एक पटक भन्दा बढी सेयर जारी गर्न सहज बनाउँदै बोर्ड, ठूला आयोजनालाई सर्वसाधारणबाट पुजी जुटाउन सहज

बिजमाण्डू
२०७० चैत्र २० गते ००:०० | Apr 3, 2014

काठमाडौं । ठूला पुर्वाधारका आयोजनालाई लक्षित गर्दै एउटै आयोजनाको लागि पनि पटक पटक सजिलै प्राथमिक सेयर जारी गर्न सक्ने गरी नयाँ व्यवस्था गर्न लागिएको छ । नेपाल धितोपत्र बोर्डले प्रस्तावित धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा यस्तो व्यवस्था गर्न लागेको हो । बोर्डले मस्यौदाको रुपमा छलफलमा ल्याएको धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७० मा यस्तो व्यवस्था छ ।
एक पटक सेयर जारी गरिसकेका कम्पनीहरुले अहिले पनि फर्दर पब्लिक अफर (नयाँ निष्कासन वा सूचीकृत पछि पनि पुन सेयर निष्कासन) गर्न सक्ने व्यवस्था छ । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०६५ ले एक पटक सेयर जारी गरेको कम्पनीले फर्दर पब्लिक अफरको व्यवस्था गरेको भएपनि यसमा केही झण्झटिला प्रावधान रहेकोले सहज बनाउन लागिएको हो । फर्दर पब्लिक अफर गर्न पाँच बर्ष देखि कम्पनी सञ्चालनमा रहेको, दुई बर्ष देखि नाफामा रहेको र सेयरको नेटवर्थ प्रतिसेयर चुक्तापुँजी भन्दा बढि हुनुपर्छ । तर ठूला आयोजना निर्माणको क्रममा नै पटक पटक सर्वसाधारणसँग लगानी माग गर्नुपर्ने हुनसक्छ । हालको प्रावधान अनुसार आयोजनाले दुई वर्ष देखि नाफा कमाएको छैन भने थप सेयर निष्कासन गर्न सक्दैनन् । निर्माणाधिन ठूला आयोजनालाई सर्वधारण लगानीकर्ताबाटै पुँजी जुटाउन यो व्यवस्थाले सहज बनाउँछ ।
धितोपत्र बोर्डका कानुन बिभागका प्रमुख मुक्ति श्रेष्ठले भने, ‘कतिपय कम्पनीले एकै आयोजनाको लागि पनि धेरै पटक साधारण सेयर जारी गर्नुपर्ने हुन्छ, त्यसको लागि निश्चित आवधि तोकेर सेयर जारी गर्न सक्ने व्यवस्था गर्न लागेका हौं ।’ कम्पनीहरुले एक पटक सेयर जारी गरेपछि अर्काे पटक जारी गर्ने अवधि कति राख्ने भन्ने विषय टुंगो लाग्न बाँकी रहेको पनि श्रेष्ठले बताए ।
बिशेष गरी ठुला पुर्वाधार बिकास कम्पनीहरुले सर्वसाधारणलाई एकै आयोजनाको लागि पनि पटक पटक लगानीको लागि आहवान गर्नसक्ने भएकाले यस्ता कम्पनीहरुलाई लक्षित गरेर यो व्यवस्था ल्याउन लागिएको हो । करिब ३५ अर्ब रुपैयाँ कुल लागत रहेका काठमाडौं—हेटौंडा सुरुङ मार्ग निर्माण गरिरहेको नेपाल पुर्वाधार बिकास कम्पनी जस्ता ठुलो लगातका परियोजनाहरुलाई यसले सहयोग पुग्ने पनि श्रेष्ठले बताए । नेपाल पुर्वाधार बिकास कम्पनीले हेटौंडा काठमाडौं सुरुङ मार्ग आयोजनामा सर्वसाधारणमा समेत सेयर जारी गर्ने योजना बनाएको छ । 
ठुला जलविद्युत् आयोजना निर्माणको लागि पनि विनियमावलीमा गर्न लागिएको यो व्यवस्था सहयोगी हुने बोर्डका अधिकारीहरुले जनाएका छन् । एक पटक सर्वसाधारणमा सेयर जारी गरेपछि अर्कोपटक जारी गर्न निकै लामो पर्खनुपर्दा पुजीको अभाव हुनसक्ने र लागत पनि बढ्ने संभावना धेरै हुन्छ । लाभांस दिनसक्ने आयोजनामा सर्वधारणबाट सजिलै पुजी जुट्ने भएकोले कानुनी प्रावधानलाई केही खुकुलो बनाउन लागिएको हो । यसले ठूला आयोजनामा पुजी जुटाउन पनि प्रवद्र्धकहरुलाई थप सजिलो हुने विश्वास बोर्डको छ ।

Tata
GBIME
Nepal Life