इपिएसका लागि कोरियाली भाषा परिक्षा असोजमा, साउन मध्यमा सूचना, अन्तिममा फर्म भर्ने

बिजमाण्डू
२०७० चैत्र २५ गते ००:०० | Apr 8, 2014
इपिएसका लागि कोरियाली भाषा परिक्षा असोजमा, साउन मध्यमा सूचना, अन्तिममा फर्म भर्ने


काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्र्तगत दक्षिण कोरियामा रोजगारीका लागि लिइने भाषा परिक्षा यो वर्ष असोज १० र ११ गते हुने भएको छ ।
दक्षिण कोरियाको मानव संसाधन विभागले सार्वजनिक गरेको ईपिएसबाट कामदार पठाउने मुलुकको कार्यतालिकामा नेपालमा भाषा परिक्षाका लागि फर्म भर्ने मिति अगस्ट १३—१६ अर्थात साउन २८ देखि ३१ सम्म उल्लेख गरिएको छ । जुलाई ३१ अर्थात साउन १५ गते भाषा परिक्षाको विज्ञापन प्रकाशनसँगै नयाँ भाषा परिक्षाको कार्यक्रम नेपालमा औपचारिकरुपमा सुरु हुनेछ ।
दक्षिण कोरिया नेपालीका लागि आर्कषक गन्तव्य मानिन्छ । दक्षिण कोरियामा मासिक एक हजार अमेरिकी डलर कमाई हुने भएकोले युवाहरुको आर्कषण यसमा रहेको छ । यो कमाई प्रमुख गन्तव्य मलेसिया र खाडी मुलुकहरुको भन्दा चार गुणा बढी हो ।
सन् २००८ मा भएको पहिलो भाषा परिक्षामा करिव ३२ हजार युवा सहभागी भएका थिए भने पछिल्ला वर्षमा त्यो संख्या बढदै गएको छ । सन् २०११ मा ५१ हजार र सन् २०१३ मा भाषा परिक्षामा सहभागी हुनेको संख्या ५७ हजार पुगेको थियो । यसपटक पनि करिव ५० हजारले भाषा परिक्षाका लागि आवेदन भर्ने अनुमान छ ।
करिव २२ हजार नेपाली दक्षिण कोरियामा कार्यरत छन् । यिनीहरुमध्ये अधिकांश इपिएस मार्फत दक्षिण कोरिया गएका हुन् । ईपिएसबाट कोरिया पुगेका करिव सात सय नेपाली कामदार त्यहाँ अवैधानिकरुपमा बसीरहेकोमा दक्षिण कोरियाले आपत्ति जनाइरहेको बेला नयाँ कार्यतालिका सार्वजनिक भएको छ ।
यसअघि, अवैधानिक कामदार नफर्काए नेपालबाट ईपिएस प्रणाली हटाउने चेतावनी दिएको थियो । त्यहाँको मानव संसाधन विभागले एक महिना अगाडि श्रम तथा रोजगार मन्त्रालयलाई गैरकानुनी कामदार फिर्ता गर्न लिखित पत्र नै पठाएको थियो ।        

Tata
GBIME
Nepal Life