साउदीमा महिला कामदारको तलब बढ्यो, नेपालबाट पनि घरेलु कामदार पठाउन छलफल जारी

बिजमाण्डू
२०७० फागुन १३ गते ००:०० | Feb 25, 2014
साउदीमा महिला कामदारको तलब बढ्यो, नेपालबाट पनि घरेलु कामदार पठाउन छलफल जारी


काठमाडौं । नेपाललगायत विश्वका २० देशबाट महिला घरेलु कामदार लिन साउदी अरब सरकारले सम्झौता अगाडि बढाएपछि महिला कामदारको तलब बढेको छ । बैधानिक रुपमा घरेलु कामदार भित्राउदाँ खर्च बढेको स्थानिय रिक्रुटिङ एजेन्सीहरुले बताएका छन् । अब विदेशी घरेलु कामदार लिन मालिकले २१ हजार साउदी रियालसम्म तिर्नु पर्नेछ । पहिले रिक्रुटिङ शुल्क १३ हजार मात्र थियो । ‘घरेलु कामदारमाथि हुने शोषण अन्त्य गर्न सरकार सक्रिय छ,’ बलबहा च्याम्बर अफ कर्मसका अध्यक्ष सइद अल मुसावीले भने, ‘घरेलु कामदारलाई उचित ज्याला, बिमा, उपचार आदि सुविधा दिन मालिकहरु तयार हुदैछन् ।’
इस्लामिक कानुनबाट चलेको साउदी अरबमा महिला कामदारमाथि निकै शोषण गरिन्छ । काफला प्रणालीको फाइदा लिदै मालिकले तलव नदिने, २४ घन्टा काममा लगाउने र काम छोडन नपाउने स्थिती थियो । साउदी अरबले हाल कामदार पठाउने मुलुकसँग गरिरहेको श्रम सम्झौतामा पासपोर्ट कामदार सँगै रहनु पर्ने, शोषण र उत्पिडन भएमा काम गर्ने घर बदल्न पाइने साथै समयमा करार अनुसारको तलव दिनु पर्ने जस्ता व्यवस्था गरिएको छ । साउदी अरबले रिक्रुटिङ एजेन्सी मार्फत मात्र घरेलु कामदार लिइने नीति यसअघि नै जारी गरेको छ ।
साउदी अरबले भारत, फिलिपिन्स र इण्डोनेसियासँग घरेलु कामदार सम्वन्धि सम्झौता गरिसकेको छ । सम्झौतामा इन्डोनेसियाली कामदारलाई मासिक एकहजार दुईसय रियाल र फिलिपिनो कामदारलाई मासिक एकहजार पाँचसय रियाल दिने कुरा उल्लेख छ । नेपालले घरेलु कामदारका लागि यसअघि एकहजार रियाल न्युनतम तलव तोकेको थियो । तर, नेपाल वैदेशिक रोजगार व्यवसायी संघले स्पस्ट सम्झौता नभई महिला पठाउन नसकिने बताउदै आएका थिए । यो सन्दर्भमा प्रस्तावित श्रम सम्झौतामा घरेलु कामदार साउदी अरब पठाउदाँ लाग्ने खर्च कम गर्ने र बढी तलव सुविधा पाउने व्यवस्था गर्नु उपयुक्त हुन्छ ।
‘वैधानिक बाटोबाट नेपाली महिला साउदी अरब जान सकुन र धेरै आम्दानी होस भन्ने हाम्रो चाहना छ । त्यसैले प्रस्तावका बारेमा सवैपक्षसँग छलफल भैरहेको छ,’ श्रम सचिव सुरेशमान श्रेष्ठले भने । यसकारले यसअघि तोकेको एकहजार एकसय रियालको तलब नघटने उनले बताए । तर, वैदेशिक रोजगार व्यवसायी संघले आठसय रियालसम्ममा सम्झौता गर्न दवाव दिइरहेको छ ।
युएन वुमनका अनुसार, साउदी अरबमा करिव ७० हजार नेपाली महिला काम गर्छन । तिनीहरु अधिकांश अवैधानिक बाटो प्रयोग गरी त्यहाँ पुगेका हुन । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार, केवल छहजार नेपाली महिलामात्र त्यहाँ कार्यरत छन् ।
साउदी अरबमा हाल करिव १० लाख घरेलु महिला कामदारको अभाव छ । यो माग पुरा गर्न तीन वर्ष अगाडि नेपालबाट एकलाख महिला कामदार पठाउन साउदी अरबले दवाव दिएको थियो । सम्पूर्ण कामदार समेटने श्रम सम्झौता नभई घरेलु कामदार पठाउन नसकिेन तत्कालिन सरकारले अडान लिएको थियो ।
साउदी अरबले घरेलु कामदार लिने सम्वन्धि प्रस्ताव नेपाल बाहेक कम्बोडिया, केन्या, भियतनाम र लाओसलाई पनि पठाएको छ । ति देशले कामदारको सुरक्षाको विषयमा साउदी सरकार जिम्मेवार हुनु पर्ने अडान लिएका छन् । भारतसँगको सम्झौतामा घरेलु कामदारले पनि अन्य कामदारले पाउदै आएको अधिकार उपभोग गर्न सक्ने उल्लेख छ ।

Tata
GBIME
Nepal Life