एनबी बैंकले दोस्रो किस्ताका लागि आइएफआइसीलाई पत्र पठायो, अर्को साता पैसा आउने

बिजमाण्डू
२०७१ बैशाख १६ गते ००:०० | Apr 29, 2014
एनबी बैंकले दोस्रो किस्ताका लागि आइएफआइसीलाई पत्र पठायो, अर्को साता पैसा आउने

काठमाडौं। नेपाल बंगलादेश(एनबी) बैंकले एनबी समूहको स्वामित्वमा रहेको सस्थापक सेयर किन्न दोस्रो किस्ता मागेको छ। नेपाल राष्ट्र बैंकले आठ लाख ४० हजार कित्ता सेयर किनबेचका लागि अनुमति दिएपछि एनबी बैंकले मंगलबार बंगलादेशको लगानीकर्ता आईएफआईसी बैंकलाई पत्र पठाएको हो।
'हामीले मंगलबारै पत्र पठायौं, बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रराज ढुंगानाले बिजमाण्डूसँग भने, 'एक साता भित्र पैसा आउनसक्छ। पैसा आएपछि हामी सेयर कारोबार गर्छौ।' राष्ट्र बैंकले एनबी समूहको सेयर कारोबार गर्न सोमबार अनुमति दिएको हो। एनबी समूहको स्वामित्वमा रहेको यो आठ लाख ४० हजार कित्ता सेयर हस्तान्तरण भएपछि आइएफआईसीको स्वामित्वमा ४२ प्रतिसत पुग्छ। नौ प्रतिसत सस्थापक सेयर रहेको आइएफआईसीले एनबी समूहको ३८ लाख तीन हजार ४३४ कित्ता एस अघिनै खरिद गरिसकेको छ । त्यस्तै अर्को बंगलादेशी साझेदार बैंक एशिया ढाकाको पनि २३ लाख ६७ हजार पाँच सय कित्ता सेयर खरिद गरिसकेको छ ।
आइएफआईसीले एनबी समूहको सेयर प्रतिकित्ता दुई सय ६० रुपैयाँको दरमा खरिद गर्न लागेको हो। यस अघिको कारोबार पनि यही मुल्यमा भएको थियो। एनबी समूहले पाउने रकमको अधिकांस हिस्सा कर्जा तिर्न प्रयोग हुनेछ। कर्जा तिर्ने सर्तकै आधारमा सेयर किनबेच गर्न राष्ट्र बैंकले अनुमति दिएको हो। आईएफआईसीले सन् २०१३ को जनवरीमा वर्ष नेपाली र बंगलादेशी साझेदारको सेयर किन्ने निर्णय गरेको थियो। आइएफआईसीले ४२ प्रतिसत हिस्सा पुर्याउँदासम्म एक अर्ब ७० करोड रुपैयाँ थप लगानी हुनेछ।  
थप सेयर विक्री गरेपछि एनबी समूहसँग बैंकको आठ प्रतिसत सेयर बाँकी रहने छ। सञ्चालकबाट हटेको एक वर्षसम्म सेयर विक्री गर्न नपाउने शर्तका कारण पनि सबै सेयर एनबी समूहले बिक्री गर्न नपाएको हो। एनबी समूहसँग बाकी रहेको हिस्साबाट उसले सञ्चालक समितिमा प्रतिनिधित्व गर्न पाउने छैन। बाँकी रहेको हिस्सा पनि आईएफआईसीलाई बेच्न एनबी समूहले सहमति जनाइसकेको छ।
एनबी समूह र निर्मल प्रधान समूहबीच भएको सेयर किनबेचको समस्याका कारण बैंकको साधारण सभा स्थगित भएको छ। साधारण सभा स्थगित हुँदा बैंकको नाम परिर्वतन गर्ने प्रक्रिया पनि रोकिएको छ। एनबीले नाम, लोगो र रंग समेत परिवर्तन गर्ने योजना बनाएको छ।

Tata
GBIME
Nepal Life