ग्लोबल ४३१ र सिभिल १३९ मा पहिलो कारोबार, दैनिक १० प्रतिशतले बढ्ने, ग्लोबलको नाफा साढे ७२ करोड

बिजमाण्डू
२०७१ बैशाख ११ गते ००:०० | Apr 24, 2014
काठमाडौं। भर्खरै मर्जर प्रकृया सकेर एकिकृत कारोबार थालेका दुई बाणिज्य बैंकको सेयर कारोबार मंगलबारसम्म खुल्ने भएको छ। कमर्ज एन्ट ट्रस्ट बैंकलाई आफूसँग गाभेर एकिकृत कारोबार थालेको ग्लोबल आइएमइ बैंकको सेयर आउँदो आइतवार वा सोमबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पुनः कारोबार हुने छ। सिभिल बैंकको पनि आउँदो मंगलबारबाट पुनः कारोबार हुने छ।
ग्लोबाल आइएमइ बैंकले चैत मसान्तमा ७२ करोड ५१ लाख रुपैयाँ नाफा गरेको छ भने सिभिल बैंकले करिव साढे ११ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। ग्लोबल आइएमइको पहिलो सेयर कारोबार प्रति कित्ता चार सय ३१ रुपैयाँका दरले हुने छ।'राष्ट्र बैंकमा एकिकृत वासलात वुझाइ सकेका छौं, स्वीकृति पनि आएको छ,' ग्लोबल बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बिजमाण्डूसँग भने, 'अब धितोपत्र वोर्डको स्वीकृति लिन वाँकी छ। बढीमा सोमबारसम्म हामी कारोबार खुलाउने तयारीमा छौं।'
सिभिल बैंकले आइतबार नेपाल राष्ट्र बैंकमा मर्जरपछिको एकिकृत वासलात वुझाउँदैछ। त्यसपछि धितोपत्र वोर्डको स्वीकृतिमा कारोबार मंगलबारबाट खुलाउने तयारी भइरहेको सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले जानकारी दिए। सिभिल बैंकको पहिलो सेयर कारोबार प्रति कित्ता एक सय ३९ रुपैयाँका दरले हुने छ।
मर्जरपछि सिभिल बैंकको नाफामा सुधार नआउनुको मूख्य कारण मर्जरका मार्टनर संस्थाहरु सिभिल मर्चेन्ट वित्तीय संस्था र एक्सिस डेभलपमेन्ट बैंकको परफरमेन्स कमजोर भएर हो। पुसमा मर्जर सम्झौतापछि यि दुई संस्थाले ऋण उठाउन कम गरेका थिए, जसले गर्दा चैतको नाफा प्रभावित भएको हो। चौथो त्रैमासमा भने सुधार भएर जाने बैंकले जनाएको छ।
ग्लोबल आइएमइ बैंकसँग कमर्ज एन्ड ट्रस्ट बैंक प्रति कित्ता ६५ रुपैयाँका दरले मर्ज भएको थियो। सिभिल बैंकसँग सिभिल मर्चेन्ट र एक्सिस डेभलपमेन्ट बैंक प्रतिकित्ता ७९ रुपैयाँका दरले मर्ज भएका थिए। कारोबार पुनः सुचारु भएपछि नेप्सेमा केही दिनसम्म मूल्य १० प्रतिशतका दरले बृद्धि हुने अनुमान गरिएको छ। यसो भएमा गाभिएका साना संस्थाका सेयरधनीलाई राम्रै लाभ पुग्ने छ। 
सेयर कारोबार गर्ने स्टक ब्रोकरहरुका अनुसार, यि संस्थाको सेयर कारोबार कहिलेबाट खुल्छ भनेर 'इन्क्वाइरी' हरु दैनिक आउन थालेको छ। कारोबार सुचारु भएकै दिन सेयर उठाउन सकिएमा केही दिनभित्रै मूल्य बढेर राम्रो आम्दानी गर्न सकिने अपेक्षा सक्रिय लगानीकर्ताहरुको छ। 
मर्जरअघि ग्लोबल आइएमइको सेयर कारोबार प्रतिकित्ता चार सय ३० रुपैयाँका दरले भएको थियो। सिभिल बैंकको कारोबार एक सय ३८ रुपैयाँका दरले भएको थियो। यि बैंकसँग गाभिएका साना संस्थाहरुको सेयर मूल्य योभन्दा कम थियो। 
 

Tata
GBIME
Nepal Life