बाबुराम भट्टराईले गरे चौधरी ग्रामको अध्ययन भ्रमण, यस्तै ग्रामबाट आर्थिक समृद्धि संभव

बिजमाण्डू
२०७० चैत्र २८ गते ००:०० | Apr 11, 2014
बाबुराम भट्टराईले गरे चौधरी ग्रामको अध्ययन भ्रमण, यस्तै ग्रामबाट आर्थिक समृद्धि संभव


काठमाडौं । पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवलपरासी स्थित चौधरी उद्योग ग्रामको अध्ययन भ्रमण गरेका छन् । उनले शुक्रबार सात घण्टा चौधरी ग्राममा सञ्चालित उद्योगहरुको भ्रमण गरेको चौधरी गु्रपले जनाएको छ । उनले भ्रमण पछि पत्रकारहरुसँगको अन्तरसंवादमा यो आफ्नो अध्ययन भ्रमण भएको बताएका हुन् ।
‘म यो ग्रामको अध्ययन भ्रमण कै लागि आएको हुँ, उनले पत्रकारहरुसँग भने, यस्तै औद्योगिक ग्रामहरुबाट मात्रै आर्थिक समृद्धि संभव छ । मुलुकभर अरु पनि यस्ता ग्राम बन्नुपर्छ ।’ औद्योगिक क्षेत्रको अवस्था कमजोर हुदै गएको अवस्थामा ग्राम भित्रका सबै उद्योग नियमित सञ्चालन भएको देख्दा आफू उत्साहित भएको पनि उनले बताए । आफूले भनेको नयाँ शक्ति यस्तै औद्योगिक विकासमा अग्रसर हुने अवधारणा सहित हुने उनले स्पष्ट गरे ।
पुर्वप्रधानमन्त्री डा. भट्टराईले कच्चापदार्थ पनि स्वदेशमै उत्पादन गर्न सरकारले प्रोत्साहित गर्नुपर्ने बताए । उनले कृषिको विकासमा सरकारले आवश्यक सहयोग गर्दा कच्चापदार्थ उत्पादनमा सहयोग पुग्ने बताए । विभिन्न स्थानमा उद्योग खोल्न र लगानी चौतर्फी बढाउन राज्यले प्रोत्साहित गर्नुपर्ने धारणा राखेका छन् ।
औद्योगिक ग्राममा पुर्वप्रधानमन्त्री डा. भट्टराईलाई स्वागत गर्दै चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले मुलुकको पुर्वदेखि पश्चिमसम्म सियुजी स्याटलाईट विस्तार गर्न लागेको जानकारी दिए ।सुनसरी र बर्दियामा उद्योग ग्राम निमार्ण गर्न लागेको र सिमेन्ट, होटल, सुपरमार्केट तथा रिसोर्टमा लगानी विस्तार गरेको जानकारी उनले दिए । चौधरीले राजनीतिक व्यवस्थापन गर्न सक्ने नयाँ शक्तिको खाँचो रहेको बताए । अहिले सबैले राजनीति गरेको तर व्यवस्थापन गर्न नसकेको भन्दै उनले व्यवस्थापन गर्न सक्ने क्षमता भएको शक्ति आवश्यक रहेको बताएका हुन् ।

Tata
GBIME
Nepal Life