बिजुलीबजारबाट एनबी बैंकको प्रधान कार्यालय कमलादीमा, नयाँ नाम र लोगो राष्ट्र बैंकमा प्रस्ताव



बिजमाण्डू
२०७० माघ १४ गते ००:०० | Jan 28, 2014
बिजुलीबजारबाट एनबी बैंकको प्रधान कार्यालय कमलादीमा, नयाँ नाम र लोगो राष्ट्र बैंकमा प्रस्ताव
काठमाडौं । नेपाल बंगलादेश बैंकको प्रधान कार्यालय काठमाडौं बिजुलिबजारबाट कमलादीमा सर्ने भएको छ । कमलादीको सात तले भवनमा यसअघि नै काठमाण्डौं प्लाजाको शाखा कार्यालय सरेर सञ्चालनमा आइसकेको छ ।
प्रधान कार्यालय सर्ने क्रम चलिरहेको छ, आइतवारबाट पुरै प्रधान कार्यालय कमलादीबाटै सञ्चालनमा आउँछ, बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले जानकारी दिए । बैंकले पुरै भवन भाडामा लिएर सरेको हो । छ महिनादेखि भवनको इन्टेरियर निर्माण चलिरहेको छ ।  
अण्डरग्राउण्ड पार्किङ्ग भएको नयाँ प्रधान कार्यालयमा २५ हजार स्क्वायर फिट छ । पार्किङ्गमा २४ वटा गाडि अट्छन् भने सयभन्दा बढी मोटरसाइकल अट्नेछन् । बैंकको पहिलो दुई तला शाखाका रुपमा सञ्चालनमा हुनेछ भने त्यसमाथिका बाँकी तल प्रधान कार्यालयले लिनेछ ।
प्रधान कार्यालय कमलादीमा सरे पनि बैंकको मुख्य शाखा भने बिजुलीबजारमै रहनेछ । प्रधान कार्यालयमा सञ्चालन हुने कार्यालयलाई बैंकले कर्पोरेट ब्राञ्चका रुपमा नामकरण गर्न सक्ने सिईओ ढुङ्गानाले जानकारी दिए । 
तेस्रोदेखि पाँचौंसम्म क्रेडिट, रिस्क, रिकभरी, कन्जुमर बैंकिङ्ग, कर्पोरेट, एमएमई लगायतका विभाग रहनेछन् । बैंकको छैठौं तलामा प्रमुख कार्यकारी अधिकृत र बैंक व्यवस्थापन रहनेछ । सातौं तलामा बैंकका अध्यक्ष, कम्पनी सचिवको कार्यालय तथा बोर्ड रुम रहनेछ । छतमा टे«स हालेर बैंकले क्यान्टिन सञ्चालन गर्नेछ ।
बैंकले आइतवारदेखि सञ्चालनमा आउने प्रधान कार्यालको रंग रोगन भने नयाँ नाम र त्यसको लोगोमा हुने रंगका आधारमा गरेकोछ । सिईओ ढुङ्गानाले नयाँ प्रस्तावित नाम र लोगो केन्द्रिय बैंकमा पठाएको जानकारी दिए । राष्ट्र बैंकबाट नाम र लागो स्वीकृत भएर आएको छैन्, हाम्रो चाहना भवनसँगै नयाँ नाम, लोगो र ब्राण्डिङमा जाने थियो, तर तत्काल त्यो सम्भव भएन, उनले भने ।
बैंकको नयाँ नाम मुख्य लगानीकर्ता बंगलादेशी बैंक आईएफआईसीसँग जोडिएको छ भने लोगोमा प्रयोग गरिने रंग पनि मिल्दोजुल्दो छ । आईएफआईसीको लोगोमा हरियो र रातो रंगको संयोजन मिलाइएको छ ।
आइतवार मात्रै आईएफआईसी बैंकले एनबी बैंकमा भएको बैंक बंगलादेश ढाकाको १४ प्रतिशत सेयर खरिद गरेको थियो । यो सेयर खरिद गरेसँगै बैंकले दुई किस्ता गरेर बैंकमा ३८ प्रतिशत स्वामित्व आफ्नो नाममा लिएको छ । आईएफआईसीले एनबी बैंकमा नेपाली संस्थापकको सेयर थप एक किस्तामा किनेपछि आईएफआईसीसँग ४२ प्रतिशत हिस्सा हुनेछ ।
आईएफआईसीले नेपाली संस्थापकसँग एनबी बैंकको अझै चार प्रतिशत सेयर खरिद गर्न बाँकी छ । एनबी बैंकको झण्डै ३३ प्रतिशत सेयर खरिद गर्न बैंकले एक अर्ब ७० करोड रुपैयाँ खर्च गरेको छ । 

Tata
GBIME
Nepal Life