स्टकमा थपियो जलविद्युत कम्पनी, सानिमा माईको सेयर सूचीकरण, १०१ देखि ३०३ रुपैयाँको व्याण्ड

बिजमाण्डू
२०७० पुष ३० गते ००:०० | Jan 14, 2014
काठमाडौं । सानिमा माईको एक करोड पाँच लाख ५० हजार कित्ता (एक अर्ब पाँच करोड रुपैयाँको सेयर) सूचिकरण भएको छ । नेपाल स्टकमा सूचिकरण भएको सानिमा माई पाँचौं जलविद्युत कम्पनी हो । यसअघि चिलिमे जलविद्युत, बुटवल पावर, अरुणभ्याली र नेशनल हाइड्रो गरी चार कम्पनी सूचिकृत भएका थिए ।
सानिमा माईका लागि नेपाल स्टकले पहिलो कारोवार गर्न 
 एक सय एक देखि तीन सय तीन रुपैयाँसम्मको व्याण्ड दिएको छ । अर्थात  सानिमा माईको पहिलो कारोवार यही रेञ्जभित्र हुनेछ । कम्पनीको सेयर सूचीकृत भएको सात दिनमा अर्थात् आगामी  बुधवार कारोबारमा आउने छ । 
कम्पनीले गत बैसाख अन्त्यमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि १० लाख ५५ हजार कित्ता सेयर र गत भदौंमा सर्वसाधारणको लागि २१ लाख कित्ता सेयर जारी गरेको थियो । प्रत्यक्ष प्रभावित क्षेत्रका दुई हजार १४ जनालाई पाँच लाख ५७ हजार ६० कित्ता सेयर बाँडफाँड गरिएको थियो भने जिल्लाका अन्य एक हजार आठ सय ४७ जनालाई चार लाख ९७ हजार नौं सय ४० कित्ता सेयर बाँडफाँट गरिएको थियो । 
सर्वसाधारणको लागि जारी भएको सेयरमा भने ३१ गुणा बढि आवेदन परेको थियो । प्रभावित क्षेत्रका बासिन्दाले भने तीन बर्षसम्म आफ्नो स्वामित्वको सेयर बिक्री गर्न पाउँदैनन् । सर्वसाधारण र प्रभावित क्षेत्रका बासिन्दा सबैको लागि अंकित मूल्य एक सयमा नै सेयर बिक्री गरिएको थियो ।  सर्वसाधारणमा सेयर जारी गरेको मध्ये कम्पनीले ८४ हजार ४ सय कित्ता शेयर कर्मचारी र १ लाख ५ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि छुट्याएको थियो । कम्पनीले न्यूनतम ५० कित्ता देखि १ लाख कित्ता शेयरसम्मको लागि आवदेन दिन सक्ने व्यवस्था गरेको थियो ।
सानिमा माईले २२ मेगावाटको एउटा र सात मेगावाटको अर्को गरी २९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । २२ मेगावाटको पहिलो योजना सात माहिना पछि पूरा गर्ने योजना छ । सात मेगावाटको अर्को योजना भने सन् २०१५ को जुलाईमा पूरा गर्ने योजना छ ।
रनअफ रिभर प्रकृतीमा बनाइएको यो परियोजनामा सात मेगावाट क्यासकेड परियोजनाका रुपमा रहेको छ । दुवै परियोजना निर्माणका लागि चार अर्ब ३७ करोड रुपैयाँ लाग्ने योजना छ । त्यसमध्ये पहिलो परियोजना निर्माणका लागि तीन अर्ब १२ करोड रुपैयाँ खर्च हुनेछ । यो परियोजनाका लागि दुई अर्ब ३२ करोड रुपैयाँ ऋण लिइएको छ । परियोजनामा प्रवद्र्धकले ७३ करोड ८५ लाख रुपैयाँ लगानी गरेका छन् । 
कम्पनीको आवह्वान पत्र अनुसार कम्पनीले आव २०७१/७२ बाट विद्युत् विक्री गर्न सक्ने र सो बर्ष ४७ करोड ११ लाख रकमको विद्युत बिक्री गर्न सक्ने प्रक्षेपण गरेको  थियो । कम्पनीले आव २०७२/७३ मा १२ करोड ७ लाख खुद मुनाफा गर्न सक्ने प्रक्षेपण पनि आवह्वान पत्रमा गरेको थियो । कम्पनीको प्रति शेयर आम्दानी २०७२/७३ बाट धनात्मक हुने र एघार दशमलव ४५ रहने प्रक्षेपण थियो । उक्त आवमा प्रति शेयर नेटवर्थ १०१ रहने पत्रमा प्रक्षेपण गरेको थियो । 
कम्पनीको मुख्य संस्थापकमा सानिमा हाइड्रोपावर, जय गणेश इन्भेष्टमेन्ट कम्पनी, फण्ड फर हाइड्रो इन्भेष्टमेन्ट प्रालि, डा। उपेन्द्र महतो, जीवा लामिछाने लगायतका रहेका छन । कम्पनीले अर्को चरणमा १५ दशमलव ६ मेगावाट विद्युत् उत्पादन गर्ने माइ जलविद्युत् आयोजनाको निर्माण गर्ने लक्ष्य लिएको छ ।
 

Tata
GBIME
Nepal Life