नर्भिकमा डायग्नोष्टिक सेन्टरको सुरुवात, निदानात्मक रोगको उपचार एउटै छानामुनि सम्भव

बिजमाण्डू
२०७१ बैशाख २ गते ००:०० | Apr 15, 2014
नर्भिकमा डायग्नोष्टिक सेन्टरको सुरुवात, निदानात्मक रोगको उपचार एउटै छानामुनि सम्भव



काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलभित्र डायग्नोष्टिक सेन्टरको मंगलवारबाट सुरु भएको छ । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सेन्टरको उद्घाटन गरे । “लूनकरणदास चौधरी डायग्नोष्टिक सेन्टर”मा निदानात्मक उपचारका सबै खाले सुविधा प्राप्त हुनेगरी निर्माण गरिएको कम्पनीले जानकारी दिएको छ । सेन्टरमा १.५ टेस्ला क्षमताको एमआरआई., मल्टी स्लाइस क्षमताको सी. टी. स्क्यान, डिजिटल म्यामोग्राम, सुविधा सम्पन्न र अत्याधुनिक नन–इन्भेसिभ कार्डियाक ल्याव, डिजिटल एक्स–रे (युनिट १ र २) विशिष्टस्तरको प्याथोलोजी ल्याब, पिएफटी, इइजी, कोल्पोस्कोपी लगायतका सेवा उपलब्ध छन् ।
सेन्टरको सेवा सुचारु गरिएपश्चात् धेरै खाले निदानात्मक उपचार सेवाको जरुरत पर्ने बिरामीले धेरै ठाउँ भौतारिनु नपर्ने अस्पतालले जारी प्रेस विज्ञप्तिमा छ । एकै छानामुनि सम्पूर्ण र स्तरीय निदानात्मक सेवा बिरामीले प्राप्त गर्नेहुँदा बिरामीले सहजै र विना झण्झट महत्वपूर्ण समय बचाउने, आकस्मिक र जटिल समयमा चिकित्सकलाई तत्कालै निर्णय लिन सजिलो तुल्याउने पनि अस्पतालले जानकारी दिएको छ ।
सन् १९९३ मा नर्भिक हेल्थ केयर एण्ड रिसर्च सेन्टरका नाममा स्थापित नर्भिक सन् १९९४ मा पुनःर्नामाकरण भई ३० शैया क्षमताको नर्भिक हार्ट कमाण्ड सेन्टर एण्ड रिसर्च सेन्टर बनाइएको थियो । हाल नर्भिकमा २०० शैयायुक्त अन्तर्राष्ट्रियस्तरको बहुआयामिक विशिष्ट हस्पिष्टलका रुपमा रुपान्तरित भइसकेको अस्पतालले जानकारी दिएको छ । नर्भिकबाट अन्तर्राष्ट्रिय स्तरको न्युक्लियर मेडिसिन सेन्टरको सुविधा समेत प्राप्त गर्न सकिने अस्पतालले जानकारी दिएको छ ।
कर्यक्रममा नर्भिकका अध्यक्ष बसन्तकुमार चौधरीले आफ्ना पिताको रोगमुक्त समाजको परिकल्पना थोरै मात्रै भए पनि पूर्ण भएको बताए । आगामी दिनमा नर्भिकले आफ्ना सेवाका स्तरलाई विश्वस्तरीय पार्दै जानकारी समेत उनले दिए । स्तर बनाउन सजिलो हुन्छ, तर त्यसलाई जोगाई राख्न भने अति नै कठिन हुन्छ भन्दै त्यसतर्फ आफू सजग रहने पनि चौधरीले बताए ।
कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री गौतमले हस्पिटलको स्थापनाकालदेखि नै यसकोे सर्वाङ्गीण विकासमा सहयोग पु¥याउने केही विशिष्ट व्यक्तित्वलाई सम्मान गरेका थिए । हस्पिटलका संस्थापक अध्यक्ष तथा वरिष्ठ चिकित्सक डा. सच्चेकुमार पहाडी, हस्पिटलका पूर्व अध्यक्ष तथा हृदयरोग विभाग प्रमुख प्रा.डा. डि.बी. कार्की, संस्थापक सञ्चालक तथा वरिष्ठ श्वास–प्रश्वास रोग विशेषज्ञ प्रा.डा. रमेश चोखानी र हस्पिटलकी प्रथम मेट्रोन रामेश्वरी श्रेष्ठलाई कार्यक्रममा सम्मान गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले सरकार र निजी क्षेत्र सँगसँगै हातेमालो गर्दै देशको स्वास्थ्य सेवाको स्तर उकास्नु पर्ने बताए ।

 

Tata
GBIME
Nepal Life