काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्ना सेयर लगानीकर्तालाई १८ देखि २० प्रतिशतसम्म नगद लाभांस दिने भएको छ । वाह्यि लेखापरीक्षकले अनुमानित २० प्रतिशतसम्म लाभांस दिन सकिने बैंकलाई जानकारी गराइसकेको छ । केही दिनभित्रै आन्तरिक लेखापरीक्षकबाट अन्तिम प्रतिवेदन आएपछि बैंकले लाभांस घोषणा गर्ने छ ।
बैंकले सेयर निस्कासन गरेदेखि लाभांस वाँड्न सकेको छैन । बैंकले छ वर्षअघि आफ्ना ऋणीहरुलाई र तीन वर्षअघि सर्वसाधारणलाई सेयर जारी गरेको थियो । बैंकले गत बर्ष पाँच प्रतिशत लाभांस सिफारिस गरेपनि वाह्य लेखापरीक्षकको रिर्पोटिङका आधारमा राष्ट्र बैंकले लाभांस अस्वीकृत गरेको थियो । यो बैंकको साधारण सेयरमा लगानी गर्नेले हालसम्म लाभांस पाएका छैनन् ।
‘यसपाली उच्चतम लाभांस दिन्छौं, बढीभन्दा बढी लाभांस वितरण गर्ने हाम्रो प्रयास हुने छ,’ बैंकका प्रमुख कार्यकारी अधिकृत तेजवहादुर वुढाथोकीले भने, ‘अहिलेसम्म नपाएको गुनासो हट्ने गरी सेयरधनीलाई लाभांस दिन्छौं ।’ बैंकले वाह्य लेखापरीक्षकको अन्तिम प्रतिवेदन पर्खिएर बसेको छ । प्रतिवेदन आएपछि राष्ट्र बैंकसँग स्वीकृति लिने तयारी बैंकको छ ।
बैंकले लाभांस वढी दिने हल्लाका कारण नेपाल स्टक एक्सचेन्जमा पनि कृषि विकास बैंकको सेयर मूल्य निरन्तर बढिरहेको छ । गत मंसिर अन्तिमसाता प्रतिकित्ता तीन सय ९५ रुपैयाँ रहेको बैंकको सेयर मुल्य लाभांसको हल्ला चलेपछि क्रमशः वढ्दै हाल चार सय ९४ रुपैयाँ पुगिसकेको छ । बैंकले रणनीतिक साझेदार भित्राउनलाई पहल सुरु गरेकाले पनि मूल्यमा प्रभाव परेको हो ।
बैंकले गत आर्थिक बर्ष दुई अर्ब २५ करोड रुपैयाँ नाफा गरेको थियो । तीन बर्षअघि घाटामा रहेको बैंक ऋण मिनाहा वापत सरकारबाट तीन अर्ब ८६ करोड प्राप्त भएपछि नाफामा जान थालेको हो । सरकारले किसानको तीस हजार रुपैयाँसम्मको ऋण मिनाहा गरिदिएर त्यसवापतको रकम बैंकलाई उपलब्ध गराएको थियो । बैंकले बाणिज्य बैंकिङ गतिविधि मार्फत आम्दानीसमेत बढाएको छ ।
गत बर्ष बैंकले लक्ष्यको एक सय २३ प्रतिशतले बढाएर ६२ अर्ब ३९ करोड कर्जा लगानी गरेको थियो । बैंकले कर्जा लगानीबाट सात अर्ब ५४ करोड ब्याज असुली गरेको थियो । बैंकले विस्तारै गैरकोषमा आधारित आम्दानी पनि वढाउन थालेको छ ।
‘सेयर वितरणपछि लाभांस नदिएको तर नाफा बर्षेनी वढ्दै गएकाले सेयरधनीले पनि बैंकबाट ठूलो अपेक्षा गरेका छन्,’ वुढाथोकीले भने, ‘लगानीकर्ताको अपेक्षा पुरा हुने गरी लाभांस आउँछ । अलिहेलाई यत्ति वुझ्नुस् नाफाबाट एकमुष्ट लाभांस दिन्छौं ।’ उनले बैंकको लाभांस प्रत्येक बर्ष बृद्धि हुने दावी समेत गरे । बैंकले ‘खराब कर्जा हटाउ, सञ्चालन नाफा बढाउ’ नारासहित काम सुरु गरेकाले अपलेखन भएका कर्जासमेत उठाएर सेयरधनीलाई लाभांस वाँडिने जानकारी उनले दिए ।
बैंकले भोली (मंगलबार) स्थापनको ४७औं बर्ष प्रवेश गरेको उपलक्ष्यमा बार्षिकोत्सव कार्यक्रम पनि गर्दैछ । कार्यक्रममा रणनीतिक साझेदार भित्राएर बैंकलाई पुँजी, प्रीविधिमा देशकै ठूलो बैंक बनाउने उद्घोषसमेत गरिँदैछ । बैंकमा रहेको ५१ प्रतिशत सरकारी सेयरबाट ३० प्रतिशत रणनीतिक साझेदारलाई दिएर भित्राउने योजना बनाएको छ । यसका लागि संस्था छान्ने कार्य असोजभित्र सम्पन्न भइसक्छ ।










