सेन्चुरीको बोर्डले पदावधि नथपेपछि श्रेष्ठ विदामा, अनुजमणि कामु

बिजमाण्डू
२०७० चैत्र २४ गते ००:०० | Apr 7, 2014
सेन्चुरीको बोर्डले पदावधि नथपेपछि श्रेष्ठ विदामा, अनुजमणि कामु
काठमाडौं । सेन्चुरी कमर्सियल बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत गणेशकुमार श्रेष्ठको पदावधि थप्न अस्वीकार गरेको छ । बोर्डले निरन्तरता नदिने बताएपछि श्रेष्ठ डेढ सातादेखि विदामा बसेका छन् । उनको पदावधि चैत समान्तमा सकिंदैछ ।
सेञ्चुरी बै‌कमा विदा बसेका गणेशकुमार श्रेष्ठ र कामु जिम्मेवारी पाएका अनुजमणि तिम्लिसिना

Tata
GBIME
Nepal Life

सेन्चुरीको बोर्डले अनुजमणि तिमिल्सिनालाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । तिमिल्सिना तीन महिना अघि नेपाल इन्भेष्टमेन्ट बैंकबाट डेपुटी सिइओको रुपमा सेन्चुरी बैंक लगिएका हुन् । श्रेष्ठको विकल्पको रुपमा नै सेन्चुरी बोर्डले तिमिल्सिनालाई ‘सेकेन्ड म्यान’मा नियुक्ती दिएको थियो । बैंकले आफ्नो वेव साइटबाट समेत श्रेष्ठको नाम हटाएर व्यवस्थापन प्रमुखको रुपमा तिमिल्सिनालाई प्रस्तुत गरि सकेको छ ।

उता श्रेष्ठले भने सहज रुपले बैंक छाड्न चाहेका छैनन् । सञ्चालक समितिले पदावधि नथपे पनि उनले विदा मागेर स्टाफलाई इमेल समेत लेखेका छैनन् । साधारणतया सबै कर्पोरेट संस्थामा विदा हुने साना/ठुला कर्मचारीले सहकर्मीलाई ‘गुडवाइ’ इमेल लेख्ने चलन हुन्छ । विजमाण्डूसँग श्रेष्ठले आफु विदामा बसेको बताए । कहिलेसम्मको विदा भनेर प्रश्न गर्दा ‘त्यो भने थाहा नभएको’ जवाफ दिए । 
बैंकका एक प्रमुख लगानीकर्ता समेत रहेका श्रेष्ठलाई निरन्तरता नदिन नेपाल राष्ट्र बैंकले अप्रत्यक्ष दबाव समेत दिँदै आएको थियो । बैंक स्थापनाताका श्रेष्ठ सिइओ र श्रीमती उमाकुमारी श्रेष्ठ बोर्ड सदस्य थिइन् । केन्द्रिय बैंककै दबावमा श्रीमतीले राजिनामा दिएकी थिइन् । बैंकको लगानीकर्ता व्यवस्थापनमा बस्दा स्वार्थ बाझिने भन्दै नेपाल राष्ट्र बैंकले दोहोरो जिम्मेवारीबाट मुक्त गर्ने अनौपचारिक अभियाननै सुरु गरेको छ । श्रेष्ठ नेपाल राष्ट्र बैंकका सेवानिवृत्त कार्यकारी निर्देशक समेत हुन् । 
पछिल्ला दुई महिनामा सेवाबाट बाहिरने बाणिज्य बैंकका सिइओमा श्रेष्ठ तेस्रो हुन् । यस अघि ग्रान्ड बैंकका सुधिर खत्रीले राजिनामा दिएका थिए भने लक्ष्मी बैंकका सुमन जोशी आफैले पदावधि थप गर्न अस्विकार गरेका थिए । ग्रान्डमा मनोज भट्टराईलाई निमित्तको जिम्मेवारी दिइएको छ भने लक्ष्मी बैंकमा सुदेश खालिङलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको छ । 
सेञ्चुरी बैंकले अघिल्लो महिना मात्रै सेयर सर्वसाधरणलाई बाँडफाँड गरेको छ । सेयर बाँडफाँड भए पनि नेपाल स्टक एक्सचेञ्जमा भने सूचिकृत भएको छैन् । पछिल्ला छिमलमा आएको बैंकसँग प्रतिश्पर्धी क्षमता विस्तार, बासलातको आकार वृद्धि लगायतका चुनौती छन् । त्यसैगरी उच्च लागतमा जम्मा गरेको निक्षेपबाट कम लागतमा कर्जा वितरण गरेर मुनाफा कमाउने चुनौती पनि बैंकको नयाँ व्यवस्थापनसँग हुनेछ ।