अग्नीले ९४ करोड माग्यो, बिक्रीबाट आएको रकमले बैंक ऋण तिरिने, पाँचै जहाज उडाउने तयारी

बिजमाण्डू
२०७१ बैशाख ९ गते ००:०० | Apr 22, 2014
सुदर्शन सापकोटा/बिजमाण्डू 
काठमाडौं । लिजमा चलाइरहेको सिम्रिक एयरलाइन्स प्रालिले सम्पूर्ण स्वामित्वसहित अग्नी एयरलाइन्स प्रालि खरीद गर्ने निश्चित भएको छ । गत कात्तिकदेखि सिम्रिकले लिजमा अग्नीका दुई वटा जहाज नाम फेरेर उडान गरिरहेको छ । खरिद गरिसकेपछि सिम्रिकले पाँच वटै जहाज आफ्नो नामबाट उडाउने छ । 
सिम्रिक स्रोतका अनुसार, अग्नी एयरलाइन्सका पाँच जहाजसहित सम्पूर्ण सम्पति ९२ करोड रुपैयाँमा खरिद गर्ने निर्णय भइसकेको छ । घरजग्गा ऋणका कारण वित्तीय संकटमा परेका सुधिर बस्नेत समूहको स्वामित्वमा रहेको अग्नी एयरबाट आएको रकम बैंक ऋण तिर्न प्रयोग हुने छ । बस्नेत समूहले भने ९४ करोड रुपैयाँको माग गरेको छ । ‘जम्मा दुई करोडको कारणले डिल केही ढिलाइ भएको हो, यसै साता सबै टुङ्गो लागेर अग्नी पूर्ण रुपमा सिम्रिकको स्वामित्वमा आउने छ,’ सिम्रिक स्रोतले भन्यो । 
गत कात्तिकमा नयाँ व्यवस्थापनसहित अग्नी एयरको नाम परिवर्तन गरेर सिम्रिकले आफ्नो नामबाट उडान सुरु गरेको थियो । बैंकको ऋणका कारण अग्नी करिव एक बर्षभन्दा वढी समय ग्राउन्डेड भएको थियो । घरजग्गामा गरेको लगानी डुबेपछि अग्नी एयरका प्रवद्र्धकहरुले नाफामा रहेको एयरलाइन्स उडाउन सकेका थिएनन् । ऋण तिर्न नसकेपछि बैंकहरुले अग्नीलाई लिलामीमा पठाउने प्रकृयासमेत सुरु गरेका थिए ।
अग्नी एयर बैंकको ऋण र सरकारी निकायलाई वुझाउनु पर्ने शुल्क तिर्न नसकेर उड्न नसक्ने गरि ग्राउन्डेड भएको थियो । घरजग्गा व्यवसायी सुधिर वस्नेत र समूहले सञ्चालन गरेको अग्नी सिम्रिक एयरलाइन्सले पाँच बर्षका लागि लिजमा लिएर उडान सुरु गरेको  थियो । सिम्रिकले डोर्नियर उडान गरिरहेको छ 
अग्नीका पाँच वटा बिमान छन् । अग्नीको नाममा अब बैंकमा करिव ७५ करोड रुपैयाँ ऋण छ ।  अग्नीका पाँचवटा जहाज वाहेक भक्तपुरका विभिन्न ठाउँमा जग्गा, घरलगायत छन् । बैंकहरुले २९ सिट क्षमतायुक्त तीनवटा जेटस्ट्रिम–४१ र १९ सिटे दुईटा डोर्नियर–२२८ मोडेलका जहाज धितोमा ऋण दिएका हुन्। 
अग्नि एयर प्रालि २०६० पुस १७ मा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको थियो। अग्नी एयरको नाममा रहेको ऋणको असोजसम्मको किस्ता सिम्रिक एयरलाइन्सले बैंकलाई भुक्तानी गरिसकेको छ । बैंकको बाँकी ऋण तिर्ने जिम्मा पनि औपचारिक रुपमा नै सिम्रिकले लिएको छ । यसै शिलशिलामा सिम्रिकले अग्नीको सम्पूर्ण स्वामित्व नै आफूले ग्रहण गर्न खोजेको हो । सिम्रिक एयरलाइन्स रामेश्वर थापाको हो । 
अग्नी एयर चलाउन यसअघि पोखराको नमस्ते एयर प्रालिले पनि पहल गरेको थियो । पर्याप्त नगद नभएका कारण नमस्तेले अग्नी उडाउन सकेन । नमस्तेले अग्नीको नाममा रहेको केही ऋण बैंकलाई भुक्तानी पनि गरेको थियो । अग्नी लिएपछि नमस्तेले भुक्तानी गरेको ऋण पनि सिम्रिकले तिरिदिएको थियो ।
सुधिर बस्नेतले गत बर्षको असोजदेखि ऋणको किस्ता तिर्न छाडेका थिए । अग्नीले ऋण तिर्न छाडेपछि बैंकले लिलाम प्रकृया थालेको थियो । वस्नेतले लिलामी रोक्नका लागि निवेदन दिएपछि अदालतको निर्देशनमा लिलामी प्रकृया स्थगित भएको थियो।
लिलामी प्रकृया स्थगितसँगै नयाँ व्यवस्थापनको विकल्पमा छलफल सुरु भएको थियो। बैंक, पुरानो व्यवस्थापन र नयाँ व्यवस्थापनबीच सकारात्मक छलफल भएपछि पाँच बर्षको लिजमा अग्नी एयर सिम्रिकको नाममा उड्न सुरु गरेको हो । अग्नीले पहिलो उडान लुक्लाबाट थालेको थियो ।
ग्रान्ड बैंकको नेतृत्वमा सनराइज बैंक र आइएलएफसी वित्तीय संस्थाले सहवित्तीयकरणमा अग्नीलाई लगानी गरेका थिए। सिम्रिकले अग्नी अरिद गरेपछि ऋण नियमित हुने सहवित्तीयकरणमा ऋण दिने एक संस्थाका प्रमुखले जानकारी दिए । 
अग्नी एयर आर्थिक संकटमा परेपछि केही स्थानीय र विदेशी लगानीकर्ता अधिकांस स्वामित्व लिएर खरिदका लागि  इच्छुक देखिएका थिए। सिम्रिकले यसअघि घरजग्गा व्यवसायी राजेन्द्र श्रेष्ठको गुण एयरलाइन्स पनि लिएको थियो । अघिल्लो आर्थिक वर्ष २८ करोड रुपैयाँ खुद नाफा गरेको अग्नी एयरमा ग्रान्ड र सनराइजले ३५ प्रतिशतका दरले र वाँकी ३०  प्रतिशत आइएलएफसीले ऋण लगानी गरेका छन्। 

Tata
GBIME
Nepal Life