प्रिमियर र नेकोको स्वाप रेसियो तय, नेकोको सय कित्ता, प्रिमियरको सय कित्तालाई १३१.५ कित्ता सेयर



बिजमाण्डू
२०७० पुष ३० गते ००:०० | Jan 14, 2014
काठमाडौं । मर्जर प्रक्रियामा रहेका प्रमियर इन्स्योरेन्स र नेको इन्स्योरेन्स कम्पनीको सेयर स्वाप रेसीयो तय भएको छ । हाल प्रमियरमा एक सय कित्ता सेयर हुने लगानीकर्ताले मर्जर पछि बन्ने प्रिमियर नेको इन्स्योरेन्स कम्पनीको १३१.५ कित्ता सेयर पाउने छन् । त्यस्तै, नेको कम्पनीमा हाल एक सय कित्ता सेयर हुने लगानीकर्ताले भने प्रिमियर नेको कम्पनीको पनि एक सय कित्ता नै सेयर पाउने छन् । 
दुई कम्पनीको सम्पत्ती तथा दायित्व मूल्यांकनको आधारमा स्वाप रेसियो तयार गरिएको हो । यो स्वाप रेसियो पछि बन्ने प्रिमियर नेको कम्पनीको चुक्ता पूँजी २८ करोड ९४ लाख ७१ हजार रुपैयाँ पुग्नेछ । हाल प्रिमियरको चुक्तापूँजी ११ करोड ७३ लाख र नेकोको १३ करोड ५२ लाख रुपैयाँ छ । प्रिमियर नेको इन्स्योरेन्स कम्पनीको अधिकृत पूँजी ५० करोड रुपैयाँ र जारी पूँजी ३० करोड रुपैयाँ हुने भएको छ । मर्जर पछि कम्पनीको मूख्य कार्यालय सहित २० ओटा शाखा र दुई उपशाखा हुनेछन् । 
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रिमियर इन्स्योरेन्सले ८० लाख नाफा कमाएको थियो । कम्पनीले यो अवधिमा जारी गरेको बीमा लेख संख्या छ हजार दुई सय ९२ छ । कम्पनीको प्रतिसेयर आम्दानी ६.८६ रुपैयाँ रहेको छ । त्यस्तै, नेको इन्स्योरेन्सले चालु आवको पहिलो त्रैमासमा ७४ लाख २२ हजार नाफा कमाएको थियो । कम्पनीले यो अवधिमा १० हजार चार सय २२ बीमालेख जारी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५.४९ रुपैयाँ रहेको छ । 
हाल प्रिमियर इन्स्योरेन्सको प्रमूख कार्यकारी अधिकृतमा सुद्युम्न प्रसाद उपाध्याय छन् भने नेको इन्स्योरेन्सको कार्यवाहक प्रमूख कार्यकारी अधिकृतमा विश्व तिमिला छन् । नयाँ बन्ने इन्सुरेन्सको नेतृत्व पनि उपाध्यायले नै गर्नेछन् । दुवै कम्पनीले मर्ज प्रस्ताव र नयाँ चुक्ता पुँजी अनुमोदन गर्न साधरणसभा बोलाएका छन् । 
प्रिमियरले माघ २० गते साधरणसभा गर्दै छ भने नेको इन्सुरेन्सले माघ २१ गते साधरणसभा गर्दैछ । नेपालको बीमा इतिहासमा दुई कम्पनीवीच मर्ज हुन लागेको यो पहिलो अवसर हो । बीमा समितिले गतवर्ष बीमा कम्पनीलाई गतवर्ष चुक्ता पुँजी बढाउन निर्देशन दिएको थियो । बीमा समितिले तोकेको २५ करोड चुक्ता पुँजी पुर्याउन नसकेका नेको र प्रिमियरले मर्जको विकल्प रोजेका हुन् । यी दुई कम्पनीले फागुनसम्म मर्ज प्रक्रिया टुङ्गयाउने गरी काम गरिरहेका छन् । 
 

Tata
GBIME
Nepal Life