अफसिजन लगानीकर्ता बजार पस्ने उपयुक्त समय

बिजमाण्डू
२०७० चैत्र १५ गते ००:०० | Mar 29, 2014
अफसिजन लगानीकर्ता बजार पस्ने उपयुक्त समय
विजयराज खनाल/बिजमाण्डू
काठमाडौं । नेपालको पुँजीबजारमा पुसदेखि चैतसम्मलाई अफसिजन मानिन्छ । तथ्यांकले पनि यो अवधिलाई अफसिजन हो भनेर पुष्टि गर्छ । धेरै लगानीकर्ता यहि अफसिजनलाई सेयर किन्ने उपयुक्त अवसर समेत मान्छन् ।
यो बर्ष बजारले फरक रुप देखाएको छ । सेयर बजारमा भएको उतारचढावले अफसिजनको चक्र तोडियो भन्ने तर्क गर्न सजिलो बनाइदिएको छ । नेपाल स्टक हाउसका अध्यक्ष इश्वरी रिमाल भन्छन्, ‘हुनत पुजीबजारको २० बर्षे इतिहासमा १८ पटक नै यो अवधिमा बजार घटेको छ, लाभांश हात पारेपछि सेयर बिक्री बढ्ने वा किनबेच सुस्ताउने कारण अफसिजन भन्न थालिएको हो । तर, यसलाई स्थापित चक्र भन्दा पनि संयोग मान्नु उपयुक्त हुन्छ ।’
यो अवधिमा लगानीकर्ताले बजारबाट नयाँ कुरा पाउँदैनन् । लाभांस वा बोनस घोषणा भइसकेको हुन्छ । अधिकांसको साधारण सभा पनि सकिएको हुन्छ । अर्को वर्ष पाउने लाभांस कुर्ने मात्रै हो यस अवधिमा । त्यसैले बजारमा ठूलो आकर्षण देखिदैन । सेयर लगानीकर्ता बिमल पाण्डे र नेपाल इनभेष्टर्स फोरमका कार्यवाहक अध्यक्ष राजकुमार तिमिलसिना दुवै यो अवधिलाई अफसिजनको रुपमा लिन सकिने भएपनि यसबर्ष यस्तो चक्र तोडिएको बताउँछन् ।

अफसिजनको प्रभाव कम देखिनुमा एउटै मात्र कारण छैनन् । बजार तल्लो विन्दुमा पुग्दा थप घट्ने ठाउँ बाकी हुदैन । त्यस्तै लाभांस दिने कम्पनीको साधारण सभा ढीला हुँदा पनि असर देखिन्छ । लगानीकर्ता पाण्डेले भने, ‘पहिले लाभांश दिएपछि यो अवधिमा बजार सुस्ताउने गरेको पाइन्थ्यो, तर यसबर्ष अझै केही ठुला कम्पनीको साधारण सभा हुन बाँकी रहेको कारण यस्तो प्रभाव पछाडी धकेलिएको हो । मर्जरमा जानेलगायतका खबर आइरहँदा बजारमा उतारचढाव कायम रह्यो ।’

कार्यवाहक अध्यक्ष तिमिलसिना परिसूचकको आधारमा यस बर्ष पनि बजार अफसिजनमा गएको जस्तो देखिएपनि काराबोर रकमलाई आधार मान्दा यस्तो प्रभाव नपरेको बताउँछन् । उनले भने, ‘हरेक बर्ष प्राय यो सिजनमा कारोबार सुस्त हुने गथ्र्योे तर यस बर्ष बढेको छ, यसलाई हेर्दा यो चक्र तोडिएको मान्न सकिन्छ ।’
बजार विश्लेषकहरु अहिले पनि अफसिजन प्रभाव कायम रहेको बताउँछन् । तथ्यांकले बजार घटेको पनि देखाउँछ । सेयर विश्लेषक रविन्द्र भट्टराई भने यो बर्ष पनि पुष देखि चैतको यो अवधिमा मासिक अन्त्यको आधारमा हेर्दा बजार घटेकोले अफसिजनको प्रभाव रहिरहेको बताउँछन् । उनले भने, ‘बिगत ११ बर्षमा तीन बर्षबाहेक सबै बर्ष नेप्से घटेको छ, औसतमा नेप्से ३२ अंकले घट्ने गरेको छ, यो बर्ष पनि आठ सय माथी पुगेर अहिले बजार घटेको छ, यो अफसिजन कै प्रभाव हो ।’
धेरै लगानीकर्ता संविधान सभाको दास्रो निर्वाचन पछि आर्थिक गतिविधि बढ्ने वातावरण तयार अनुमानमा थिए । यही कारण निकै तल्लो विन्दुमा भएको पुजीबजार उकालो लाग्यो । राजनीतिक स्थिरताका लागि कोषेढुंगा बन्नसक्ने यो  निर्वाचन नियमित घट्ना होइन । त्यसैले बजारमा केही फरक संकेत देखिनु स्वभाविक हो ।
पुँजीबजारको तथ्यांक हेर्दा पछिल्ला दुई बर्षमा अफ सिजन प्रभाव केही कम भएको देखिन्छ । बिशेषगरी पुस, माघ ,फागुन देखी चैतसम्मको समय नेप्से परिसूचक या त थोरै अङ्कको परिवर्तन सहित तलमाथी गरिरहेको हुन्छ या घटिरहेको हुन्छ । पछिल्ला दुई बर्षमा पनि नेप्से थोरै परिवर्तनसहित तलमाथी गरिरहेको छ । गत फागुन ११ गते नेप्से २०६५ कात्तिक पछि पहिलो पटक ८३१ मा आइपुगेको थियो । फागुन ११ पछि नेप्से घटेर ७५४अंकसम्ममा पनि झर्यो । तर कारोबार रकम उल्लेख्य नै रहेको कारण परिसूचकमा भएको गिरावटलाई नै आधार मानेर अफसिजन भन्न नमिल्ने केही लगानीकर्ताहरु बताउँछन् ।
धेरैजसो लगानीकर्ता यो अफसिजनको अवधिलाई बजारमा प्रवेश गर्ने उपयुक्त समयको रुपमा व्याख्या गर्दै आएका छन् । कारोबार सुस्ताउने वा बजार घट्ने भएकोले यो अवधिमा प्रवेश गर्नु सही समय हुने उनीहरु तर्क छ । अहिले पनि यो अवधिमा बजार प्रवेश गर्ने सोचमा रहेका लगानीकर्ताहरु बजार प्रशस्त रहेको लगानीकर्ताहरु बताउँछन् । घटेको समयमा लगानी गर्दा गुमाउने संभावना कम हुन्छ । त्यस्तै, चैतपछि कम्पनीहरुको तेस्रो त्रैमासिक वित्तीय विवरण पनि सार्वजनिक हुने भएकोले यो अफसिजनको अवधिमा पस्न धेरै लगानीकर्ता रुचाउँछन् ।
पछिल्ला दुई बर्षलाई छोडेर हेर्ने हो भने २०६४ सालयता धेरैजसो यी महिनामा नेप्से परिसूचक अफसिजनको प्रभाव रहेको देखिन्छ । २०६४ साल मंसिर मसान्तमा १०२५ बिन्दुमा रहेको नेप्से परिसूचक सोही बर्षको फागुन मसान्तमा आइपुग्दा घटेर ७१४ मा ओर्लियो । तर चैत मसान्तमै सूचक बढेर ७४६ अङ्कमा पुग्यो भने जेठ मसान्तसम्ममा ९३० लाई छोयो ।
कम्पनीको बार्षिक नाफाघाटाको अनुमान गर्न तेस्रो त्रैमासको वित्तीय विवरणबाट  सजिलो हुन्छ । यो विवरणका आधारमा गरिएको विश्लेषण धेरैहदसम्म मिल्ने भएकोले लगानीकर्ताहरु यसमा भर गर्छन् । हुनत यो अवधिको वित्तीय विवरण बैसाखमा प्रकासित हुने भएपनि चैतको मध्येदेखि लगानकर्ताहरु बजारले पुरानै चक्र पछ्याउने भरोसामा लगानी बढाउँछन् । कतिपय कम्पनी नजिकका व्यक्तिहरुबाट पहिले नै तेस्रो त्रैमाससम्मको अवस्था बारे जानकारी बजारमा आउनु, कम्पनीहरुको कार्यसम्पादनलाई केही लगानीकर्ताले सुक्ष्म रुपमा अध्ययन गर्नु र चैत पछि बजार बढ्छ भन्ने मान्यता बजारमा प्रसस्तै रहेको कारण पनि यो समय लगानीकर्ता बजारमा पस्न रुचाउँछन् ।
यस्तो चक्रले सँधै साथ दिन्छ भन्ने विश्वासमा जुनसुकै कम्पनीको सेयरमा लगानी गर्नु भने सहि निर्णय नहुन सक्छ । बिशेषगरि छोटो समयमा नाफा लिने उद्देश्यमा रहेका लगानीकर्ताहरुले भने यसमा ध्यान दिनुपर्छ । किनभने आव २०६७÷६८ मा कतिपय बैङ्क तथा वित्तिय संस्था नोक्सानमा गएपछि बजार बढ्नुको सट्टा २०६८ जेठमा नेप्से ५ बर्ष यताकै न्यून बिन्दु २९० सम्म पनि झ¥योे ।
केही दिन देखि नेप्से परिसूचक घट्ने क्रममा रहेको छ । यतिखेर आत्तिने स्वभावका लगानीकर्ता बाहिरिनु स्वभाविक हो । तर कर्जामा नपरेका लगानीकर्तालाई भने अहिलेको अवस्थामा बजारबाट बाहिर नजान विज्ञहरु सल्लाह दिन्छन् । शेयर ब्रोकर तथा विश्लेषक परमेश्वरभक्त मल्लले भने, ‘पुस मसान्तमा धेरै कम्पनीहरुको बार्षिक साधारण सभा सम्पन्न भइसक्ने हुँदा कम्पनीहरुले लाभाङ्श दिइसकेका हुन्छन् र केही समय बजार घट्छ । तर चैतपछि कम्पनीहरुको तेस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक हुने भएकोले चैतअघिदेखी नै बजार बढ्ने दिशामा जान्छ ।’ त्यसैले, पुस देखि चैत्रभित्रमा गरेको लगानीबाट राम्रो मुनाफा लिन सकिने उनको तर्क छ ।
सेयर विश्लेषक भट्राईले भने,‘बिगत नौं बर्षमा ६ बर्षदेखी लगातार यो सिजनमा बजारमा सुस्ती आएको देखीन्छ ।’ अफसिजनमा पनि बजारमा टिकिरहने वा बजारमा प्रवेश गरेका लगानीकर्ताहरुले भने यसलाई छोटो अवधिमा कमाउने अवसरमा परिणत गर्न सक्ने उनले बताए ।

Tata
GBIME
Nepal Life