३३ प्रतिशत नाफा बढेको सिटिजन्सको सेयर मूल्य नौं रुपैयाँ घट्यो, अन्य र वित्त समूहकाे सूचक बढ्यो

बिजमाण्डू
२०७१ बैशाख ७ गते ००:०० | Apr 20, 2014
३३ प्रतिशत नाफा बढेको सिटिजन्सको सेयर मूल्य नौं रुपैयाँ घट्यो, अन्य र वित्त समूहकाे सूचक बढ्यो
काठमाडौं। चालु आवको तेस्रो त्रैमाशमा ३३ प्रतिशतले नाफा बढेको सिटिजन्स बैंकको सेयर मूल्य नौं रुपैयाँले घटेको छ । बैंकको चार सय १८ रुपैयाँमा सेयर कारोबार भयो । बैंकले तेस्रो त्रैमाशमा ३० करोड ४० लाख नाफा कमाएको छ । वाणिज्य बैंक मध्येबाट सिटिजन्स बैंकको मात्र तेस्रो त्रैमाशको वित्तीय विवरण सार्वजनिक भएको छ । बैंकको धेरै जसो ठुलो परिमाणको म्याचिङ कारोबारमा मूल्य घटेको देखिन्छ । आइतवार पनि लगानीकर्ताले बैंकको सेयरको लागि अधिकत्तम चार सय २९ रुपैयाँसम्म हालेका छन । यो मूल्य अघिल्लो दिनकोभन्दा दुई रुपैयाँले बढि हो । बैंकको कुल दुई करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बैंक कारोबार रकमको आधारमा आइतवार दोस्रो स्थानमा छ ।
नाफा बढेपनि कम्पनीको सेयर मूल्य घटेपछि यो क्षेत्रका लगानीकर्ताहरुको आत्मविश्वास बढ्न सकेको देखिदैन । वाणिज्य बैंक समूहको परिसूचक २.१७ अंकले घटेको छ । तर वाणिज्य बैंकहरु सबैजसोको मूल्य १.५ प्रतिशतभन्दा कमले घटेको छ । बैंकहरुको लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको पनि यसले देखाउँछ । आइतवार सेयर बजारमा सुधार आउन सकेन । ‘अन्य’ र वित्त बाहेक सबै समूहको परिसूचक घटेपछि नेप्से उकालो लाग्न नसकेको हो । नेप्से २.६७ अंकले घटेर ८०८ मा आइपुग्यो ।  बीमा र जलविद्युत् समूहको परिसूचक दोहोरो अंकले घटेको छ । बीमा समूहको नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स लगायतका कम्पनीको सेयर मूल्य घटेको छ । यो समूहको परिसूचकमा पछिल्लो समय भएको उच्च वृद्धिबारे बजारमा मिश्रित प्रतिक्रियाहरु रहेको छ । केही पक्ष यो समूहको परिसूचकमा भएको वृद्धि स्वभाविक रहेको भने केही अस्वभाविक भएको मान्छन । नेपाल इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स, लुम्बिनी जनरल लगायतका बीमा कम्पनीको मूल्य भने बढेको छ ।   

Tata
GBIME
Nepal Life
यो दिन मूल्य बढेका कम्पनीहरुको सेयर मूल्यमा पनि झिनो फेरबदल देखिएको छ । यसले बजारले अझै निश्चित गति पाउन नसकेको देखाउँछ । होटेल समूहको परिसूचक करिब १० अंकले घटेको छ । ओरियण्टल होटेलको सेयर मूल्य २९ रुपैयाँ, तारागाँउ होटेल पाँच रुपैयाँले मूल्य घट्यो ।