महासंघका अध्यक्ष र वरिष्ठ उपाध्यक्षले भने – हामी मिलेर जान्छौं, श्रम लचकतामा जोड दिनु पर्ने

बिजमाण्डू
२०७१ बैशाख ५ गते ००:०० | Apr 18, 2014

काठमाडौं। नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डे र वरिष्ठ उपाध्यक्ष पशुपति मुरारकाले आफुहरु अलग अलग प्यानलबाट निर्वाचित भए पनि अब एकढिक्का भएर अघि बढ्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको महासंघका नवनिर्वाचित पदाधिकारीहरुसँगका अर्थ सम्बादमा दुबै पदाधिकारीले चुनावी अन्तरविरोध सकिएको बताएका हुन्।
अध्यक्ष पाण्डेले पराजित भएका 'साथीहरु'लाई समेत उचित स्थान दिएर अघि बढ्ने बताए। 'महासंघले निजी क्षेत्रका आम मुद्दासँगै लगानी बृद्धिलाई प्राथमिकताका साथ अघि बढाउनु पर्नेछ' उनले भने 'त्यसका लागि पक्ष विपक्षमा नलागी हामी सबै एक ढिक्का भएर अघि बढ्नेछौं।' वरिष्ठ उपाध्यक्ष मुरारका ले आफु कट्टर प्यानल पक्षधर नभएको प्रष्ट्याए।  'निर्वाचित अध्यक्षलाई सहयोग गरेर महासंघलाई एक ढिक्का बनाएर लैजानेछौं' उनले भने। मुरारका अध्यक्षका पराजित उम्मेद्वार भाष्करराज राजकर्णीकारको प्यानलमा थिए। मुरारका सहित एसोसिएट उपाध्यक्ष शेखर गोल्छा पनि राजकर्णीकार समुहबाट विजयी भएका हुन्। पाण्डे समुहबाट दुई उपाध्यक्ष जिल्ला नगरका किशोर प्रधान र वस्तुगतका दिनेश श्रेष्ठ विजयी बनेका छन्।
शुक्रबारको अर्थसम्बादमा मजदुर–मालिक सम्बन्धका बारेमा समेत नयाँ सोच विकास हुनु पर्ने महासंघ पदाधिकारीले बताए। अध्यक्ष पाण्डेले मजदुर मुद्दा नयाँ चरणमा प्रवेश गरेको भन्दै 'नो वर्क नो पे' नभइ अब 'मोर वर्क मोर पे'को अवधारणा अनुसार आफुहरु अघि बढ्ने बताए। एसोसिएट उपाध्यक्ष गोल्छाले न्युनतम पारिश्रमीकको नाममा रोजगारी पाएका व्यक्तिहरुको पछाडि मात्र सरकार र ट्रेड युनियनहरु लागेको आरोप लगाए। सडकमा खान नपाएर भोकभोकै बसेका व्यक्तिहरु प्रति राज्य बढि संवेदनशील हुनु पर्ने उनको भनाइ छ। 'हामीले रोजगारी सिर्जना गर्ने तर्फ बढि ध्यान दिनु पर्छ' उनले भने 'न्युनतम पारिश्रमीकको पछाडि मात्र अल्भि्कँदा रोजगारी सिर्जना हुने धेरै ठाउँ छुटि रहेका छन्।' न्युनतम पारिश्रमीक पाए पछि क्षमता अनुसार काम नगर्ने प्रबृत्ति मौलाएको हुँदा आफुहरुले 'हायर एन्ड फायर' को नीति माग गरेको उनले बताए।
बस्तुगत उपाध्यक्ष श्रेष्ठले आफुहरुले सदैब श्रमीकहरुको म्मान गर्ने बताए। 'श्रमीक साथीहरु बिना हाम्रो व्यवसाय चल्दैन' उनले भने 'तर, ट्रेड युनियनको नाममा राजनीति गर्ने संस्कृतिले रोजगार दाता र श्रमजिवीहरुको सम्बन्ध बिगारी रहेको छ।' जिल्ला नगर उपाध्यक्ष प्रधानले विदेशमा ५० डिग्री सेल्सिएसको तापक्रममा १६ घन्टा काम गर्ने तर स्वदेशमा आठ घन्टा काम गर्न पनि हिच्किचाउने प्रबृत्तिको आफुहरुले अन्त्य चाहेको बताए। नेपालीले १६ घन्टा यहाँ काम गर्ने हो भने विदेशमा भन्दा दोब्बर कमाउन सक्ने उनको दाबी छ।

Tata
GBIME
Nepal Life