पुषसम्ममा सञ्चालन नोक्सानमा रहेको इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक नाफामा, छ करोड खुद नाफा



बिजमाण्डू
२०७१ बैशाख १० गते ००:०० | Apr 23, 2014
काठमाडौं।  चालु आवको तेस्रो त्रैमाशमा इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक अघिल्लो बर्षको तुलनामा नाफामा गएको छ । बैंकको गत आवको यही अवधिमा दुई करोड २१ लाख रुपैयाँ नोक्सान भएकोमा यस बर्षभने छ करोड ५५ हजार रुपैयाँ नाफा भएको छ । यसअघि एक करोड दुई लाख रुपैयाँ सञ्चालन नोक्सानमा रहेको बैंकको यस्तो नाफा ७० लाख  ८६ हजार रुपैयाँ रहेको छ । 
बैंकको व्याज आम्दानी, सम्भावित जोखिम बापत यस अघिको रकम फिर्ता भएको र अन्य आम्दानी बढेपछि नाफा भएको हो । गत आवको यो अवधिको तुलनामा बैंकको खुद व्याज आम्दानी भने ३२.४ प्रतिशतले बढेको छ । गत बर्ष सात करोड ८९ लाख यस्तो आम्दानी भएको बैंकको १० करोड ४५ लाख रुपैयाँ पुगेको छ । बैंकको अघिल्लो बर्षको तुलनामा व्याज आम्दानी बढेपनि व्याज लागत घटाउन सफल भएको छ । बैंकको व्याज आम्दानी आठ प्रतिशतले बढ्यो भने व्याज लागत दुई प्रतिशतले घटेको छ । बैंकले यसअघि सम्भावित जोखिम बापत छुट्याएको रकम फिर्ता ल्याएपछि पनि नाफा भएको हो । बैंकले छ करोड ७४ लाख रुपैयाँ फिर्ता गर्न सफल भएको छ ।  यो अघिल्लो बर्षको भन्दा ९३ प्रतिशतले कम हो । गत बर्षको यो अवधिमा भने बैंकले ३१ लाख रुपैयाँ फिर्ता ल्याएको थियो । 
बैंकको कर्जा बिस्तार भने राम्रो देखिन्छ । अघिल्लो बर्षको तुलनामा बैंकको कर्जा २९ प्रतिशतले बढेर दुई अर्ब ६८ करोड रुपैयाँ पुगेको छ, निक्षेप पनि २८ प्रतिशतले बढेर तीन अर्ब २० करोड रुपैयाँ पुग्यो । तर बैंकले अझै कर्जा विस्तार गर्न सक्ने अवस्था रहेको छ । बैंकको कर्जा निक्षेप अनुपात मात्रै ६६ प्रतिशत रहेको छ । बैंकले १४ प्रतिशत रकम थप लगानी गर्न सक्दछ । बैंकको रियल स्टेटमा भएको कर्जा लगानी गत बर्षको तुलनामा करिब ३२ प्रतिशतले घटेर १३ करोड ११ लाखमा सिमित भएको छ । यो कुल कर्जाको आधारमा भने करिब पाँच प्रतिशत लगानी हो । 
बैंकले यसपटक सम्भावित जोखिम बापतको व्यवस्था पनि ३६ प्रतिशतले कम गरेर तीन करोड ५५ लाख बनाएको छ । बैंकको कुल कर्जामा खराब कर्जाको हिस्सा ६.४ प्रतिशत रहेको छ भने सम्भावित जोखिम वापत ८२ प्रतिशत रकम छुट्याएको छ । 
बैंकको कर्मचारी र अन्य खर्च ३४ प्रतिशतले बढेको छ । बैंकको पुजी कोष पर्याप्तता २४ रहेको छ । त्यस्तै, बैंकको कोष लागत ९.३८ बाट घटेर ७.४२ मा सिमित भएको छ । बैंकको बेस रेट १२.१४ रहेको छ । बैंकको चुक्तापूँजी भने ८२ करोड ७५ लाख रहेको छ । 
 
 

Tata
GBIME
Nepal Life