नयाँ लगानीकर्ताले कम्पनी कसरी छान्ने ? रविन्द्र भट्टराईका सुझाव

बिजमाण्डू
२०७० चैत्र ४ गते ००:०० | Mar 18, 2014
नयाँ लगानीकर्ताले कम्पनी कसरी छान्ने ? रविन्द्र भट्टराईका सुझाव

सेयरको प्राथमिक या दोस्रो बजारमा सहि कम्पनीको छनौट गर्नु लगानीकर्ताका लागि चुनौतीको विषय हो । त्यसमा पनि नवप्रवेशि लगानिकर्ताका लागि यो अझ ठुलो समस्या बन्न जान्छ । लगानी कम जोखिममा राख्न र खराव कम्पनीमा हुनसक्ने लगानीबाट बच्न नयाँ तथा बजारका बारेमा कम ज्ञान भएका लगानीकर्ताले केही सरल उपाय प्रयोग गर्न सक्छन् ।
प्राथमिक बजारमा सेयर निस्कासन गरेको कम्पनीमा लगानीयोग्यता बुभm्न सामूहिक लगानीकोष (म्युचुअल फण्ड)को लगानीलाई आधार बनाउन सकिन्छ । सामूहिक लगानीकोष सर्वसाधारणबाट पैसा संकलन गरेर सेयर बजारमा लगानी गर्ने संस्थागत लगानीकर्ता हुन् । अहिले बजारमा नविल इन्भेष्ट र सिद्धार्थ क्यापिटलले सामूहिक कोष संचालनमा ल्याएका छन् । सर्वसाधारणमा सेयर जारी गर्र्ने कम्पनीले जारी सेयरको पाँच प्रतिशत अनिवार्यरुपमा सामूहिक लगानीकोषलाई छुट्याउनु पर्ने हुन्छ । जसका लागि सर्वसाधारणलाई जारी गर्नु अघिनै सामूहिक लगानीकोषले आवेदन दिएको हुनुपर्छ ।
यदि कम्पनी वित्तीयरुपमा मजबुत र फाइदाजनक देखेमा सामूहिक लगानीकोषले सेयरका लागि आवेदन दिने गर्छन्, अन्यथा आवेदन दिदैनन् । सामूहिक लगानीकोषले लगानी गरे वा नगरेको विषयमा सेयर जारी गर्दा कम्पनीले प्रकाशन गर्ने विवरण पत्र वा आह्वान पत्रबाट जानकारी लिन सकिन्छ ।

सामूहिक लगानी कोषले सेयर किनेको भए विवरणपत्रमा किनेको कित्ता उल्लेख गरिएको हुन्छ, नकिनेको भए उल्लेख गरिएको हुदैन । जस्तो केही महिना अघि सेयर जारी गरेका कसमस डेभलपमेन्ट बैक र कम्युनिटि डेभलपमेन्ट बैकको प्राथमिक निस्कासनमा सामूहिक लगानीकोषले लगानी गरेका थिएनन् ।
प्राथमिक निश्कासनमा नै कम्पनीको लगानीयोग्यताको जाँच गर्ने अर्को आधार यसको साख निर्धारण (क्रेडिट रेटिंग) हो । तीन करोड भन्दा बढिको सेयरको सार्वजनिक निश्कासन तथा हकप्रद सेयर जारि गर्दा कम्पनीले अनिवार्य साख निर्धारण गर्नुपर्ने कानुनी व्यवस्था छ । साख निर्धारण कम्पनीको जोखिम मुल्यांकन गर्ने महत्वपूर्ण आधार हो । कम्पनीको वित्तीय अवस्था लगायतलाई हेरेर साख निर्धारण गरिन्छ । नेपालमा इक्रानेपाल लिमिटेडले कम्पनीको साख निर्धारण गर्दै आएको छ र यो नै नेपालमा साख निर्धारण गर्ने एक मात्र कम्पनी हो ।
उच्च साख निर्धारणले ती कम्पनीको सेयरमा गरिने लगानीमा कम जोखिम र कमजोर साख निर्धारणले बढि जोखिम रहेको संकेत गर्छ । इक्राले कम्पनीका प्राथमिक निश्कासनलाई पाँच स्तरमा राख्ने गरेको छ । वित्तीय आधार मजबुत भएका कम्पनीलाई पहिलो स्तर दिने गरेको छ । औषत भन्दा बढिलाई दोस्रो, औषतलाई तेस्रो, औषत भन्दा कमजोरलाई चौथो र कमजोर वित्तीय अवस्थालाई पाँचौ स्तर दिने गरेको छ ।
सेन्चुरी कमर्सियल बैकको प्राथमिक निश्कासनलाई इक्राले चौथो स्तर प्रदान गरेको थियो । यी स्तरलाई हेरेर कम्पनी बीचको तुलना र छनौट गर्न सकिन्छ तर सेयरको आवेदन फारम र आह्वान पत्रमा कम्पनीको स्तर उल्लेख गरेको पाइदैन । स्तर निर्धारणलाई आवेदन फारम र प्राथमिक निश्कासनका हरेक सुचनामा अनिवार्य उल्लेख गर्ने व्यवस्था गर्नुपर्छ । जसबाट साख निर्धारणको महत्व सर्वसाधारण समक्ष बुझाउन सकिन्छ ।
दोस्रो बजारबाट तुलनात्मक रुपमा राम्रो वित्तीय अवस्था भएका कम्पनीको छनौट गर्दा तीनवटा तरिका अपनाउन सकिन्छ । पहिलोमा म्युचुअल फण्डले दोस्रो बजारमार्फत लगानी गरेका कम्पनीबाट आफ्नो बजेटले पुग्ने कम्पनीलाई छनौट गर्न सकिन्छ ।
म्युचुअल फण्ड संस्थागत र व्यवसायिक लगानीकर्ता भएकाले यसले कम्पनी छनौट गर्न अध्ययन अनुसन्धानमा ठुलो रकम र समय खर्च गरेको हुन्छ । यसैकारण म्युचुअल फण्डले राम्रो वित्तीय अवस्था भएका कम्पनीमा लगानी गरेको हुन्छ भन्ने मान्यताका आधारमा लगानीकालागि यी कम्पनीको छनौट गर्न सकिन्छ । म्युचुअल फण्डले प्रत्येक महिना समाप्त भएको पन्ध्रदिन भित्र आफुले लगानी गरेका कम्पनी र लगानी गरेको सेयर संख्या राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशित गर्छ ।
दोस्रो बजारमा गरिने लगानीका लागि नेपाल स्टक एक्सचेन्जले क बर्गमा बर्गीकरण गरेका कम्पनीमध्येबाट पनि कम्पनीको छनौट गर्न सकिन्छ । पुष मसान्त पछि स्टक एक्सचेन्जले सुचिकृत कम्पनीलाई क र ख बर्गमा बर्गिकरण गर्छ । चुक्ता पूजी कम्तिमा दुई करोड रुपैयाँ भएको, साधारण सेयरधनीको संख्या कम्तिमा एक हजार भएको, कम्तिमा तीन बर्ष देखि लगातार नाफामा रहेको, सेयरको किताबी मूल्य चुक्ता मूल्य भन्दा कम नभएको र आर्थिक बर्ष समाप्त भएको छ महिना भित्र उक्त आर्थिक बर्षको कारोबार तथा आय–व्यय विवरण पेश गरेको कम्पनीलाई स्टक एक्सचेन्जले ‘क बर्गमा वर्गीकृत गर्दै आएको छ ।
जसको सुचि नेप्सको वेवसाइटमा पनि हेर्न सकिन्छ । यी कम्पनी कम्तिमा पनि तीन बर्ष देखि नाफामा छन् र नेटवर्थ ऋणात्मक छैन भन्नेमा विश्वस्त हुन सकिन्छ । आर्थिक वर्ष २०६९÷७० को अन्त्यमा सुचिकृत २३० कम्पनी मध्ये १३० वटा कम्पनीे क बर्गमा परेका छन् ।
 यसैगरि लगानीयोग्य कम्पनीको छनौट गर्दा वाणिज्य बैकले सेयर धितोराखेर ऋण दिनका लागि छनौट गरेका कम्पनीलाई पनि आधार बनाउन सकिन्छ । सामान्यतया वाणिज्य बैकले सेयर धितो राख्दा वित्तीयरुपमा मजबुत र बजारमा उच्च तरलता भएका कम्पनीको सेयर धितो राखेर ऋण दिने भएकाले त्यस्ता कम्पनीमा गरिएको लगानीमा केही हदसम्म जोखिम कम हुनसक्छ । तर विकास बैक र वित्त कम्पनीले सेयर धितोका रुपमा स्वीकार्ने कम्पनी वाणिज्य बैकले छनौट गर्ने भन्दा कमजोर वित्तीय अवस्था भएका पनि हुन सक्छन् । कानुनतः बैक तथा वित्तीय संस्थाले आफ्नो सेयर आफै धितो राखेर ऋण दिन पाइदैन । सेयर धितोकारुपमा स्वीकार्ने कम्पनीको सुचि ऋण दिने कतिपय बैकले आफ्नो वेव पेजमा राखेका हुन्छन् भने नभएकाको बैकबाट पनि बुझ्न सकिन्छ ।
बजारमा यसरी गरिने लगानी प्राय एकतर्फि प्रकृतिको हुनेगर्छ । यसबाट खरिद सजिलै गर्न सकिन्छ तर विक्री गर्ने समयको पहिचाहन गर्न भने सकिदैन । जसका लागि थप अध्ययन र निरन्तर विश्लेषणको जरुरत पर्छ ।
लेखक सेयर बजार विश्लेषक हुन् ।

Tata
GBIME
Nepal Life