कतारले विदेशी कामदारलाई काफला हटाउने, कामदारको शोषण काम हुने, घरेलु श्रमिकलाई फाइदा

बिजमाण्डू
२०७० चैत्र २० गते ००:०० | Apr 3, 2014
कतारले विदेशी कामदारलाई काफला हटाउने, कामदारको शोषण काम हुने, घरेलु श्रमिकलाई फाइदा

काठमाडौं । नेपाली कामदारका लागि वैदेशिक रोजगारीको दोस्रो गन्तव्य कतारले परम्परागत काफला प्रणाली हटाउने निर्णय गरेको छ । काफला अर्थात स्पोन्सरशीप प्रणाली मालिकबाट कामदारमाथि हुने शोषण र यौन दुराचार समेतलाई प्रश्रय दिएको भन्दै आलोचित थियो ।
कतार सरकारले श्रम कानुनलाई अन्तराष्ट्रिय स्तरको बनाउने नीति अन्र्तगत काफला प्रणाली हटाउन लागेको मानव अधिकार आयोगका अधिकारी जाबेद सालेह अल्हुधबाईले मालद्वीपको मालेमा आयोजित मानव बेचबिखन सम्वन्धि दक्षिण एशियाली कार्यशालामा बताए । ‘काफला परम्परागत प्रणाली भएकोले विभिन्न कानुन र व्यवहार यससँग सम्वन्धित छन् । विद्यमान कानुन र नीतिमा आवश्यक परिमार्जन गरेरमात्र काफलाको विकल्प खोजिने छ,’ उनले भने, ‘यसका लागि केही महिना समय लाग्न सक्छ ।’  
विदेशबाट कामदार मगाउँदा काफला अर्न्तगत मालिकले स्पोन्सर गर्ने चलन कतार लगायतका खाडी राष्ट्रमा छ । यसरी कतार पुगेका कामदारको पासपोर्ट खोस्ने र बन्धक बनाउने प्रचलनका कारण यो प्रणाली आलोचित बन्दै आएको थियो । इन्टरनेसनल कन्फेडेरेसन अफ ट्रेड युनियनले काफला प्रणाली हटाउन कतारलाई दवाव दिदै आएको थियो । श्रम कानुन श्रमिक मैत्री नबनाइए सन् २०२२ मा कतारको दोहामा हुने विश्व कप फुटबल हुन नदिने युनियनले बताउदै आएको थियो ।
कतार सरकारले काफला प्रणाली अन्त्यपछि स्पोन्सरशीप सरकारी हुने र कामदारलाई अन्तराष्ट्रिय श्रम कानुन अनुसारको व्यवहार गर्ने जनाएको छ । यस अन्र्तगत कार्यस्थलमा शोषण भएमा कामदारले विकल्प खोज्न सक्नेछन् । काफलाका कारण घरेलु कामदार निकै पिडित बनेका थिए ।उनीहरुले यौन हिंसा पनि सहनु पर्ने स्थिती थियो ।
काफलाको अन्त्य सँगै कतारले कामदार पठाउने देशहरुसँग सहकार्य सुरु गर्नेछ । ‘अब कतार जाने कामदारले म्यानपावर व्यवसायीलाई कुनै पनि शुल्क बुझाउनु पर्ने छैन् । कामदारको सम्पूर्ण खर्च कम्पनीले बेर्होने छ,’ उनले भने । अहिले पनि कतारबाट आउने ८० प्रतिशत माग निःशुल्क हुने गरेपनि व्यवसायीले कामदारबाट रकम असुल्ने गरेका छन् । कामदार निःशुल्क पठाउन कतारले कामदार पठाउने देशबाट सरकारी प्रतिवद्धता खोज्ने छ ।
काफला प्रणाली विद्यमान रहेको साउदी अरबले भने परम्परगत प्रणाली हटाउन नसकिने बताउदै आएको छ । यद्दपि साउदी अरबले पनि काफला प्रणालीको विकल्प खोजी रहेको विज्ञहरु बताउछन् ।
कतारले चाडै नै ट्रेड युनियन र सामुहिक सौदाबाजीको अधिकार दिन सक्ने अनुमान पनि गरिएको छ । फिफाको दवावमा परेको कतारलाई सहज निकास दिन त्यहाँका सरकारद्वारा स्थापित गैरसरकारी सुप्रिम कमिटी फर डेलिभरी एण्ड लिगेसी र कतार फाउण्डेसनले कामदारको अधिकार र कल्याणकारी योजनाको खाका सार्वजनिक गरिसकेका छन् ।
करिव २० लाख जनसंख्या रहेको कतारमा ८० प्रतिशतभन्दा बढी विदेशी कामदार छन् । नेपाली कामदारको कतारमा उल्लेख्य पाँचलाखको उपस्थिती छ । विश्वकै सबैभन्दा धेरै प्रतिव्यक्ति आम्दानी भएपनि कतारमा नेपाली कामदारले मासिक दुईसय ५० अमेरिकी डलर मात्र कमाउछन् । जोखिमपुर्ण काम गर्ने नेपालीहरुका लागि कतार मृत्युको खाडी नामले परिचित छ । गत वर्ष कतारमा एकसय ८५ नेपालीको मृत्यु भएको थियो ।

Tata
GBIME
Nepal Life