एनसीसी बोर्ड राष्ट्र बैंकबाट ‘टेकओभर’, तीन सदस्यीय टोली पठायो, छ महिना भित्र नयाँ सञ्चालक समिति

बिजमाण्डू
२०७० माघ २२ गते ००:०० | Feb 5, 2014
एनसीसी बोर्ड राष्ट्र बैंकबाट ‘टेकओभर’, तीन सदस्यीय टोली पठायो, छ महिना भित्र नयाँ सञ्चालक समिति

काठमाडौं । नेपाल राष्ट्र बैंकले एनसीसी बैंकको सञ्चालक समिति ‘टेकओभर’ गरेको छ । राष्ट्र बैंकको मंगलबार विहान बसेको बोर्ड बैठकले एनसीसीको तत्कालिन सञ्चालक समिति निलम्बन गरी राष्ट्र बैंकका प्रतिनिधिमार्फत बैंक सञ्चालन गर्ने निर्णय गरेको हो । एनसीसी बैंकको सञ्चालक समितिमा रहेका दुई पक्षबीच तिब्र विवाद देखिएपछि निलम्बन गर्ने निर्णय गरेको राष्ट्र बैंक स्रोतले जनाएको छ । सञ्चालक समितिमा रहेको दुई पक्षलाई मिल्न बारम्बार निर्देशन दिदाँ पनि विवाद कायम रहेपछि राष्ट्र बैंकले हस्तक्षेप गरेको हो । बैंकको व्यवस्थापन भने अहिलेकै व्यक्तिहरुबाट सञ्चालन हुनेछ ।

विवादको केन्द्रविन्दु: एनसिसि बैंकमा विवादको केन्द्रविन्दुमा निर्मल प्रधान र लक्ष्मीबहादुर श्रेष्ठ छन्

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकले निर्देशक लक्ष्मी प्रपन्न निरौलाको संयोजकत्वमा तीन सदस्यी टोली एनसीसीमा पठाउने निर्णय गरेको हो । निर्देशक निरौलाको टोलीमा उपनिर्देशक रमेश आचार्य र सहायक निर्देशक रेशम राज रेग्मी रहेका छन् । राष्ट्र बैंकको टोलीले बुधबारबाटै जिम्मेवारी सम्हाल्ने छ । यो टोलीलाई छ महिनाभित्र नयाँ सञ्चालक समितिको निर्वाचन गराउने र २०७१ असार मसान्त भित्र तोकिएको (दुई अर्ब) चुक्तापुजी पुर्याउने अख्तियारी दिइएको छ । चुक्ता पुजी पुर्याउन हालका सेयरधनीले थप लगानी नगरे मर्ज गर्ने वा अन्य विकल्प खोज्ने अख्तियारी पनि राष्ट्र बैंकको टोलीलाई दिइएको छ । यो टोलीले बै‌कको डिडिए पनि गराउने छ । त्यस्तै सञ्चालक नियुक्त गर्न सक्ने लगानी कर्ता वा एक प्रतिसत भन्दा बढी सेयर लिने सस्थापकहरुले कर्जा लिएको भए उनीहरुबाट कर्जा असुली गर्न पनि अख्तियारी दिइएको छ । यस्तो कर्जा असुली गर्न सेयरधनीको नाममा रहेको सेयर बिक्री गर्न सक्ने सम्मको अधिकार  राष्ट्र बैंकको टोलीलार्इ दिइएको छ ।
सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एनबी समूह पक्ष र निर्मल प्रधान पक्षबीच तीब्र विवाद भएपछि गत कात्तिक १६ गते पछि सञ्चालक समितिको बैठक बसेको छैन । लामो समयसम्म सञ्चालक समितिको बैठक नै बस्न नसक्दा बैंकका आगामी योजनामा समेत असर पर्न थालेको देखिएपछि राष्ट बैंकले निलम्बन गर्ने निर्णय गरेको हो । मंसिर दोस्रो साता नै १५ दिन भित्र विवाद मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको थियो । विवाद नमिले हस्तक्षेप गर्ने चेतावनी त्यही बेला राष्ट्र बैंकले दिएको थियो । एनबी समूहको पक्षमा अध्यक्ष पृथ्वीराज लिगल सहित  सञ्चालकहरु बेदमान सिंह मल्ल, बद्रिनारायण मानन्धर, नारायणराज तिवारी, वासुदेव गिरी, ज्ञानहरी श्रेष्ठ छन् । निर्मल प्रधान समूहमा तीर्थ प्रधान, डा. अशोक शम्शेर जबरा र हरिप्रसाद भट्टराई छन् । प्रधानसमूहले पुनरावेदन अदालतमा विशेष साधारण सभाका लागि निवेदन दिएको थियो । अदालतले विशेष साधारण सभा बोलाउन निर्देशन दिएको भएपनि सञ्चालक समितिले निर्णय गरेको थिएन ।
विवाद यस्तो थियो
प्रधान समूहले  डिएनएस इन्भेष्टमेन्ट प्रालिलाई दिएको सात करोड ऋणमा भ्रष्टाचार गरेको, एनबी समूहका विभिन्न व्यक्ति तथा फर्मका नाममा रहेको १० लाख आठ हजार पाँच सय ४६ कित्ता सेयर बैंकले कर्जा असुली वापत लिनु पर्नेमा अनधिकृत रुपमा विक्री गरी वर्तमान बजार मूल्य अनुसार ४० करोड भ्रष्टाचार गरेको र एनबी समूहको इन्टरनेशनल क्लबलाई कर्जा दिदा भ्रष्टचार गरेको आरोप लगाएको छ । प्रधान समूहले गत असार मै बैंकमा भ्रष्टाचार भएको भन्दै राष्ट्र बैंकमा निवेदन बुझाएको थियो । तत्काल साधारण सभा गर्न दवाव दिदै आएको प्रधान समूहले कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि साधारण सभाका लागि निवेदन दिएको छ । एनवी इन्सयोरेन्सलाई प्रिमियम वापत ४० करोड रुपैयाँ गैरकानुनी रुपमा वियरर चेक बनाएर भुक्तानी दिएको आरोप पनि लगाएको छ ।
प्रधान समूहले अध्यक्ष सहित छ जना विरुद्ध अविश्वास प्रस्ताव दर्ता पनि गराएको थियो भने एनवी समूहले राष्ट्र बैंकमा राजीनामा बुझाएको थियो । बैंक सञ्चालक समितिमा छलफल नै नगरी १५ प्रतिसत लाभांस दिने घोषणा गरेको भन्दै प्रधान समूहले धितोपत्र बोर्डमा पनि निवेदन दिएको थियो । प्रधान समूह आक्रामक थियो भने एनवी समूह रक्षात्मक देखिएको थियो ।