एभरेष्ट इन्स्योरेन्स फागुनबाट सेयरधनीको जिम्मा, कारवाही परेकाको प्रतिनिधि सञ्चालक बन्न पाउने



बिजमाण्डू
२०७० माघ १० गते ००:०० | Jan 24, 2014
एभरेष्ट इन्स्योरेन्स फागुनबाट सेयरधनीको जिम्मा, कारवाही परेकाको प्रतिनिधि सञ्चालक बन्न पाउने
काठमाडौं । एभरेष्ट इन्सुरेन्स व्यवस्थापन जिम्मा लिएर सुधार प्रकृया थालिरहेको बिमा समितिले आउँदो फागुन १ गते बिशेष साधारण सभा डाकेर व्यवस्थापन वास्तविक सेयरधनीलाई हस्तान्तरण गर्ने भएको छ । समितिले माघ २५ गतेसम्म कायम रहेका सेयरधनीहरुबाट निर्वाचनमार्फंत सात जना सञ्चालक समितिमा चयन गर्ने गरी साधारणसभा बोलाएको हो ।
समितिले गत असोज २३ गतेबाट एभरेष्ट इन्स्योरेन्स जिम्मा लिएको हो । कम्पनीका तत्कालिन सञ्चालक समितिले पुनरावेदन अदालतमा समितिको निर्णयवीरुद्ध उद्दा दिएपछि समितिबाट खटिएको टोलीले औपचारिक काम सुरु गर्न पाएका थिएनन् । 
अदालतले कात्तिक १३ गते कम्पनीको व्यवस्थापन लिएर सुधार प्रकृया अगाडि वढाउन बाटो खोलिदिएपछि टोलीले औपचारिक काम थालेको थियो । समितिले चार्टर्ड एकाउन्टेन्ट सन्तोष प्रसाइको नेतृत्वमा कुन्दन सापकोटा र ओमवहादुर अधिकारीलाई एभरेष्ट इन्स्यारेन्स पठाएको थियो ।
साधारणसभाबाट सञ्चालक समितिमा कारवाहीमा परेका सञ्चालक बाहेक सबै सेयरधनीले सहभागीता जनाउन पाउने छन् । कारवाहीमा परेका सञ्चालकहरुले प्रतिनिधित्व गरेका संस्थाहरुबाट पनि सञ्चालक समितिमा चयन हुन समितिले बाटो खुला गरिदिएको छ । तत्कालिन अध्यक्ष राजेन्द्रकुमार खेतान लागयत कारवाहीमा परेका सञ्चालकहरुले आफै सञ्चालक समितिमा चयन हुन नपाएपनि उनीहरुले इच्छाएका व्यक्तिले भने सञ्चालक समितिमा प्रवेश गर्न पाउने छन् । 
छ महिनाको समय लिएर सुधार प्रकृया थाल्न गएको टोलीले औपचारिक काम सुरु गरेको पाँच महिनामै वास्तविक सेयरधनीलाई व्यवस्थापन हस्तान्तरण गर्ने प्रकृया सुरु गरेको हो । समितिबाट खटिएको टोली एभरेष्ट जानुपूर्व कम्पनीले तीन हजार चार सय चार वटा दावी भुक्तानी राफसाफ गर्न बाँकी थियो । टोली गएपछि अहिलेसम्म १३ सय ५० वटा दावी भुक्तानी राफसाफ गरिसकेको छ । टोलीले आर्थिक बर्ष २०६८/६९ अघिसम्मका करिव साढे सात करोड रुपैयाँको दावी भुक्तानी राफसाफ गरेको हो । 
‘सञ्चालक समितिलाई कम्पनी हस्तान्तरण गर्ने समय (माघ मसान्त) सम्म कुल १७ सय दावी राफसाफ गरिसक्छौं,’ व्यवस्थापन संयोजक प्रसाइले भने । 
खेतानको लगानी रहेको मायोज चाउचाउ उत्पादन गर्ने कम्पनी हिमालयन स्न्याक्स प्रालिमा भएको आगलागीमा प्रकृया नपु¥याइ चार करोड रुपैयाँ भुक्तानी दिएपछि संस्था कारवाहीमा परेको थियो ।  समितिले गरेको कारवाहीलाई वेवास्ता गर्दै आफूखुसी संस्था बन्द गर्न सञ्चालक समिति अग्रसर भएपछि समितिले व्यवस्थापन आफैले लिएर सुधार प्रकृया थालेको हो । समितिले संस्था सुधारेर नयाँ सञ्चालक समितिलाई जिम्मा लगाउने तयारी गरेपनि कारवाहीमा परेका खेतानलगायत तत्कालिन सञ्चालक समिति सदस्यहरुले इच्छाएका व्यक्तिहरुले नै कम्पनीमा प्रवेश पाउने छन् । 

Tata
GBIME
Nepal Life