फागुनमा स्थानीय र कर्मचारीलाई तामाकोसीको सेयर, सेयरको स्वीकृती माग्दै कम्पनी बोर्डमा

बिजमाण्डू
२०७० माघ ७ गते ००:०० | Jan 21, 2014
फागुनमा स्थानीय र कर्मचारीलाई तामाकोसीको सेयर, सेयरको स्वीकृती माग्दै कम्पनी बोर्डमा
काठमाडौं । माथिल्लो तामाकोसीले पहिलो चरणमा प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीका लागि तीन करोड ६९ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले धितोपत्र बोर्डमा विवरण पेश गरेको बोर्डका निर्देशक निरज गिरीले जानकारी दिए ।  गिरीले भने, ‘हामीले ढिलामा माघ अन्त्यसम्ममा कम्पनीले पेश गरेको विवरणलाई स्वीकृत दिन्छौं ।’ बोर्डले माघ भित्र सेयर निष्काशनको स्वीकृत दिए फागुनमा सेयर निष्काशनको तयारीमा माथिाल्लो तामाकोशी आयोजना छ । 
कम्पनीले कुल निष्कासन गर्न लागेकोमध्ये पहिलो चरणमा ३४ प्रतिशत अर्थात् तीन करोड ६० लाख छ हजार कित्ता सेयर प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीका लागि निष्कासन गर्न लागेको हो । 
बोर्डमा प्रस्तुत विवरणअनुसार कम्पनीले दोलखाबासीका लागि कुल निष्कासनको १० प्रतिशत अर्थात् एक करोड पाँच लाख ९० हजार कित्ता सेयर जारी गर्ने भएको हो । कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई १७.२८ प्रतिशत अर्थात एक करोड ८२ लाख ९९ हजार पाँच सय २० कित्ता सेयर निष्काशन गर्दैछ । 
त्यसैगरी  कोषका कर्मचारीलाई २.६६ प्रतिशत अर्थात् ३० लाख ३९ हजार नौं सय २० कित्ता छुट्याइएको छ । त्यस्तै, कम्पनीका आफ्ना कर्मचारी र नेपाल बिद्युत् प्राधिकरणका कर्मचारीलाई ३.८४ प्रतिशत अर्थात् ४० लाख ६६ हजार पाँच सय ६० कित्ता सेयर छुट्याइएको छ । बोर्डमा प्रस्तुत विवरण पत्रअनुसार यो निष्कासनमा प्रति सेयर अंकित मूल्य भने एक सय रुपैयाँ नै रहने छ । 
प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीलाई जारी गरिने यो सेयर दोस्रो बजारमा भने तीन बर्षपछि मात्र कारोबारमा आउन सक्छ । सर्वसाधारणका लागि भने कम्पनीले १५ प्रतिशत सेयर जारी गर्ने छ । यो सेयर अर्को आर्थिक वर्षमा मात्रै जारी गर्ने आयोजनाको तयारी छ । 
 २०७२ चैतमा आयोजना निर्माण सक्ने गरी काम सुरु गरिएको माथिल्लो तामाकोसीको क्षमता ४५६ मेगावाट छ । यो जलविद्युत आयोजनाले सेयर जारी गर्नकै लागि चौथो वार्षिक साधरणसभाबाट शेयर पुँजीमा समेत वृद्धि गरेको थियो  । ११ अर्ब अधिकृत पुँजी भएको माथिल्लो तामाकोसीको नयाँ पुँजी संरचनामा १० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पुँजी छ । 
तामाकोसीको संस्थापकका रुपमा नेपाल विद्युत प्राधिकरणसँग ४१ प्रतिशत सेयर रहने छ, नेपाल टेलिकमसँग ६ प्रतिशत, राष्ट्रिय बीमा संस्थान र नागरिक लगानी कोषसँग २÷२ प्रतिशत शेयर हुनेछ । नागरिक लगानी कोषले तामाकोसीमा दुई अर्ब रुपैयाँ, वीमा संस्थानले दुई अर्ब रुपैयाँ र नेपाल टेलिकमले छ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । 
दोलखालीलाई ५७ कित्ता
तामाकोसी जलविद्युत आयोजनको निर्माणस्थल दोलखामा पर्छ, यसै कारण कम्पनीले दोलखाका स्थानीयवासिन्दालाई कम्पनीको १० प्रतिशत अर्थात एक करोड पाँच लाख ९० हजार कित्ता सेयर छुट्टायाएको छ । २०६८ को जनगणना अनुसार दोलखामा एक लाख ८८ हजार जनसंख्या छ, यो आधारमा औषत निकाल्दा एक जना दोल्खालीको हातमा ५७ कित्ता सेयर पर्नेछ ।
सञ्चय कोषका कर्मचारी मालामाल
तामाकोसीको चौथो साधरणसभाले परियोजनामा कर्जा प्रवाह गरेका चार संस्थाका कर्मचारीका लागि २.८८ प्रतिशत शेयर हिस्सा छुट्टायाएको छ । यो शेयर हिस्सा तामाकोसीलाई कर्जा उपलब्ध गराएको अनुपातका आधारमा कर्मचारी सञ्चय कोष, बीमा संस्थान, टेलिकम र नागरिक लगानी कोषका कर्मचारीलाई विभाजन गरिनेछ । तामाकोसीले चार संस्थाबाट २२ अर्ब रुपैयाँ ऋण लिएको छ । त्यसमध्ये सञ्चय कोष एक्लैले १० अर्ब ऋण र दुई अर्ब डिवेञ्चर दिएको छ । यो आधारमा ऋण लगानी गर्ने चार संस्थाका लागि छुट्टाइएको २.८८ प्रतिशत सेयरको ५५ प्रतिशत (१६,७७,४५६ कित्ता)  हिस्सा सञ्चय कोषका कर्मचारीले पाउनेछन् ।
सञ्चयकोष र तामाकोसीवीच ऋण सम्झौता भएको २०६७ साउन १४ गते कोषमा ४८२ जना कर्मचारी थिए, यो आधारमा औषत निकाल्दा सञ्चयकोषका प्रत्येक कर्मचारीको हातमा तामाकोसीको तीन हजार ४८० कित्ता सेयर हुनेछ ।
नागरिक लगानी कोषले तामाकोसीमा दुई अर्ब ऋण लगानी गरेको छ । यो आधारमा लगानी कोषका कर्मचारीका लागि दुई लाख ७४ हजार ४९२ कित्ता छुट्टिएको छ । लगानी कोषसँग तामाकोसीले २०६७ मंसिर २१ मा ऋण सम्झौता गरेको थियो । सम्झौता हुँदा लगानी कोषमा १०८ कर्मचारी थिए । यो आधारमा लगानी कोषका कर्मचारीले औषतमा तामाकोसीको दुई हजार ५४२ कित्ता शेयर पाउने पक्का छ ।
वीमा समितिले तामाकोसीलाई दुई अर्ब ऋण दिएको छ, यसको अर्थ वीमा समितिका कर्मचारीका लागि पनि दुई लाख ७४ हजार ४९२ कित्ता सेयर छुट्टिनेछ । वीमा र तामाकोसीवीच २०६७ मंसिर २१ मा सम्झौता भएको हो । सम्झौता हुँदा बीमामा २४८ कर्मचारी थिए । बीमाका प्रत्येक कर्मचारीका लागि एक हजार १०६ कित्ता शेयर हात लाग्ने छ ।
विद्युत प्राधिकरणका कर्मचारीको तामाकोसीको शेयरबाट भने कायापलट नहुने भएको छ । प्राधिकरण र तामाकोसीका कर्मचारीका लागि चुक्ता पुँजीको जम्मा ३.८४ प्रतिशत (४०,६६,५६० कित्ता) सेयर छुट्टायाइएको छ । प्राधिकरणमा अहिले नौ हजार १४६ जना कर्मचारी छन् भने कम्पनीमा प्राधिकरणबाट काज गएका ६७ जना र स्थानीय ४७ जना कर्मचारी छन् । यसको अर्थ ४० लाख ६६ हजार ५६० कित्ता सेयर नौ हजार २ सय कर्मचारीलाई भागा लगाउँदा औषतमा प्रत्येकको खल्तीमा ४४२ कित्ता सेयर पर्ने छ ।

Tata
GBIME
Nepal Life

टेलिकमकालाई कति
नेपाल टेलिकमले तामाकोसीमा छ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ, यो आधारमा टेलिकमका कर्मचारीका लागि तामाकोसीको आठ लाख २३ हजार ४७८ कित्ता सेयर छुट्टाइएको छ । तर टेलिकममा कर्मचारीको ठूलो हिस्सा भएकाले औषतमा थोरै मात्र सेयर उनीहरुको हातमा पर्नेछ । ऋण सम्झौता हुँदा टेलिकममा पाँच हजार ६११ कर्मचारी थिए, उनीहरुलाई यो शेयर बाँड्दा औषतमा एक कर्मचारीको भागमा १४७ कित्ता पर्नेछ ।
तामाकोसीको सबैभन्दा थोरै सेयर सञ्चयकर्ताको हातमा हुनेछ । सञ्चय कोषमामा अहिले ८९ हजार निजामती, ९५ हजार नेपाली सेना, ८१ हजार शसस्त्र र नेपाल प्रहरी, ९७ हजार संस्थान, सांगठनिक क्षेत्रका कामदार र ८८ हजार सामुदायिक र संस्थागत शिक्षक कोषका सञ्चयकर्ता छन् । कोषका सञ्चयकर्ताका लागि तामाकोसीको १७.२८ प्रतिशत अर्थात एक करोड ८२ लाख ९९ हजार ५२० कित्ता शेयर छुट्टाइएको छ ।  यो सेयर विद्युत प्राधिकरणका नौ हजार दुई सय र सञ्चयकोषका ४८२ कर्मचारीले पाउने छैनन्, बाँकी चार लाख ४० हजार निक्षेपकर्तालाई बाँड्दा प्रत्येकको हिस्सामा जम्मा ४२ कित्ता सेयर पर्नेछ ।