सिटिजन्स बैंकको नाफा ३३ प्रतिशतले वृद्धि, खुद व्याज आम्दानीको वृद्धि न्युन, छ करोड राइट ब्याक

बिजमाण्डू
२०७१ बैशाख ७ गते ००:०० | Apr 20, 2014
काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनलको चालु आवको तेस्रो त्रैमाशमा अघिल्लो बर्षको तुलनामा ३३ प्रतिशतले नाफामा वृद्धि भएको छ । बैंकको गत आवको यही अवधिमा २२ करोड ८५ लाख रुपैयाँ नाफा भएकोमा यस बर्षभने ३० करोड ४० लाख रुपैयाँ नाफा भएको छ । बैंकको नाफा दोस्रो त्रैमाशको तुलनामा भने २८ प्रतिशतले बढेको हो । 
गत आवको यो अवधिको तुलनामा बैंकको खुद व्याज आम्दानी भने २.५३ प्रतिशतले मात्र बढ्न सकेको छ । गत बर्ष ७५ करोड ६४ लाख यस्तो आम्दानी भएको बैंकको ७७ करोड ५७ लाख रुपैयाँ पुगेको छ । बैंकको खुद व्याज आम्दानी कम बढ्नुमा स्प्रड दर (निक्षेमा दिने व्याज र कर्जाको व्याज बीचको अन्तर) कम गरिनु पनि देखिएको छ । बैंकले दोस्रो त्रैमाशमा ६.५९ कायम गरेको स्प्रेडदर तेस्रो त्रैमाशमा झारेर ६.०३ मा सिमित बनाएको छ । बैंकको अघिल्लो बर्षको तुलनामा व्याज आम्दानी १३ प्रतिशतले र  व्याज लागत २३ प्रतिशतले बढेको छ । तर दोस्रो त्रैमाशको तुलनामा भने हालको बैंकको खुद व्याज आम्दानीमा करिब ५३ प्रतिशतले वृद्धि भएको छ । दोस्रो त्रैमाशको तुलनामा व्याज आम्दानी ४९.७९ प्रतिशत र व्याज लागत पनि ४७.४७ प्रतिशतले बढेको छ । 
बैंकको कर्जा बिस्तार भने राम्रो देखिन्छ । अघिल्लो बर्षको तुलनामा बैंकको कर्जा २० प्रतिशतले बढेर २१ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ, निक्षेप पनि १६ प्रतिशतले बढेर २५ अर्ब चार करोड रुपैयाँ पुग्यो । दोस्रो त्रैमाशको तुलनामा भने निक्षेप तीन प्रतिशतले र कर्जा छ प्रतिशतले बढेको हो । बैंकको रियल स्टेटमा भएको कर्जा लगानी गत बर्षको तुलनामा साढे सात प्रतिशतले घटेर दुई अर्ब ५९ करोडमा सिमित भएको छ । यो कुल कर्जाको आधारमा भने करिब १२ प्रतिशत लगानी हो । बैंकको कर्जा निक्षेप अनुपात ७७.६३ रहेको छ । 

Tata
GBIME
Nepal Life
बैंकले बैदेशिक बिनिमयबाट सात करोड ८७ लाख नाफा कमाएको छ । बैंकको कर्मचारी र अन्य खर्च १० प्रतिशतले बढेको छ । बैंकले यसअघि सम्भावित जोखिम बापत छुट्याएको छ करोड ४५ लाख फिर्ता ल्याएको छ । तर यो अघिल्लो बर्षको भन्दा ५० प्रतिशतले कम हो । बैंकले यसपटक सम्भावित जोखिम बापतको व्यवस्था पनि ६.६४ प्रतिशतले कम गरेर ३० करोड २७ लाख बनाएको छ । बैंकको सञ्चालन नाफा भने साढे २६ प्रतिशतले बढेर ३९ करोड ९१ लाख रुपैयाँ पुगेको छ । 
बैंकको पुजी कोष पर्याप्तता १२.९७ रहेको छ । त्यस्तै, बैंकको कुल कर्जामा खरबा कर्जाको हिस्सा दुई प्रतिशत रहेको छ भने सम्भावित जोखिम वापत शतप्रतिशत रकम छुट्याएको छ । बैंकको कोष लागत ६.३८ बाट घटेर ५.३२ मा सिमित भएको छ । बैंकको बेस रेट ८.२२, प्रतिसेयर आम्दानी १९.२९, मूल्य आम्दानी अनुपात २२.५० र प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ रहेको छ ।