आखिर कहिले आउँछ मैले किनेको सेयर प्रमाणपत्र ?

बिजमाण्डू
२०७० चैत्र ८ गते ००:०० | Mar 22, 2014
आखिर कहिले आउँछ मैले किनेको सेयर प्रमाणपत्र ?
विजयराज खनाल/ बिजमाण्डू
काठमाडौं । बिहीवार कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजमा भेटिएका सेयर लगानीकर्ता सञ्जित शाहीले पुस पहिलो साता प्राइम कमर्सियल बैंकको दुई सय ९ कित्ता सेयर किनेका रहेछन । उनले सेयर खरिद गरे बापतको रकम दुई दिन पछि ब्रोकरमार्फत् बुझाए । तर हालसम्म पनि उनको हातमा सेयर प्रमाण पत्र भने आइसकेको छैन् । १० प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांश दिएको बैंकबाट प्रतिफल पाउन उनले सेयर नामसारीमा पठाएका थिए ।

बैंकको बोनस सेयर समायोजनले बुकक्लोज (पुस १२) यता सेयर मूल्य ४५१ रुपैयाँसम्म ओर्लियो पनि । तर यसबीचमा फागुन ११ गते बैंकको सेयर मूल्य पुनः पाँच सय ३५ रुपैयाँ भयो ।  अहिले बैंकको सेयर मूल्य ४६० मा छ । मूल्यमा हुने सामान्य परिवर्तनमा त लगानीकर्तालाई यस्तो ढिलाईले समस्या नपर्ला तर ठूलो परिवर्तन भयो भने के गर्ने ? शाही प्रतिप्रश्न गर्छन । उनले भने, ‘लगभग तीन महिना भएको छ सेयर नामसारीमा गएको, प्रमाण पत्र हात परेको छैन्, यो बीचमा लगानी गरेको कम्पनीबारे कुनै नकारात्मक सुचना आयो र मूल्य निकै तल झर्याे भने हामीलाई सेयर बेच्न समस्या हुन्छ ।’  
अर्का सेयर लगानीकर्ता धनबहादुर गुरुङले सनराइज बैंकको एक सय ५० कित्ता सेयर मंसिर मध्यमा खरिद गरेका थिए । उनले पनि बिहिवारसम्म प्रमाण पत्र हात पारेका छैनन् । गुरुङले भने, ‘मैले सेयर मूल्य दुई सय ९० हुँदा सेयर किनेको थिएँ हालसम्म मेरो हातमा प्रमाण पत्र परेको छैन् ।’ 
गुरुङले अगाडी थपे, ‘बैंकको सेयर मूल्य अहिले पनि चार सय माथि छ अहिलेसम्म प्रमाण पत्र हात लाग्यो र सेयर बेच्न पाए भने पनि मैले मूल्य परिवर्तनबाट पनि फाइदा पाउछु ।’ तर यसबीच मूल्य निकै तल गए यसबाट हुने नोक्सान कसले व्यर्होथ्यो, गुरुङले प्रश्न गरे ।
किन प्रमाण पत्र हात लाग्न यत्रो समस्या हुन्छ ? सिभिल क्यापिटल लिमिटेडका प्रमूख कार्यकारी अधिकृत भिष्मराज चालिसे भन्छन, ‘दिनमा हजारौं कारोबार हुन्छ तर सेयर नामसारीको प्रक्रिया ‘म्यानुअली’ गर्नुपर्छ । अनि कसरी सकिन्छ चाँडो प्रमाण पत्र दिन ?’
कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजका प्रबन्ध निर्देशक भरत रानाभाटले भने, ‘कम्पनी आफैले सेयर रजिष्ट्रारको काम गरेको छ भने १५ दिनदेखि एक महिनामा लगानीकर्ताले प्रमाण पत्र पाउँछन अन्य कम्पनी सेयर रजिष्ट्रार रहेमा दुई तीन महिना लाग्छ ।’ यो समस्या समाधानको सबैभन्दा राम्रो माध्यम भनेकै सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) पूर्ण क्षमतामा सञ्चालनमा आउनु भएको चालिसे बताउँछन ।
अहिले कसरी हुन्छ राफसाफ ?
हाल सेयर कारोबारपछिको तीन दिन (टी प्लस थ्री) भित्र शेयर राफसाफ गराइसक्नु पर्ने व्यवस्था छ । यो व्यवस्था अनुसार ब्रोकरले व्यापार पछिको पहिलो दिन आफू मार्फत भएको शेयरको प्रमाण पत्र र दोस्रो दिन रकम बुझाउनु पर्छ । तेस्रो दिन भने राफसाफ भएर सम्बन्धित ब्रोकरले भएको व्यापारको रकम र प्रमाण पत्र पाउने गर्छन् ।
रानाभाट भन्छन्, ‘अहिले तेस्रो दिनसम्ममा खरीद कर्ता ब्रोकर र बिक्रीकर्ता ब्रोकर दुवै सीडीएससीमा पुग्छन र क्लियरिङ बैंक (बैंक अफ काठमाण्डु मार्फत्) बुझाएको रकमको भौचर र कारोबार भएको सेयरको प्रमाण पत्र एकअर्काेसंग साट्छन ।’  ब्रोकरले खरीद गरिएको प्रमाण पत्र आफ्नो कार्यालयमा ल्याएपछि त्यसमा सेयर किनेको लगानीकर्ताले हस्ताक्षर गर्छन । यसरी हस्ताक्षर गरिएपछि पुनः त्यो प्रमाण पत्र प्रमाणित गर्न सीडीएससीमा जान्छ ।
सीडीएससीबाट प्रमाणित भएको प्रमाण पत्र त्यसपछि सेयर रजिष्ट्रारको कार्यालयमा जान्छ  । नयाँ सेयर प्रमाण पत्र जारी गर्ने वा नयाँ स्वामित्व सहित नविकरण गर्न मिल्ने भए त्यही प्रमाण पत्र पठाइ दिन्छ । यसरी बल्ल लगानीकर्ताको हातमा सेयर प्रमाण पत्र पर्छ ।
कारोबार भएको रकम भने चौथो दिनमा ब्राकरको खातामा जम्मा हुन्छ । पाँचौ दिन ब्रोकरले सेयर बेचेको ग्राहकको नाममा खातामा नै पैसा जम्मा गर्नुपर्ने प्रकृतिको (एकाउन्टपेयी) चेक जारी गरिदिन्छ । यो प्रक्रियामा लगानीकर्ताले एक सातामा रकम पाउने रानाभाट बताउँछन ।  
सीडीएससी पूर्ण सञ्चालनमा आए के हुन्छ ?
सीडीएससी पूर्ण सञ्चालनमा आएपछि पनि तत्कालको लागि सेयर राफसाफ कारोबार पछिको तीन दिन (टी प्लस थ्री ) भित्र हुने छ । तर बिद्युतीय प्रणालीमा नै सेयरको अभिलेखीकरण (डीम्याट गरिएको) हुने भएकोले राफसाफ सकिएपछि नै लगानीकर्ताको खातामा किनेको भए सेयर जम्मा हुन्छ भने बेचेको भए सेयर संख्या कटौती हुन्छ ।
सीडीएससीका प्रमूख कार्यकारी अधिकृत सुबोध शर्मा सिग्देलले भने, ‘अहिलेलाई हामीले राफसाफ अवधि टी प्लस थ्री नै कायम गरेका छौं, त्यसैले चौथो दिनमा सेयर किन्ने लगानीकर्ताको खातामा उसले किनेको सेयर जान्छ ।’
सीडीएससीमा कम्पनी दर्ता भएपछि लगानीकर्ताहरुले भने डिपोजिटरी पार्टीसिपेन्ट्स (डीपी) मा गएर आफ्नो सेयर डिम्याट गराउनु पर्छ । सेयर डिम्याट गर्नु भनेको लगानीकर्ताले डीपी मार्फत् आफ्नो नामको खाता खोलेर सेयरको बिद्युतीय रुपमा अभिलेख राख्ने काम हो । यो क्रममा हाल प्रमाण पत्रको रुपमा रहेको सेयरलाई अभिलेखीकरण गरिने भएकाले कागजी सेयर पत्र भने जफत गरिन्छ ।   
राफसाफ चक्र
कारोबार पछिको पहिलो दिन १२ बजेअघि नै सेयर बिक्री गरेको सीएम (राफसाफ सदस्य÷ब्रोकर नै राफसाफ सदस्य हुन)ले डिम्याट भएको सेयर कारोबार भएको जनाउँछ (केही समय भौतिक प्रमाण पत्रको रुपमा रहेको सेयर पनि कारोबार हुने भएकाले) । त्यही दिन त्यही समयमा सेयर खरिद गरेको सीएमले भने खरीद सम्बन्धि विवरण दिन्छ ।
दोस्रो दिन सेयर खरिद भएको सीएमले चार बजे भित्र नै क्लियरिङ बैंकमा रहेको फण्ड पुल एकाउन्ट (खाता) मा रकम, शुल्क जम्मा गराउँछ । त्यस्तै, सेयर बिक्री गरेको सीएमले भने सीएम पुल एकाउन्टमा सेयर जम्मा गर्छ ।
सीएम पूल एकाउन्ट राफसाफ सदस्यले धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्याैट कार्यको लागि डीपिमा खोलेको विद्यतुीय खाता (डिम्याट् एकाउन्ट) हो । चार बजेपछि सीडीएससीले सीएम पुल एकाउन्टमा आएको सेयर आफ्नै पुल एकाउन्ट (सीएज पूल एकाउन्ट) मा सार्छ । उता क्लियरिङ बैंकबाट पनि सीडीएससीको खातामा रकम पठाउँछ ।
तेस्रो दिन १२ बजेपछि सीडीएससीले सम्बन्धित सीम पुल एकाउन्टमा रकम र सेयर पठाइदिन्छ । सीएमले त्यही दिन वा भोली पल्ट डेबिट इन्ट्रक्सन स्लिप दिएर डीपीमा सम्बन्धित सेयरधनीको सेयर डिम्याट गराउँछ  । त्यस्तै, सेयर बिक्री गरेको लगानीकर्तालाई भुक्तान स्वरुप चेक दिने गर्दछ । यसरी लगानीकर्ताको खातामा चौथो दिनमा नै सेयर पुग्छ ।
कारोबार अर्डरको क्रममा आफ्नो खातामा भएको भन्दा लगानीकर्ताले बढि सेयर बिक्री अर्डर दिइएको रहेछ वा सेयर खरीद गरेको रकम नबुझाएको खण्डमा भने राफसाफ प्रक्रियाको टी थ्री (कारोबारपछिको तेस्रो दिन) मा सर्टेज अब्लिगेसन पुरा गर्नुपर्छ । रकम नआएमा, अपुग भएमा त्यो सीएमको कारोबार नै निश्चित अवधिसम्म रोक्का गरिन्छ ।

Tata
GBIME
Nepal Life