नेपाली सेयर बजारको विश्लेषण र प्रचार प्रसार ब्लुमबर्ग मार्फत,विदेशी लगानीकर्ता आउने विश्वास

बिजमाण्डू
२०७० चैत्र ३ गते ००:०० | Mar 17, 2014
काठमाडौं। अन्तराष्ट्रिय स्तरमा नेपाली सेयर बजारको विश्लेषण र प्रचारप्रसारमा सहयोग पुग्ने भएको छ । सोमवार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र वित्तीय सूचना संकलन तथा विश्लेषणमा विश्वकै अग्रणी कम्पनी ब्लुमबर्ग फाइनान्स एलपीबीच सूचना आदानप्रदान गर्ने सम्झौता भएको हो । सम्झौताअनुसार नेप्सेले ब्लुमबर्गलाई सार्वजनिक रुपमा उपलब्ध कारोबार सम्बन्धी विवरण प्रदान गर्नेछ भने ब्लुमबर्गले ती विवरण फाइनान्सियल सफ्टवेयर टुल्स मार्फत् विश्लेषण गरी प्रचारप्रसार गर्ने नेप्सेले प्रेश विज्ञप्तिमा उल्लेख गरेको छ ।
सम्झौतापत्रमा नेप्सेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा महाप्रबन्धक सीताराम थपलिया र ब्लुमबर्गका तर्फबाट कम्पनीका आधिकारिक प्रतिनिधि जेनिफर कोलले हस्ताक्षर गरेका हुन् । ब्लुमबर्गको वित्तीय सूचना सम्बद्ध उत्पादनका संसारभर तीन लाख १५ हजारभन्दा बढी प्रयोगकर्ता छन् । विश्वभरका पुँजी बजार सम्बद्ध लगानीकर्तामाझ नेपाली पुँजी बजार बारे परिचित गराउने यो सम्झौतालाई नेप्सले दीर्घकालिन महत्वको विषयका रुपमा लिएको जनाएको छ । सम्झौता कार्यान्वयन पछि संसारभरका व्यक्तिगत तथा संस्थागत लगानीकर्ताको नेपाली पुँजी बजारमा पनि ध्यानाकर्षण हुने विश्वास लिएको छ ।
नेपाली पुँजी बजारमा विदेशी लगानीकर्ता प्रवेश गराउन सूचनाको प्रवाह महत्वपूर्ण हुने भन्दै नेप्सेले यो सम्झौताले ठोस योगदान गर्ने विश्वास पनि लिएको छ । ब्लुमबर्गले धितोपत्र व्यवसायी, लगानीकर्ता लगायतलाई लक्ष्य गरी नेप्सेले सञ्चालन गर्ने पुँजी बजार सम्बन्धी तालिम तथा प्रशिक्षणहरुमा स्रोत व्यक्ति उपलब्ध गराउने प्रतिवद्धता गरेको नेप्सेले उल्लेख गरेको छ । 
 

Tata
GBIME
Nepal Life