बजारबाट नेपाल बैंकको सेयर उठाउँदै रविभक्त, निर्मल प्रधान र अग्रवाल समूह, लक्ष्य सञ्चालक

बिजमाण्डू
२०७० पुष २२ गते ००:०० | Jan 6, 2014
काठमाडौं । सन् २००२ देखि सञ्चालक समिति बिहीन नेपाल बैंकमा रविभक्त श्रेष्ठ, निर्मल प्रधान र नितेश अग्रवाल संलग्न समूहको चासो बढाएको छ । वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्र्तगत विश्व बैंकको प्राविधिक टोलीले बैंकको व्यवस्थापन लिएसंगै नेपाल बैंक लगानीकर्ताको तर्फबाट सञ्चालक समितिविहिन छ ।  
बैंकको सेयरमा लगानी गरेर केही बर्षसम्म बैंकबाट प्रतिफल नआउने भए पनि कारोबार वृद्धि हुनुमा मूख्यतया ठुला लगानीकर्ताको लक्ष्य सञ्चालक बन्नु पनि एक हो । सञ्चित नोक्सानमा रहेकोले बैंकले अहिलेकै अवस्थामा केही बर्ष नगद लाभांश दिने सम्भावना छैन । बासेल थ्री लागु भएसगै राष्ट्र बैंकले वाणिज्य बैंकलाई चुक्तापूँजी वृद्धि गर्न लगाउने सम्भावना छ । 
वाणिज्य बैंकहरुले चुक्तापूँजी पाँच अर्ब पुर्याउनु पर्ने वा नपर्ने बिषयमा पनि छलफल भइरहेको छ । तर चुक्तापूँजी वृद्धि गर्नुपर्ने भए पनि बैंक सञ्चित नोक्सानमा रहेकोले बोनस सेयर दिने सम्भावना समेत छैन । 
तर सूचिकृत भएपछि र हकप्रद वितरणपछि पनि बैंकको सेयर कारोबार भने अत्याधिक बढको छ । गत पुस १ गते यता मात्रै बैंकको ४५ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । योमध्ये अधिकाश कारोबारमा रविभक्त्त श्रेष्ठ संलग्न शिवविक्रम ल्याण्ड एण्ड इन्डष्ट्रि नामक कम्पनी संलग्न देखिन्छ । 
स्रोतहरुका अनुसार यो दुई साताको अवधिमा शिव विक्रम कम्पनीबाट मात्रै ५०÷६० हजार भन्दा धेरै कित्ता सेयर विक्री भएको छ । विक्री भएको यो सेयर  रविभक्त श्रेष्ठ संलग्न अन्य कम्पनी तथा उनी आफैको नाममा सारिएको छ । 
अहिले बजारमा मूख्य गरेर प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी र आइ क्यापिटल नामको कम्पनी सेयर किन्न सक्रिय छन् । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी नितेशकुमार अग्रवाल तथा अग्रवाल समूहको लगानी रहेको कम्पनी हो । कम्पनीले बजारबाट पाँच, छ हजार कित्ताको दरमा सेयर खरीद गरिरहेको छ । असोजको पहिलो साता कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको आइ क्यापिटल कम्पनीले पनि सोही दरमा लगानी बढाइरहेको छ । 
निर्मल प्रधान आफूले कम्पनीको सेयर खरीद बढाई रहेको भने नर्कादैनन् । तर लगानीकर्ताको समूहबाट सञ्चालक समिति गठन नभएकोमा भने उनले आक्रोश पोखेका छन । प्रधानले प्रश्न गरे, ‘६२ प्रतिशत लगानी सर्वसाधारणको भएपछि पनि बैंक किन सञ्चालक समितिलाई हस्तान्तरण गरिएको छैन ?’ नेपाल राष्ट्र बैंकले पुस अन्त्यसम्ममा बैंक सेयर लगानीकर्तालाई हस्तान्तरण गरिने यसअघि बताउँदै आएको थियो ।  
निर्मल प्रधानले यो एक महिनाको अवधिमा आफ्नो नाममा भने बजारबाट ठूलोठूलो परिमाणमा सेयर उठाइरहेको देखिदैन । उनले यो अवधिमा बजारबाट केही पटक पाँच, छ हजार कित्ताको दरमा सेयर खरिद गरेका छन् । तर प्रधानले नेपाल बैंकले हकप्रद सेयर दिनु अघि र असोजको दोस्रो साता बैंकको बोलकबोलबाट भएको सेयर बिक्रीको क्रममा सेयर उठाएका थिए । बैंकको बोलकबोलबाट भएको सेयर बिक्रीमा प्रधानले १२÷१३ हजार कित्ता सेयर किनेको बुझिएको छ । 
आर्थिक वर्ष २०६८÷६९ मा  कम्पनीमा छ प्रतिशत सेयर स्वामित्व रहेको राजेन्द्र खेतानले पनि आफ्नो पकड बैंकबाट छाडेका छैनन् । लक्ष्मि बैंकमा समेत आफ्नो बहुमत सेयर रहेका खेतानले नेपाल बैंकमा करीब एक प्रतिशत सेयर आफ्नो नाममा राखेका छन् । बाँकी पाँच प्रतिशत सेयर बैंकले हकप्रद सेयर जारी गर्नु अगावै आफ्नै नातेदार संलग्न कम्पनीमा नामसारी गरेका थिए । हालै एभरेष्ट इन्स्योरेन्समा भएको अनियमिततामा मुछिएका राजेन्द्र खेतान अहिले सञ्चालकको दौडमा भने छैनन् ।  
अहिले बजारमा एक हजार कित्ताभन्दा बढि सेयर खरीद गर्ने व्यक्तिहरुको संख्या पनि कम छैन् । तर पनि यी व्यक्तिहरु बजारमा परिचित अनुहार भने होइनन  । नेपाल बैंकको यो वर्षको पहिलो त्रैमासमा मुनाफा २४ प्रतिशतले घटेर दुई करोड ११ लाखमा सिमित भएको छ । नेपाल बैंकको खुद व्याज आम्दानी साढे दुई प्रतिशतले र खर्च तथा प्रोभिजनिङ बढेपछि नाफा बढ्न सकेको छैन् । 
बैंकको ४३ करोड खुद व्याज आम्दानी गरेको छ । बैंकले अघिल्लो पटकभन्दा दुई करोड रुपैयाँ बढि रकम थपेर छ करोड ५२ लाख रुपेयाँ प्रोभिजनिङको रुपमा छुट्याएको छ । बैंकको कर्मचारी खर्च र अन्य खर्च पनि बढेको देखिन्छ । बैंक चार करोड ७५ लाख रुपैयाँ सञ्चालन नोक्सानमा रहेको भए पनि यसअघि खराब कर्जा बापत छुट्याएको चार करोड ६९ लाख रकम फिर्ता गरेपछि नाफा दुई करोड नाघेको हो । 
बैंकले बिदेशी मुद्राको बिनिमयबाट पनि पाँच करोड ८६ लाख आम्दानी गरेको छ । बैंकको निक्षेप १२ प्रतिशतले बढाएर ६३ अर्ब रुपैयाँ  र कर्जा २४ प्रतिशतले बढाएर ३७ अर्ब पु¥याएको छ । 
 

Tata
GBIME
Nepal Life