमा १३ करोड ८६ लाख रुपैयाँ छ ।
बैंकको आइपीओमा हाल लगानी गर्नेले आर्थिक वर्ष २०६९/७० सम्मको नाफाको आधारमा तीन प्रतिशत नगद लाभांश पाउन सक्ने देखिन्छ । त्यस्तै, यदी बैंकले आर्थिक वर्ष २०७०/७१ समाप्त भएपछि नगद लाभांस दियो भने लगानीकर्ताले करीब ९.७४ प्रतिशत नगद पाउन सक्छन । 
यो दरमा लाभांश पाउन भने बैंकले आर्थिक वर्ष २०७०/७१ मा प्रक्षेपण गरे अनुसारकै नाफा कमाउन सक्नु पर्छ । बैंकले चालु आर्थिक वर्ष २०७०/७१ मा १६ करोड ८१ लाख रुपैयाँ नाफा हुने प्रक्षेपण गरेको छ । बार्षिक रुपमा नाफाबाट बैंकले २० प्रतिशत रकम सञ्चित कोषमा राखेपछि बाँकि रकम लाभांशको रुपमा बाँड्न पाउछन । बैंक सञ्चालनको पहिलो बर्ष ८२ लाख ४४ हजार रुपैयाँ, दोस्रो बर्ष नौं लाख २२ हजार रुपैयाँ र तेस्रो बर्ष छ करोड ६३ लाख रुपैयाँ नाफामा थियो ।  आर्थिक बर्ष २०६९,७० मा  बैंकले छ करोड ९४ हजार रुपैयाँ सम्भावित नोक्सानवापत व्यवस्था गरेको छ । बैंकको ३० करोड ८३ लाख व्याज आम्दानी रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी छ रुपैयाँ १५ पैसा, प्रतिसेयर नेटवर्थ एक सय १२ रुपैयाँ रहेको छ । बैंकले पहिलो बर्ष प्रति सेयर आम्दानी आठ रुपैयाँ ८१ पैसा र प्रति सेयर नेटवर्थ एक सय पाँच रुपैयाँ हुने प्रक्षेपण गरेको छ । 
बैंकमा ५० हजार कित्ता सेयर स्वामित्व रहेका प्रफल्ल कुमार काफ्ले, ७५ हजार कित्ता सेयर रहेका लक्ष्मण कुमार श्रेष्ठ र एक लाख ४५ हजार कित्ता सेयर रहेका रवि केसी सञ्चालक समितिमा छन् । बिभिन्न बैंकमा सञ्चालक रहेका, व्यापारमा लागेका व्यक्तिहरु सञ्चालकमा छन् ।
सेञ्चुरी कमर्सियल बैंकको आइपीओले क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालबाट फोर प्लस रेटिङ पाएको थियो । यसले आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको देखाउँछ । बैंकको अम्दानीको स्रोतमा विविधिकरण नहुनु, कम निक्षेप, मुनाफा दर कम भएका कारण औसतभन्दा अधारभुत पक्ष कमजोर देखिएको इक्रा नेपालको रिपोर्टकार्डमा उल्लेख छ । लगानीमा राम्रो वृद्धि गर्न सकेको भए पनि बैंकको लगानीको आकार मध्यम रहेको इक्रा नेपालले उल्लेख गरेको छ । इक्राले व्यावसाय र प्रतिस्पर्धाको अवस्था, नयाँ योजना तीनको जोखिम र अवधारणा, वित्तीय अवस्था लगायतको आधारमा रेटिङ गर्नेगर्छ । यस्तो रेटिङ एकदेखी चारसम्मको स्तर निर्धारण गरिएको हुन्छ । इक्रा नेपालले आफुले गर्ने रेटिङ कम्पनीको सेयर मूल्य निर्धारण गर्न, सेयर किन्न वा बेच्न नसुझाउने उल्लेख गर्दै आएको छ ।
 

Tata
GBIME
Nepal Life