प्राथमिक सेयर निस्कासन नगर्दै जलविद्युत कम्पनीले लाभांस वाँड्यो, निस्कासन गर्न प्रकृया सुरु

बिजमाण्डू
२०७० चैत्र २४ गते ००:०० | Apr 7, 2014
काठमाडौं। जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको दोस्रो बार्षिक साधारणसभाले पाँच प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीमा हाल नेपाल सरकारको पाँच अर्ब रुपैयाँ र कर्मचारी सञ्चय कोष, राष्ट्रिय बीमा संस्थान, नागरिक लगानी कोषको एक अर्ब रुपैयाँको दरमा लगानी छ ।
साधारणसभाले हाल कायम सेयरधनीलाई पाँच प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेपनि प्राथमिक सेयर निस्कासन पूर्व वितरण गर्न मिल्दैन। कम्पनीले लाभांश वितरण गर्ने हो भने प्राथमिक सेयर निष्कासन पछि कति दरमा दिन मिल्छ त्योअनुसार साधारण सेयरधनी सहित सबैलाई बाड्न पाउँछ । तीन वर्ष अघि सञ्चालनमा आएको कम्पनीले आव २०६८र६९ को वित्तीय विवरण अनुसार ३५ करोड ५२ लाख रुपैयाँ नाफा गरेको छ । 
सभाले सञ्चालक समितिमा विशेषज्ञ सञ्चाल (जलविद्युत विशेषज्ञ) मा डा.मेगवहादुर विश्वकर्मालाई नियुक्त गरेको छ। सभाले लेखा परीक्षकमा चार्टर्ड एकाउन्टेन्ट शैलेन्द्र उप्रेतीलाई समेत नियुक्त गरेको छ। 
जलविद्युत् लगानी तथा बिकास कम्पनीले असारसम्ममा दुई अर्ब रुपैयाँको प्राथमिक निष्कासन गर्न कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्तावसमेत पारित गरेको छ। साधारण सेयर निष्कासन पछि कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीको अधिकृत पूँजी भने ५० अर्ब रुपैयाँ छ । 
कम्पनीको उद्देश्य जलविद्युत् उत्पादन, ट्रान्समिसन लाइन निर्माण, विद्युत् वितरण लगायतमा लगानी गर्ने छ । कम्पनीले २५ मेगावाटभन्दा बढि उत्पादन क्षमताका आयोजनामा लगानी गर्र्ने र एक आयोजनामा न्युनतम २५ करोड रुपैयाँ लगानीको रुपमा कर्जा प्रवाह गर्ने उल्लेख छ । कम्पनीले अहिलेसम्म चुक्ता पुँजीका रुपमा जम्मा भएको रकमलाई बैंक तथा वित्तीय संस्थामा निक्षेप राखेर व्याज आम्दानी मात्रै गर्दै आएको छ ।
स्थापनाको तीन वर्ष भए पनि कम्पनीले अहिलेसम्म एउटा परियोजनामा ऋण लगानी र एउटा परियोजनामा स्वपुँजी लगानीबाहेकको निर्णय गर्न सकेको छैन् । दुवै परियोजनामा पैसा भने अहिलेसम्म गएको छैन् । कम्पनीले मिस्त्री खोला जलविद्युत परियोजनामा एक अर्ब रुपैयाँ लगानी गर्ने सहमति गरेको छ । 
नबिल बैंकले लिड गरेको कन्र्सोटिएममा नबिल बैंक बराबर नै कम्पनीले लगानी गर्ने प्रस्ताव टुङ्गो लागेको छ । नबिलले मिस्त्री खोलामा एक अर्ब रुपैयाँ लगानी गर्दैछ । त्यसैगरी ढल्केवर–मुजफ्फरपुर प्रशारण लाइन निर्माण गर्न बनेको नेपाल पावर टान्सिमिशन लाइनमा १४ प्रतिशत इक्वीटी लगानी गर्ने सहमति पनि बनेको छ । त्यसबाहेक कम्पनीले दोर्दी परियोजनामा लगानी गर्न छलफल चलिरहेको छ । 
बैंक तथा वित्तीय संस्थाको सहलगानी रहने १० देखि १५ मेगावाट विद्युत् उत्पादन क्षमताका आयोजनामा समेत २० करोड रुपैयाँ बराबर कर्जा प्रदान गर्ने लक्ष्य कम्पनीको छ । यस्तो संयुक्त लगानीका योजनाका लागि बैंक तथा वित्तीय संस्थाले नै जोखिम बहन गर्ने गरि कम्पनीले रिफाइनान्सिङ गर्ने समेत योजना छ । बिदेशी तथा अन्तराष्ट्रिय बैंक तथा वित्तीय संस्थाबाट अनुदान तथा कर्जा लिन सक्ने, कम्पनी आफैले बण्ड, ऋणपत्र लगायतका वित्तीय उपकरण जारी गर्न सक्ने पनि उल्लेख छ । 

Tata
GBIME
Nepal Life