गभर्नरले भनेः बजार सच्चिए स्प्रेडदर तोक्नु पर्दैन, खुल्ला बजारको विषयमा कसैले सिकाउनु पर्दैन



बिजमाण्डू
२०७१ बैशाख १४ गते ००:०० | Apr 27, 2014
गभर्नरले भनेः बजार सच्चिए स्प्रेडदर तोक्नु पर्दैन, खुल्ला बजारको विषयमा कसैले सिकाउनु पर्दैन

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले स्प्रेड दरमा पनि केही लचिलो अभिव्यक्ति दिदै व्यवहारिक पक्षमा राष्ट्र बैंक नरम हुने बताएका छन्। यस अघि स्प्रेडमा निकै कडा भएर प्रस्तुत हुने गभर्नरले राष्ट्र बैंकको ५९औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दा भने केही नरम देखिए। उनले स्प्रेडमा बजार प्रतिस्पर्धी देखिए पाँच प्रतिसतको सीमा तोकिराख्नु नपर्ने पनि बताए।
'स्प्रेडको व्यवहारिक पक्ष हेर्ने हाम्रो काम हो, उनले भने, बजार कुशल ढंगले अघि बढ्यो भने हामी हस्पक्षेप पनि गर्दैनौं।' तर उनले वित्तीय स्रोतलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न ट्रान्समिसनको भूमिका प्रदान गर्न खोज्दा कसैले टाउको दुखाउनु नपर्ने पनि बताए। उनले स्प्रेड दर तोक्नु हुदैन भन्ने दातृसस्थाहरुलाई लक्षित गर्दै यस्तो अभिव्यक्ति दिएका हुन्।
नेपाल जस्तो मुलकमा अधिक तरलतालाई लगानीको अवसरमा परिणत गर्नुपर्ने भएकोले मौद्रिक नीतिमा कडाइ नगर्ने जानकारी पनि गभर्नरले दिए। उनले बजारमा छोटा समयमै तरलता अभाव र अघिक तरलताको अवस्था देखिएकोले दीर्घकालिन उपकरणबाट तरलता खिच्नु आवश्यक नभएको बताए। अधिक तरलता र तरलता अभावको लुकामारी भएको भन्दै पुँजीको अभाव हुने नेपाल जस्तो मुलुकमा अधिक तरलता लामो समय रहन नहुने उनले बताए। विदेशी मुद्राको सञ्चिति उच्च भएको र बजारमा पनि तरलता पर्याप्त रहेकोले ठूला आयोजनाका लागि पर्याप्त श्रोत जम्मा भएको बताएका छन्। यही कारण पनि मौद्रिक नीति कडा बनाउने पक्षमा केन्द्रिय बैंक नरहेको जानकारी उनले दिए।
चालु आर्थिक वर्षमा आर्थिक बृद्धिको लक्ष पुरा हुने तर मुल्य बृद्धिदर भने लक्ष भन्दा माथि जाने उनले बताए। व्यापार घाटा पनि लक्षित सीमामा राख्न कठिन भएको जानकारी उनले दिए। व्यापार घाटा उच्च हुदाहुदै पनि शोधनान्तर बचत भने एक खर्ब भन्दा माथि पुगेको बताएका छन्। नयाँ सरकार आएको कारण केही समयमै लगानी बढ्ने अनुमान गरिएको उनले जानकारी दिए।
पुर्वगभर्नर विजयनाथ भट्टराईले बैंकहरुको पुँजी बढाउनुपर्ने, बैंकिङ पहुँच विस्तार गर्नुपर्ने, पुर्वाधार विकास बैंक र आयात निर्यात बैंक स्थापना गर्नुपर्ने सुझाव केन्द्रिय बैंकलाई दिए।

Tata
GBIME
Nepal Life