बिमाको बृद्धि अस्वभाविक, बैंकमा प्रतिफल चाँडो

बिजमाण्डू
२०७१ बैशाख ६ गते ००:०० | Apr 19, 2014
बिमाको बृद्धि अस्वभाविक, बैंकमा प्रतिफल चाँडो


२०६८ चैतमा दुई सय ९८ अंकमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक क्रमिक रुपमा बढ्दै आठ सय ३० अंकभन्दा माथि पुग्यो, तर त्यसयता नेप्सेको वृद्धि टिकाउ रहेन, सुस्त भएर बसेको छ। यसको मुख्य कारण बैंक तथा वित्तीय संस्थामा लगानीकर्ताहरुको आत्मविश्वास बढ्न नसक्नु हो। 
अहिले बजारमा बैंकिङ क्षेत्रमा 'कनिफडेन्स' किन कम छ भने बीमा र जलविद्युत् कम्पनीमा लगानी गरेकाले आजको भोली नै कमाइ रहेका छन्। यता बैकिङ क्षेत्रका लगानीकर्ताले आजको भोली त्यतिको आम्दानी गर्न सकेका छैनन्। 
……
 राजकुमार तिमिल्सिना
अध्यक्ष
इन्भेष्टर्स फोरम

अत्मविश्वास बढेमा बैंक तथा वित्तीय संस्थाका सेयरका कारण बजार निकै माथि जानेछ, जसले गर्दा २०६५ भदौको उच्च विन्दु एक हजार एक सय ७५ अंकलाई पनि सजिलै पछि पार्ने छ।

केही विश्लेषकहरुले बैंकको १९ प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा रुपान्तरण गर्नुपर्ने नियमका कारण नेप्से बढ्न नसकेको भन्छन्, तयसमा सत्यता किन छैन भने अहिले पनि बजारमा यसरी रुपान्तरणको लागि बिक्रीमा आएका सेयर खपत भइनै रहेको छ। करिब ६/७ वटा कम्पनीको यस्तो सेयर बजारले सजिलै ग्रहण गरिसकेको छ। रुपान्तरण हुने सेयर १९ प्रतिशत भएपनि त्यो पुरै बजारमा विक्रीका लागि आउँछ भन्ने पनि होइन। यसको केही अंश मात्र बजारसम्म आइपुग्ने हो।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि तोकेका पाँच प्रतिशतको स्प्रेड दर (कर्जामा लिने र निक्षेपमा दिने ब्याजको अन्तर) को कारण नाफा घट्छ भन्ने गरिन्छ। स्प्रेड आगामी आर्थिक बर्षबाट मात्र लागू गरिने भएकाले त्यसको असर यो बर्षको व्यालेन्सिटमा देखिँदैन। विश्व बैंकलगायतले स्प्रेड कार्यान्वयन गर्न हुन्न भनिरहेका बेला मनोवैज्ञानिक त्रास पनि छैन। 
रियल स्टेटमा बैंकहरुले गरेको कर्जा प्रवाहमा समस्या देखिएको छैन, पहिले यो क्षेत्रमा भएको कर्जा पनि उठ्दै गएको छ जसले गर्दा नोक्सानी व्यवस्था (प्रोभिजनिङ) कालािग लागि राखिएको पैसा आम्दानीका रुपमा राइट ब्याक भइरहेको छ। यस आधारमा हेर्दा बैंकहरुको नाफामा कुनै समस्या छैन। चालु आवको तेस्रो त्रैमाशमा बैंकहरुको वित्तीय विवरण निकै राम्रो आउने देखिएको छ। अहिले बजारमा सञ्चालन मुनाफाको सन्दर्भमा आइरहेको अपुष्ट खबरहरुले पनि बैंकहरुको अवस्था निकै राम्रो रहेको देखिन्छ।
अहिले बजारमा बैंकिङ क्षेत्रमा 'कनिफडेन्स' किन कम छ भने बीमा र जलविद्युत् कम्पनीमा लगानी गरेकाले आजको भोली नै कमाइ रहेका छन्। यता बैकिङ क्षेत्रका लगानीकर्ताले आजको भोली त्यतिको आम्दानी गर्न सकेका छैनन्। यसको मनोवैज्ञानिक असर बैंकिङ क्षेत्रका सेयरमा परेकाले समग्र बजार अपेक्षित रुपमा माथि जान नसकेको हो। 
बीमा क्षेत्रका कम्पनीहरुको मूल्य बढिरहेको छ। नेप्सेमा सूचीकृत दुई सय ३४ कम्पनीमध्ये बीमा कम्पनीको संख्या १४ वटा रहेको छ। त्यस्तै, सूचीकृत करिब दुई सय बैंक तथा वित्तीय क्षेत्रका कम्पनीले बीमा कम्पनीको सेयर खरिद गर्न पाउँछन्। दुई सय सबैले लगानी नगरेपनि कम्तिमा एक सयले बीमा कम्पनीको सेयर खरिद गरिरहेका छन्। अहिले बिकास बैंक र फाइनान्सहरु सबैले नै बीमा कम्पनीको सेयर बजारबाट उठाइरहेका छन। यसले बीमाको सेयर निश्चित व्यक्ति तथा संस्थाको हातमा पुगेको छ , जसले गर्दा बजारमा बिमाको सेयर मागको तुलनामा आपूर्ती कम भइरहेको छ। बिमाको सेयर एउटा तप्कामा गएर बसेकाले मूल्य प्रभावित पार्ने काम पनि भएको छ। बीमा क्षेत्रको मूल्य वढ्नुको मूख्य कारण यही हो। 
प्रतिफलका हिसाबले बीमा क्षेत्रमा लगानी भएको छैन। किन भने बिमाभन्दा वढी प्रतिफल हुने क्षेत्रका सेयर मूल्य बढेर विक्री भइरहेका छैनन्। उदाहरण कै रुपमा, बीमा क्षेत्रका सबैभन्दा कम सेयर मूल्य भएका गुराँस लाइफ र सूर्यलाइफ कम्पनीलाई हेरौं। दुवैले यस बर्ष जम्मा सात/आठ प्रतिशतको दरमा लाभांश दिन सक्छन। तर सेयर मूल्य पाँच सय रुपैयाँ छ। प्रति कित्ता पाँच सय लगानी गरेर सात/आठ रुपैयाँ (अंकित मूल्य एक सय भएकोले) पाउँन लगानीकर्ता किन आतुर छन्? जबकी जनता बैंकले १५ प्रतिशत लाभांश दिने घोषणा नै गरिसकेको छ र बैंकको सेयर मूल्य पनि दुई सय ६० मात्र छ। प्रतिफलका हिसावले त जनता बैंक राम्रो देखिनु पर्ने हो। किन लगानीकर्ता यसमा आकर्षित छैनन्? बीमा कम्पनीहरुको आपुर्ती कम छ, यसैबाट फाइदा लिएर केही लगानीकर्ताहरु मूल्य वृद्धि गराइरहेका छन। साना लगानीकर्ताले धमाधम मूल्य बढेको बिमा क्षेत्रमा आकर्षित भएर यस्तो भएको हो। 
साथसाथै बिमा कम्पनीको पूँजी वृद्धिको कुरा पनि छ। बीमा कम्पनीको चुक्तापूँजी बढाउनु पर्छ भन्ने कुरा कहाँ आएको छ? ऐन आउने क्रममा छ भनेर त्यसैको आधारमा लगानी गर्नु, त्यो पनि उच्च मूल्यमा कत्तिको उपयुक्त हो? त्यसो त बैंकहरुले पनि पुँजी बढाउनु पर्ने हुन्छ बासेल थ्री लागु भएपछि। बासेल थि्रको अवधारणा त आइसकेको छ। अहिलेको लागि बीमा समितिले कम्पनीहरुलाई तोकेको चुक्तापूँजी त सबैले पुर्‍याउन लागिसकेका छन। अहिले बीमा कम्पनीको सेयरको आपूर्ती कम,  असिमित लगानीकर्ता भएकै कारण प्रतिफल नभएपनि सेयर मूल्य उच्च भएको छ। 
नेपालमा लगानीकर्ता वास्तविक धरातलमा छैनन भन्ने उदाहरण अर्काे पनि छ, अहिले तारागाँउ रिजेन्सी होटेलको सेयर मूल्य किन बढिरहेको छ? होटेलले तीन बर्षसम्म प्रतिफल दिन सक्ने अवस्था छैन। मानौं तीन बर्षपछि होटेलले ५० प्रतिशत नै प्रतिफल दियो भने पनि बार्षिक औसतमा १५/२० प्रतिशत लाभांश लगानीकर्ताले पाउँने हुन। तीन बर्षसम्म लगानीकर्ता किन कुर्न खोजिरहेका छन,? जबकी अन्य कम्पनीहरुबाटै उनीहरुले अहिले बार्षिक १५/२० प्रतिशत लाभांश पाउँन सक्छन्। मनोवैज्ञानिक प्रभाव कै कारण निश्चित मानिसहरुले मूल्यमा खेल्न सकिरहेका छन्। यसले बैंकमा लगानी गर्नेहरु पनि उत्साहित हुन सकेका छैनन्, किनभने प्रतिफल नै नदिइरहेको कम्पनीमा आज किने भोली नाफा पाउने अवस्था बनिरहेको छ। त्यही भएर बैंकहरुको मूल्य बढ्न सकेको छैन। 
हुनतः अहिले कसैले पनि बीमा कम्पनीमा लगानी गरेर घाटा खाएर सेयर बेच्नु परेको छैन। अहिले यो क्षेत्रमा लगानी गर्ने दुवै 'विन विन' अवस्थामा छन्। तर, पछि त एक पक्षले गुमाउनै पर्छ। मूल्य उच्च भइरहेकोले स्वभाविक रुपमा त्यो गुमाउने पक्षले 'सफरर' हुनु पर्छ। बीमा कम्पनीहरुले हाललाई तोकेको चुक्तापूँजी पुर्‍याइ सकेका छन। यदी मानौं ऐन नै आयो भने पनि कम्पनीहरुले चुक्ता पूँजी वृद्धि गर्ने अवधि कति पाउँछन त्यो पनि ख्याल गर्नुपर्छ। यसअघि पनि २०६८ साल असार मसान्तमै निर्जीवन बीमा कम्पनीहरुलाई चुक्तापूँजी बढाएर २५ करोड र जीवन बीमा कम्पनीहरुलाई ५० करोड रुपैयाँ पुर्‍याउनु पर्ने व्यवस्था गरिएको थियो। तर पटक पटक समय बढाउदै लिगएकै हो। त्यसैले ऐन पारित भएर आयो र बीमा कम्पनीहरुलाई चुक्तापूँजी थप वृद्धि गर्नुपर्ने अवस्था आयो भने पनि त त्यो समय कहिलेसम्म हुने भन्नेमा अनभिज्ञ नै छौं हामी सबै। त्यसैले भोली हुने सम्भावित नाफाको अनुमानमा अहिले भइरहेको नाफालाई नजर अन्दाज गर्नु कतिको ठिक हुन्छ? दीर्घकालिन लगानी गर्ने भनेको आफुसँग भएको दबाब बिहीन रकमले हो तर बैंकहरुसँग व्याज लिएर गरेको यस्तो लगानीको व्याज उठाउन नै समस्या नआउला भन्न सकिन्न। पछि आउने प्रतिफलले अहिले देखिको व्याजको खर्च धान्न सक्छ कि सक्दैन पनि ध्यान दिनुपर्ने बिषय हो। चुक्ता पुँजी वृद्धि हुनु भनेको कम्पनीहरुको प्रतिसेयर आम्दानी पनि घट्नु हो, त्यसैले अहिलेको मूल्यले त्यसलाई पनि सहयोग नगर्ने अवस्था रहन्छ।  
नेप्से ११७५ हुँदा बैंकिङ परिसूचक बेञ्जमार्क परिसूचकभन्दा माथी थियो तर अहिले नेप्से आठ सय पुग्दा बैंकिङ सुचक सात सय ३० मुनि छ। परिसूचक ११७५ हुँदा बीमा समूहको परिसूचक नौं सयको हाराहारीमा थियो। तर आज नेप्सेभन्दा बीमा समूहको परिसूचक तीन गुणा बढि छ। परिसूचकको कम्पोजिशन सुचीकृत सबै संस्थाको आधारमा बनाइएको छ र यसमा बैंक तथा वित्तीय संस्थाको हिस्सामा यसमा सबैभन्दा धेरै छ। तर न्युन हिस्सा भएको एउटा समूहको परिसूचकमा तीन चार गुणाको वृद्धि हुनुले भोली यो क्षेत्रमा हुन सक्ने दुर्घटनाको समग्र बजारमा असर नपरोस भन्ने नै हाम्रो उदेश्य हुनु पर्छ। 
परिसूचकलाई मात्र आधार मान्ने हो भने यसभन्दा अघिल्लो पटक पाँच सयको सतहबाट नेप्से ११७५ मा पुगेको देखिन्छ। कारोबारको परिमाण हेर्ने हो भने त्यो समय १० करोडको कारोबार हुन्थ्यो भने अहिले ५० करोडसम्म कारोबार हुन थालेको छ। अघिल्लो 'बुल' लाई कटेर दोब्बरले परिसूचक बढ्ने गरेको प्रवृत्तिलाई हेर्दा यसपटक दुई हजारको हाराहारीमा नेप्से परिसूचक पुग्न सक्छ। सीडिएस एण्ड क्लियरिङ लिमिटेड सञ्चालनमा आएर अनलाइन टे्रडिङ सुरु हुन सकेमा बजारले यो तह भेट्ने छ।  
प्रस्तुतीः विजयराज खनाल 
 

Tata
GBIME
Nepal Life