काठमाडौं। ग्लोबल आईएमई बैंक र कमर्ज एन्ड ट्रष्ट बैंक नेपालबीच आपसमा गाभिन अन्तिम सम्झौंता भएको छ। ग्लोबल आईएमईका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कमर्जका अध्यक्ष शोभाकर न्यौपानेबीच सोमबार अन्तिम सम्झौतामा गरेका हुन्। दुबै बैंकले आपसमा गाभिएर चैत दोस्रो साताबाट एकिकृत कारोवार गर्ने जनाएका छन्।

तेस्रो त्रैमासिक (चैत मसान्त) को वित्तीय विवरण एउटै प्रकाशित गर्न चैत भित्रै एकिकृत कारोवार थाल्ने लक्ष लिइएको हो। एकिकृत कारोवार थालनीको अन्तिम निर्णय दुबै बैंकले विशेष साधारणसभामार्फत गर्नेछन्। यससम्बन्धि निर्णय गर्न ग्लोबलले २१ फागुनमा विषेश साधारणसभा र कमर्जले १९ फागुनमा तेस्रो साधारण सभा बोलाएका छन्।
मर्जरपछि नयाँ बैंकको नाम ग्लोबल आईएमई नै रहने यसअघि नै सहमति भइसकेको छ। दुबै बैंकका सञ्चालक समितिले २४ कात्तिकमा मर्जरको प्रारम्भिक सहमति गरेपछि मंसिर दोस्रो साता नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको थियो। मर्जर क्रममा ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी प्रति सेयर एक सय रुपैयाँ कायम हुनेछ भने कमर्जको ६५ रुपैयाँ कायम गरिनेछ। नयाँ बैंकको सञ्चालक समितिमा कमर्जको तर्फबाट एक जनाको प्रतिनिधित्व रहनेछ।
गत पुसमा सम्पन्न साधारणसभाले ग्लोबल आईएमईका सेयरधनीलाई १५ प्रतिशत वोनस सेयर दिने प्रस्ताव पारित गरिसकेको छ। त्यसपश्चात यो बैंकको चुक्ता पुँजी दुई अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। दुई अर्ब चुक्ता पुँजी रहेको कर्मजको सेयर मुल्य भने मर्जर पश्चात एक अर्ब ३० करोडमा झर्नेछ। मर्जर पश्चात ग्लोबल आईएमइको कुल चुक्ता पुँजी चार अर्ब आठ करोड रुपैयाँ पुग्नेछ।
गाभिएपछि ग्लोबल आईएमई निजी क्षेत्रका बैंकहरुमा दोस्रो ठुलो चुक्ता पुँजी भएको बैंक बन्नेछ। नेपाल इन्भेष्टमेन्ट बैंकको चार अर्ब १४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ। कमर्जको पुँजीमा रहेको ७० करोड रुपैयाँ बराबरको रकम भने गाभिएपछिको बैंकको जगेडा कोषमा जम्मा हुने छ। मर्जपछि दुवै बैंकको गरेर निक्षेप ४८ अर्व, कर्जा लगानी ४० अर्व पुग्नेछ, त्यसैगरी ८७ वटा शाखा कार्यलय, २० वटा शाखारहित बैंकिङ्ग सेवा र ८१ वटा एटिएम मार्फत सर्वसाधारण माझ सेवा पुग्ने बैंकले जानकारी दिएको छ । मर्जरपछि बैंकको ग्राहक संख्या करिब ५ लाख पुग्ने, बैंकले मंगलवार जारी प्रेस विज्ञप्तिमा छ ।
ग्लोबलले यसअघि दुई चरण अन्य संस्थालाई आफूसँग गाभेको थियो। पहिलो चरणमा आईएमई फाइनान्सियल इन्स्टिच्युसन र लर्डबुद्ध फाइनान्स तथा दोस्रो चरणमा सोसियल डेभलपमेन्ट बैंक र गुल्मी विकास बैंकलाई गाभेको थियो।
ग्लोबलले यसअघि दुई चरण अन्य संस्थालाई आफूसँग गाभेको थियो। पहिलो चरणमा आईएमई फाइनान्सियल इन्स्टिच्युसन र लर्डबुद्ध फाइनान्स तथा दोस्रो चरणमा सोसियल डेभलपमेन्ट बैंक र गुल्मी विकास बैंकलाई गाभेको थियो।
कमर्जसँग मर्जर सम्पन्न भएपछि ग्लोबल आईएमईको शाखा संख्या ८८ पुग्नेछ। अहिले बैंकले ७३ शाखा मार्फत कारोवार गर्दै आएको छ। ग्लोबलले चालु आर्थिक बर्षको पहिलो छ महिनामा ५३ करोड २८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ भने कमर्जले एक करोड ४५ लाख नाफा कमाएको छ।
ग्लोबल–कमर्ज मर्जर दुई बाणिज्य बैंकहरु गाभिन लागेको दोस्रो अवसर हो। यसअघि नेपाल इन्डिस्ट्रियल एन्ड कमर्सियल (एनआईसी) बैंक र बैंक अफ एसिया नेपाल आपसमा गाभिएका थिए। त्यसबेला एनआईसीको चुक्ता पुँजी प्रति सेयर एक सय रुपैयाँ नै कायम गरि बैंक अफ एसियाको ५० रुपैयाँ राखिएको थियो।
ग्लोबल–कमर्जले एकिकृत कारोवार थाले लगत्तै सिभिल बैंकले एक्सिल डेभलपमेन्ट बैंक र सिभिल मर्चेन्ट फाइनान्सलाई आफुमा गाभेर कारोवार सुरु गर्ने लक्ष लिएको छ। सिभिलले वैशाख १ बाट एकिकृत कारोवार गरि चालु आवको अन्तिम वित्तीय विवरण एकमुष्ट प्रकाशित गर्न योजना बनाएको छ।











