काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको मगलवार सेयर बाँडफाट हुने भएको छ । बैंकको प्राथमिक सेयर निष्कासनमा ५० हजार रुपैयाँसम्म लगानी गरेकालाई ७.९ प्रतिशत, ५० हजारभन्दा बढि लगानी गरेकालाई ३.०९ प्रतिशत र १२ हजारसम्म लगानी गरेकाहरुलाई भने लोटरी प्रथाबाट सेयर बाडिने भएको छ ।
बैंकको प्राथमिक सेयरमा २२ गुणा अर्थात् २० अर्ब रुपैयाँको आवेदन परेको थियो । बिक्री प्रबन्धकहरुले बताएका छन् । बैंकले ९२ करोड रुपैयाँको आईपिओ जारी गरेको थियो । फागुन २५ गतेबाट रकम फिर्ता हुने छ ।
पुस २५ गतेबाट ९२ लाख कित्ता सेयर जारी गरेको बैंक सञ्चालनमा रहेका ३१ वणिज्य बैंकमध्ये आइपिओ जारी गर्न बाँकी एक मात्र निजी बैंक भएकोले पनि आर्कषण उच्च रहेको थियो । आइपिओ बिक्री पुस २९ गतेसम्म भएको थियो । बैंकको प्राथमिक निष्कासनमा न्युनतम ५० कित्तादेखि अधिकत्तम १० लाख कित्तासम्मको लागि आवेदन दिन सकिने व्यवस्था गरेको थियो ।
बैंकले कुल सेयरमध्ये चार लाख ६० हजार कित्ता सेयर सामूहिक लगानी कोष र चार लाख ६० हजार कित्ता बैंकका आफ्ना कर्मचारीहरुलाई छुट्याइएको थियो । बैंकको सेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सह निष्कासकमा नबिल इनभेष्टमेन्ट बैंक, सिभिल क्यापिटल, ग्रामोर मर्चेन्ट, एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेड थिए । बैंकले बिभिन्न जिल्लामा रहेको आफ्नो ३१ वटा शाखा र बिक्री प्रबन्धक लगायत अन्य १३ कम्पनीबाट सेयर बिक्रीको प्रबन्ध मिलाएको थियो । बैंकको सेयर निष्कासनपछि चुक्तापुँजी दुई अर्ब रुपैयाँ पुग्ने छ ।
बैंकले चालु आर्थिक वर्षमा १६ करोड ८१ लाख रुपैयाँ नाफा हुने प्रक्षेपण गरेको छ । बैंक सञ्चालनको पहिलो बर्ष ८२ लाख ४४ हजार रुपैयाँ, दोस्रो बर्ष नौ लाख २२ हजार रुपैयाँ र तेस्रो बर्ष छ करोड ६३ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकको अहिलेसम्म चुक्तापूँजी एक अर्ब आठ करोड छ भने सञ्चित कोषमा १३ करोड ८६ लाख रुपैयाँ छ । बैंक यो अवधिमा छ करोड ६३ लाख नाफामा रहेको छ । बैंकले छ करोड ९४ हजार रुपैयाँ सम्भावित नोक्सान बापत व्यवस्था गरेको छ । बैंकको ३० करोड ८३ लाख व्याज आम्दानी गरेको छ ।











