राजधानीमा सुरु भयो पाँच तारे सिनेमा हल, भित्रै खानाको सुविधा, सुतेर फिल्म हेर्न मिल्ने

बिजमाण्डू
२०७१ बैशाख ४ गते ००:०० | Apr 17, 2014
राजधानीमा सुरु भयो पाँच तारे सिनेमा हल, भित्रै खानाको सुविधा, सुतेर फिल्म हेर्न मिल्ने
काठमाडौं। सुन्धार स्थित सिभिल ट्रेड सेन्टर (सिटिसी) मलमा स्थापित नेपालकै सर्वाधिक 'लक्जरी सुविधायुक्त' फिल्म हल सिने–डे–सेफसञ्चालनमा आएको छ। हास्यकलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य तथा नायिका निशा अधिकारीले सिने–डे–सेफका दुबै हलको बिहिबार उद्घाटन गरे।
शुक्रबार देखि दर्शकका लागि नियमित सो सुरु हुने कम्पनीका प्रबन्ध निर्देशक गौरभ गोयलले जानकारी दिए। हलमा फिल्म हेर्न कम्पनीको वेव साइटबाट समेत बुकिङ गर्न सकिन्छ। फिल्महलमै चाइनिज, थाई, इन्डियन र कन्टिनेन्टल खानाको व्यवस्था छ। काठमाडौंका अरु हलमा चिसो र पपकर्न मात्र उपलब्ध हुने गरेकोमा सिनेडेसेफले ब्रेक फाष्ट, लन्च र डिनर तीन वटै उपलब्ध गराउने गोयलले बताए। कम्पनीले दर्शकको सुविधाका लागि आफैं पाँच तारे किचन चलाउने उनको भनाइ छ।
राजधानीमा लक्जरी सुविधायुक्त मनोरञ्जनको अभाव देखेकाले आफुले मल्टिप्लेक्स निर्माण गरेको उनको भनाइ छ। सिटिसी मलको सातौ र आठौं तलामा निर्माण भएका दुई थिएटर मध्ये एउटा सिने डाइन हो भने अर्को सिने। सिने डाइनमा ५८ वटा लक्जरी सोफा छन्। जसलाई १८० डिग्री सम्म फोल्ड गर्न मिल्छ। सोफामा जडित प्रविधिबाट बसेकै ठाउँमा मसाज हुन्छ। सिनेका दर्शकले सोफा पछाडि राखिएको स्विच दबाएर हलभित्रै खाना मगाउन सक्छन्। हरेक सोफाको अगाडी टेबुल रहेकाले त्यहिँ खाना खान मिल्छ। खाना खान सजिलो होस भनेर प्रत्येक सोफामा लाइटको व्यवस्था छ। यो हलमा समय हेरेर छ सय देखि एक हजार पाँच सय सम्मको टिकट शुल्क तोकिएको छ। किचन र वार समेत त्यहिँ भएकाले कुनै कम्पनीले हल वुक गरेर आफ्नो प्राइम क्लाइन्टहरुलाई पार्टी आयोजना समेत गर्न सक्छ। 
दर्शक क्षमतामा सिने डाइन सिनेभन्दा झन्डै तीन गुणा सानो छ। सिने एक सय ६८ सिट क्षमताको छ। त्यसमा ४० वटा सोफा र बाँकी सिट पनि राजधानीका अरु हलभन्दा सुविधा सम्पन्न रहेको गोयलको दाबी छ। अरु हलमा अधिकतम २० इन्चको कुर्सी रहेकामा सिनेडेसेफमा २३ इन्चको रहने उनले बताए। यो थिएटरमा आउने दर्शकले पनि भित्रै खाना खान सक्नेछन्। तर, सर्भ भने आफैं गर्नु पर्छ। यहाँको टिकट शुल्क चार सय देखि सात सय रुपैयाँसम्म तोकिएको छ।
यि दुई अडिटोरियमको लवी समेत छुट्टा छुट्टै छ। अनावश्यक भीडभाड नहोस र दर्शकको गोपनियता सुरक्षित होस् भनेर यस्तो व्यवस्था गरेको गोयल सुनाउँछन्। हलको साउन्ड, प्रोजेक्टर र स्त्रि्कन तीनवटैमा विश्वमा विकास भएका पछिल्लो प्रविधि प्रयोग गरिएको छ। अमेरिकी कम्पनीले सिने र सिनेडाइनकै लागि भनेर साउन्ड सिस्टम बनाएको हो। 'हाम्रो हलको प्रकृति, दर्शक क्षमता लगायत सबै कुरालाई आधार बनाएर हाम्रै लागि यो साउन्ड सिष्टम विकास गरिएको हो' गोयलले भने। 
भारतमा समेत यो गुणस्तरका हल धेरै नबनेको उनको दाबी छ। हलको कार्पेट समेत 'साउन्डप्रुफ' छ। चलि रहेका तथा आउने फिल्म बारे जानकारी दिन लविमा मल्टिमिडिया स्त्रि्कनको व्यवस्था छ। लवीबाट भित्र हल सम्मनै परिवर्तनशील 'लाइट टेक्नोलोजी' छ, जसले फिल्मको दृश्य अनुसारको प्रकाश प्रवाह गर्छ। फिल्मको दृश्यलाई दर्शकले अनुभव गर्न सकुन् भन्नेमा आफुहरु सजग रहेको उनको भनाइ छ।
'हामीकहाँ फिल्म हेर्नेहरु दर्शक मात्र नभइ फिल्मकै एउटा पार्ट बन्न सक्नुहोस् भन्ने चाहना राखेर हल निर्माण गरेका छौं' उनले भने। महजोडीले समेत विश्वका बिभिन्न देश घुम्दा पनि सिनेडिसेफ स्तरको हलमा नपुगेको बताए। कम्पनीले २०१४ भित्रै राजधानी तथा बाहिर थिएटर विस्तार गर्ने योजना बनाएको छ। काठमाडौंका केहि ठाउँ र बाहिर पोखरा, नेपालगञ्ज, धरानलाई नयाँ बजारको रुपमा कम्पनीले ठम्याएको छ।

Tata
GBIME
Nepal Life