बिग्रेको मात्रै छैन्, बन्दै पनि छ काठमाडौं उपत्यका

बिजमाण्डू
२०७१ बैशाख ३ गते ००:०० | Apr 16, 2014
बिग्रेको मात्रै छैन्, बन्दै पनि छ काठमाडौं उपत्यका
सम्भावना र सफलता श्रृखला ३
मिडियाको काम असफलता मात्रै खोतल्नु होइन्, सम्भावना पनि देखाउनु हो । नेपाली क्यालेन्डरको यो नयाँ वर्षमा हामीले साता भर नयाँ सम्भावना र सफलतालाई अझ बढी खोतल्ने प्रयास गर्दै छौं । सम्भावना र सफलता खोज्ने बिजमाण्डूको तेस्रो श्रृखलामा हामीले आखिर कस्तो बन्दै छ काठमाडौं, त्यसको केही झल्को समेट्ने प्रयास गरेका छौं ।


प्रस्तावित माइतीघर तिनकुने सडकको हरियाली

Tata
GBIME
Nepal Life

प्रभात भट्टराई/बिजमाण्डू
काठामाडौं । मुख्य सचिव लिलामणी पौडेलले केहि सचिव र सह सचिवसहित नयाँ बर्ष २०७१ को स्वागत वाग्मती स्नानबाट गरे । पछिल्ला दशकमा कसैले वाग्मतीमा डुबुल्की मार्ने हिम्मत गरेका थिएनन् । फोहोरमा गाँजिएर पानी छुन समेत घिन लाग्ने अवस्थामा पुगि सकेको वाग्मतीलाई मुख्य सचिवको एक वर्षे सफाइ अभियानले पुनः जगाएको छ ।
त्यसैले उनी निसंकोच वाग्मती छिरे र नुहाए । काठमाडौंमै हुर्के बढेका बुढापाका आफ्नो वाल्यकाल सम्झँदा जसरी वाग्मतीमा नुहाएको व्याख्या गर्थे मुख्य सचिवले त्यो दृश्य फेरि ‘लाइभ’ गरिदिए । पौडेलको अभियानले गुमेको प्रकृतिलाई फिर्ता ल्याउन सकिने यथार्थ उजागर गरेको छ । र, सत्य हो अब वाग्मती मात्र होइन सिङ्गो काठमाडौं नै ब्युँझने तर्खरमा छ ।
काठमाडौंले लामो समय देशलाई शासन गर्यो । तर, शासन गर्दा सुविधा विकेन्द्रकरण गर्ने मेसो पाएन । पुर्व–पश्चिम–उत्तर–दक्षिण चौतर्फीकै नेपालीको केन्द्र बन्यो काठमाडौं, ‘राज्यका सुविधा भोग’ गर्नका लागि । व्यवसाय गर्ने पनि यहिँ, समाजसेवी पनि यहिँ, राजनीतिको त थलो नै बन्यो । त्यसैले वाध्य भए सर्वसाधारण पनि सकेसम्म काठमाडौंमै घर, नसके फ्ल्याट र केहि नलागे एक/दुई कोठे डेरा जमाएरै भए पनि यतै थान्को लाग्न थाले । उपाय विहिनहरुले नदी किनारको बचेखुचे सार्वजनिक जमिनमा टहरा ठड्याए ।

भत्कँदै गरेको काठमाडौं

सबै पेशा र भेष भुषाको पहिलो रोजाइ काठमाडौं बने पछि जनसंख्या र वस्ति यति छिट्टो बाक्लियो कि यहाँको हरियाली, परम्परागत वसोबास शैली, टोल टोलका ढुङ्गेधारा, ठाउँ ठाउँबाट बगेका नदी र खोला सबै इतिहास बन्ने बाटो तिर लागे । काठमाडौं अन्धाधुन्ध कंक्रिट जंगल बन्न थाल्यो । कहाँ सडक, कहाँ वस्ति, कहाँ बजार, कहाँ पार्क, कहाँ हरियाली, केहि मतलव भएन । वेपर्वाह जहाँ जसले जे चाह्यो र सक्यो त्यहि संरचना बन्न थाल्यो । धुलो उडेको छ, नदी र खोला गन्हाएका छन्, फोहोर मनखुसि फालिएको छ । राजधानी सहरलाई कस्तो बनाउने भनेर नीति निर्माताले कहिल्यै योजना आवश्यक ठानेनन् । अहिलेसम्म पनि काठमाडौंको समग्र स्वरुपबारे ‘स्केच’ बन्न सकेको छैन । तर बनाउन सुरुवात भएको छ ।
यी आम गुनासोहरुका बिच काठमाडौंको फेरि आँखा उघार्दैछ । नीति निर्माताहरु काठमाडौंलाई थप बिग्रन नदिने मात्र होइन सकेसम्म फिर्ता ल्याउने अभियानमा जुटि सकेका छन् । २० बर्षे दिर्घकालिन योजना ल्याएर काठमाडौंलाई सुन्दर शहर बनाउन उपत्यका विकास प्राधिकरण जुटेको छ र त्यसको प्रारम्भिक संकेत आउँदो छ महिना भित्र दिने अठोट विकास आयुक्त योगेश्वर पराजुलीको छ । अहिले २० वर्षे योजना बनाउन जुटेको र आउँदो आर्थिक बर्षको सुरुसम्ममा सार्वजनिक गर्ने उनले जानकारी दिए ।
  ‘काठमाडौंमा कहाँ कहाँ घर बनाउने, कहाँ बजार हुने, कहाँको क्षेत्र कृषि भूमी हो जस्ता सबै विषय समेटेर भूउपयोग नीतिसहित काठमाडौंको नयाँ योजना आउनेछ’ उनको भनाइ छ । कम्तिमा आठ फिट बाटो नपुगेको ठाउँमा घर बनाउन नदिने व्यवस्था योजामा समेटिने छ । साथै आफ्नो जमिन हो भन्दैमा आवासका लागि योग्य नठहराएको क्षेत्रमा पनि कसैले जबरजस्ती घर बनाउन पाउँदैनन् ।
राजधानीका मुख्य सडकमा सोलार वत्ति जडान, सडक किनारका घरमा एक किसिमको रङ रोगन, ठाउँ ठाउँमा हरियाली र वृक्षारोपण जस्ता कार्यक्रम तत्काल सुन्दर काठमाडौं निर्माण योजनामा समेटिएका छन् । दुई बर्षदेखि सुरु भएको सडक विस्तारले कुरुप बनाएको काठमाडौंमा यी योजनाहरुको कार्यान्वनयसँगै सुन्दर बन्दै जाने प्राधिकरणका उपविकास आयुक्त तथा काठमाडौं जिल्ला आयुक्त भाइकाजि तिवारीले जानकारी दिए ।

कलंकी–कोटेश्वर खण्डमा बागमतीमा पुलको जग हाल्दै चिनियाँ कम्पनी (माथि) रिंगरोड यसरी बन्दै छ (तल)

पुर्वाधार र संरचनागत सडक विस्तारले काठमाडौंलाई नयाँ जिवननै दिएको छ । पुराना विजुलीका पोल नयाँ भएका छन् । दशक पुरानो ढल नयाँ र ठुलो क्षमताको भएको छ । पानीका पाईप दिर्घकालसम्म सोचर नयाँ लगाइएको छ । यसरि सडक विस्तारमा सरकारले १० अर्ब हाराहारी खर्च गरेको छ । जनसाधारणले आफ्नो भत्केको संरचना नयाँ बनाउँदा ४० अर्ब जति लगानी गरेको प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बास्कोटा बताउँछन् । ‘५० अर्ब लगानीमा काठमाडौं नयाँ स्वरुप आउन लागेको छ’ उनी भन्छन् ‘अब यसलाई थप सुन्दरताका लागि के गर्न सकिन्छ भन्नेमा सरकारको ध्यान छ ।’
काठमाडौंमा कुल १३० किलोमिटर सडक विस्तारका क्रममा भत्काइएको छ । त्यस मध्ये ७० किलोमिटर सडक निर्माण भइ सकेको छ भने बाँकी ६० किलोमिटर आउँदो छ महिना भित्र कालोपत्रे सम्पन्न गर्ने योजना छ । सडक बिस्तारका क्रममा भत्काइएका घर लगायत संरचनाहरु बिभिन्न व्यक्ति आफ्नै ढंगले पुनः निर्माण गरेका छन् ।
निर्माण स्वरुपमा एक रुपता नभए पनि रङ रोगन समान गराएर सहरलाई सुन्दर बनाउने तयारी प्राधिकरणले गरेको हो । तत्काल काठमाडौं सुन्दर लागि अभियानका लागि तीन करोड रुपैयाँ बजेट छुट्याएको प्राधिकरणका उपआयुक्त तिवारी बताउँछन् । आउँदो मंसिरमा आयोजना हुने सार्क सम्मेलन अगावै काठमाडौंको स्वरुप बदल्ने उनको भनाइ छ । काठमाडौंमा थप चाप बढ्न नदिन आसपासमा ‘स्ट्याटलाईट सिटी’ को अवधारणा पनि आउँदो आर्थिक बर्षमा लाइ सक्ने प्राधिकरणको तयारी छ ।

माइतीघर तिनकुने सडक प्रस्ताव यस्तो गरिएको छ

माइतीघर तिनकुने सडक अहिले यो चरणमा छ

माइतीघर तिनकुने सडक अहिले यो चरणमा छ

वानेश्वर चोक यसरी बन्दैछ


माइतीघर तिनकुने सडक अहिले काम यसरी भैरहेको छ

प्राधिकरणले काठमाडौं सौन्दर्य अभियानका लागि तत्काल तीन वटा छुट्टा छुट्टै प्रयोजन र आकारका सडकलाई नमुना परियोजनाका रुपमा अघि बढाउने तयारी गरेको छ । सडक विस्तारको क्रममा ठुलो बनाइएका माईतीघर–तीनकुने खण्डको ४० मिटर चौडा सडक, डिल्ली बजार चारखाल अड्डाबाट महाराजगञ्ज सम्मको १४ मिटर चौडा थिरबम सडक र बालुवाटार स्थित रसियन दुतावासबाट पानी पोखरीसम्मको छ मिटर चौडाइको भित्रि बाटो बुद्धिसागर मार्गलाई नयाँ स्वरुपमा कस्तो बनाउने भन्ने बारे अध्ययन गरिएको छ । प्राधिकरणको कन्सल्टेन्टको रुपमा आर्किटेक्ट्स डिजाइन एसोसिएट्सले यी सडकमा अवलम्बन गरिएको डिजाइन अन्यत्र पनि विस्तार गर्न मिल्ने गरि तयार गरेको हो ।
एसोसिएट्सका आर्किटेक्ट सचिन महर्जन हरियाली, दिगो विकास र सबैका लागि सडक भन्ने अवधारणा अनुसार आफुलेहरुले नयाँ डिजाइन तयार गरेको बताउँछन् । ‘सहरलाई वातावरणमैत्री बनाउन सम्भव भएका ठाउँमा वृक्षारोपण गर्ने तथा नभए वालहरुमा हरियो पेन्टिङ गर्ने, सडक किनारका घरमा एकैखाले रङ लगाउने’ उनी भन्छन् ‘साथै सडक पैदलयात्रु मैत्री हुनै पर्छ सम्भव भएसम्म ह्विलचेयर लगायत अपाङ्गतामैत्री पनि हुनुपर्छ भन्ने कुरालाई केन्द्रमा राखेका छौं ।’
सबै भन्दा ठुलो चौडाइ तथा ३.३ किलोमिटर लामो माइतीघर–तीनकुने सडक राजधानीको साँच्चिकै नमुना मार्ग बन्नेछ । यसमा चार तहको बृक्षारोपण हुनेछ । सडकको दुबै किनारमा साइलक र पैदल यात्री लेन हुनेछ भने त्यस भन्दा भित्र एक तह हरियाली र बृक्षारोपण गर्ने गरि डिजाइन बनाइएको छ । त्यस पछि दुबै तिर तीन÷तीन लेन सडक कटे पछि फेरि एक तह बृक्षारोपण नै गरिनेछ । त्यसपछि केन्द्रमा दुई तह नन स्पट सडक हुनेछ । सडकको दुबै तर्फ सोलार प्रकाशको व्यवस्था हुनेछ । सडक छेउ छाउ मनखुसी होर्डिङबोर्ड राख्न पाइने छैन । होर्डिङ बोर्ड राख्ने ठाउँ डिजाइनकै क्रममा तय भएको छ । सडक किनारका घरहरु एकनासको रङमा सजिँदा र धुलो नउड्ने वित्तिकै बाटो सधैं हिडौं हिडौं लाग्ने हुनेछ । भिरोलो ठाउँमा रेलिङ लगायतको व्यवस्था गरि सुरक्षामा पनि चासो दिइएको छ ।
काठमाडौंका भित्रि सडक यस्तो बनाउन प्रस्ताव गरिएको छ

मध्यम चौडाको ३.२ किलोमिटर लामो थिरबम मार्गबाटै राजधानीको सडक विस्तार सुरु भएको हो । चौडा भए पनि ‘फिनिसिङ’को अभावमा यो सडकको सोभा देखिन पाएको चैन । दुई लेनको यो सडकमा पनि आसपासका घर र वालहरु एकै खाले रङमा सजिनेछन् । सम्भव भए सम्म बृक्षारोपण हुनेछ । दुबै साइडमा पैदल यात्रीको बाटो सुरक्षित गरिएको छ । जहाँबाट ह्विलचेयर समेत हिँडाउन मिल्नेछ ।
सानो चौडाको वुद्धि सागरमा मार्गका पनि आसपासका घर र वालमा समान रङ पोत्ने, पैदल यात्रीका लागि पेटी उठाउन निमले पनि सडकमै रङ लगाएर हिँड्ने भाग छुट्याउने डिजाइन छ । यो सडकमा वृक्षारोपको ठाउँ नभएकाका कारण बाटो आसपासका घरधनीलाई नै रुख विरुवा रोप्न प्रोत्साहन गर्ने सुझाव कन्सल्टेन्टले प्राधिरणलाई दिएको छ । फरक आकार यि तीन सडकको जस्तै विस्तार भएका तथा पुराना अरु सडकमा पनि सौन्दर्य कार्यक्रम लैजाने वित्तिकै काठमाडौंको अनुहार बललिने प्राधिकरणको विश्वास रहेको छ ।
सडक मात्र होइन काठमाडौंमा अत्यन्त सिमित भएको खुला ठाउँ र पार्कलाई पनि व्यवस्थित गर्ने तयारी गरिएको छ । आर्किटेक्ट्स डिजाइन एसोसिएट्स आवद्ध युवाहरुले नै  कमलपोखरीलाई व्यवस्थित गर्ने डिजाइन तयार गरेका छन् । कमलपोखरीलाई सफा गरि वरि परि पार्क बनाउने, केटाकेटीको खेल्ने ठाउँ बनाइदिने, भित्र वस्ने र हिड्नका लागि छुट्टै ठाउँ बनाउने, कम्पाउन्ड बनाएर जहाँ सुकै बाट पस्न नदिने लगायतका व्यवस्था गर्ने वित्तिकै शहरि जनसंख्याको विश्रामस्थल बन्ने प्राधिकरणका उप विकास आयुक्त तिवारीको भनाइ छ ।

अहिले विरुप बनेको कमलपोखरीलाई यस्तो बनाउन प्रस्ताव गरिएको छ

एसोसिट्सका महर्जनका अनुसार ऐतिहासिक पृष्टभूमी वोकेका कमलपोखरीलाई बचाउनेसँगै सार्वजनिक विश्राम र सुस्ताउने थलोको रुपमा विकास हुने गरि नयाँ डिजाइन तयार गरिएको छ । कमलपोखरीको व्यवस्थापनले राजधानीका अरु सार्वजनिक क्षेत्रको उपयोगमा पनि प्रोत्साहन मिल्ने उनी बताउँछन् । पोखरी छेउको नाट्य सम्राट वालकृष्ण समको सालिक समेत पार्क भित्रै समेटेर अर्को आकर्षण थप्ने गरि डिजाइन बनाएको उनको भनाइ छ ।
त्यस बाहेक राजधानीका खुला ठाउँका रुपमा रहेका तीनकुने, नारायणचौरलाई व्यवस्थित गर्ने तयारि थालि सकेको प्राधिरणका उपविकास आयुक्त तिवारी बताउँछन् । ‘तिनकुने, नारायणचौर लगायतका स्थानमा चलि रहेको गाडी÷मोटरसाइकल सिक्ने कार्यमा रोक लगाइ पार्क र वर्गैंचाको डिजाइने बनाउने तयारी सुरु भइ सकेको छ’ उनी भन्छन् ‘जति सक्दो चाँडो यसलाई कार्यान्वयन गर्नेछौं ।’
काठमाडौंको दुषित र निसासिँदो हावालाई ठाउँ ठाउँमा बनाइने पार्क र सडक किनारका रुख विरुवाले स्वच्छ बनाउने छन् । दुई वर्ष भित्र मेलम्ची परियोजना आए पछि यहाँको खाने पानी संकट पनि टाढिनेछ । देशमा तीन वर्ष भित्र लोडसेडिङ अन्त्य होओस नहोस राजधानीका सडक सोलार बत्तिबाट झलमल्ल हुनेछन् ।

सोलार बत्तीले झलमल्ल दरवारमार्ग, यो निजी क्षेत्रको प्रयासमा बनाइएको हो

दरबारमार्ग र सिंहदरबार अगाडी सोलारको उज्यालो बलि सकेको छ र यो राजधानीका अरु भेगमा विस्तार हुने क्रममा छ । सहर भित्रकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि नयाँ स्वरुप र क्षमतामा स्तरोन्नती हुँदैछ । सहरी सुन्दरताको अर्को दृश्य यो पनि बन्ने छ । शहर भित्र सबै नदी/खोला किनारमा छुट्टै ढल बनाएर सफा पानी वग्ने व्यवस्था हुनेछ ।
भित्री सजावट सँगै काठमाडौंलाई वरिपरिबाट घेरेको चक्रपथको बिस्तार र स्तरोन्नती समेत सुरु भइ सकेको छ। चीन सरकारको सहयोगमा कलंकी देखि कोटेश्वर सम्मको बाटो आठ लेन बन्न थालि सकेको छ। चक्रपथमा पनि माइतीघर–तिनकुने सडकमा जस्तै सौन्दर्य र सजावट गरे पछि काठमाडौंको भित्री र बाहिरि दुबै भूभाग रहरलाग्दो हुनेछ।


अहिले यस्तो छ त्रिभूवन विमानस्थल


त्रिभूवन विमानस्थल भित्र यसरी निर्माण पनि चलिरहेको छ

विदेशका सम्बृद्ध सहर जस्तो अग्रिम योजना अनुसार आवास र शहरिकरण नभए पनि ऐतिहासिक महत्व बोकेको हाम्रो काठमाडौं अबका केहि बर्ष भित्रै बस्नै नसिकने निसाँसिदो सहर सूचीबाट माथि उठ्नेमा शंका छैन । र, त्यसका धेरै विश्वासलाग्दा संकेतहरु यहि २०७१ मा देखिनेछन् ।